अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२० | Colorodo: 01:35

भ्रमण वर्षमा पर्यटकीय संस्थाका विभिन्न छुट तथा अफर

बिआरटीनेपाल २०७६ पुष १३ गते ७:०८ मा प्रकाशित

सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ जति नजिकिँदैछ, मुलुकको समग्र पर्यटन क्षेत्रमा नयाँ उत्साह र रौनक पनि त्यति नै थपिँदै गएको छ । भ्रमण वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई सार्थक तुल्याउन निजी क्षेत्रका पर्यटन व्यवसायी मात्र नभइ नेपालमा सङ्गठित तमाम संस्थाले आफ्ना गतिविधि अघि बढाएको देखिन्छ । कतिपय संस्थाहरु स्वतःस्फूर्त रुपमा भ्रमण वर्षको प्रवर्द्धनमा जुटिरहेका छन् । धेरै संस्था सरकारी तथा सार्वजनिक निकायको समन्वय, सहकार्य तथा साझेदारितामा पर्यटन प्रवर्द्धनका काम भइरहेका छन् ।

अबको दुई दिनपछि सन् २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) काठमाण्डौको दशरथ रङ्शालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुहुनेछ भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

विभिन्न राजनीतिक दलका नेता, व्यावसायिक तथा पेशागत सङ्घ सङ्गठनका प्रतिनिधि, नागरिक समाजलगायतको पनि उल्लेख्य सहभागिता रहनेछ । त्यसै दिन सातै प्रदेशका मुख्यमन्त्रीले आआफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नुहुनेछ । त्यस्तै जनवरी ७ तारिख ९पुस २२ गते० विदेशमा रहेका नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने पर्यटन मन्त्रालयले जनाएको छ ।

भ्रमण वर्ष उद्घाटन कार्यक्रममा १० भन्दा बढी देशका पर्यटनमन्त्री तथा विशिष्ट पाहुनाका साथै झण्डै ४० देशका सञ्चारमाध्यमका प्रतिनिधि पनि सहभागी हुँदैछन् । त्यस क्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको विशेष सांगीतिक प्रस्तुति रहनेछ । भ्रमण वर्षलाई सफल तुल्याउन पर्यटन क्षेत्रका अगुवा सङ्गठनले आफ्ना सेवामा विभिन्न छुट अफर घोषणा गरेका छन् ।

होटल एशोसिएसन अफ नेपाल (हान) ले भ्रमण वर्षलाई लक्षित गर्दै आफ्ना सदस्य कम्पनीबाट सबै सेवामा ३० प्रतिशत छुट अफरको घोषणा गरी सम्बन्धित होटललाई अनुरोध गरेको छ । हानका प्रथम उपाध्यक्ष विनायक शाहले भ्रमण वर्षमा विदेशी पाहुनालाई स्तरीय सुविधा उपलब्ध गराउन कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

हानको ३० प्रतिशत छुट

हानले सन् २०२० मा २५ लाख पर्यटकलाई धान्नसक्ने क्षमता रहेको जनाएको छ । हानमा आबद्ध पर्यटकीय स्थलदेखि पाँचतारे होलटसम्म गरी झण्डै दुई हजार होटल आबद्ध छन् । सरकारी तथ्यांक अनुसार अहिले ४५ हजार शय्या उपलब्ध छन् । यस्तै पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)ले नेपाल भ्रमण वर्षलाई सफल बनाउन विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमका साथै संस्थामा आबद्ध कम्पनीबाट २० प्रतिशत छुटको व्यवस्था गर्ने घोषणा गरेको छ ।

टानको २० प्रतिशत छुट

सरकारले राष्ट्रिय पर्वका रुपमा मनाउन लागेको भ्रमण वर्षले सबै पर्यटन व्यवसायीलाई उत्साहित बनाएको र कार्यक्रमलाई भव्य र सभ्य बनाउन समन्वयतात्मक ढङ्गले आगाडि बढ्ने हानले घोषणा गरेको थियो ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले भ्रमण वर्षभर आफ्ना सदस्य कम्पनीले सञ्चालन गर्ने सबै पदयात्रा प्याकेजमा विदेशी पदयात्रीलाई २० प्रतिशतसम्मको छुटको व्यवस्था गर्न अनुरोध गरिसकेको बताउनुभयो ।

नाट्टाको १० प्रतिशत छुट

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पनि भ्रमण वर्षलाई सफल बनाउन भ्रमण वर्ष अवधिभर पर्यटकलाई १० प्रतिशत छुट दिने भएको छ । नाट्टाका अध्यक्ष सिएन पाण्डेले भ्रमण वर्षलाई सहयोग र्पुयाउने उद्देश्यसहित संस्थाले सम्बद्ध ट्राभल एजेन्सीबाट लिने टुर प्याकेजमा पर्यटकलाई १० प्रतिशत छुट दिलाउने घोषणा गरिएको बताउनुभयो ।

नाराको १५ प्रतिशत छुट

नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) ले भ्रमण वर्षको अवधिमा १५ प्रतिशत छुटको घोषणा गरिसकेको छ । भ्रमण वर्षमा विदेशी पाहुनालाई आफ्ना सेवामा १५ छुटको अफर दिएको नाराका अध्यक्ष गङ्गाप्रसाद नेपालले जानकारी दिनुभयो । नेपाल पर्वतारोहण सङ्घले पनि आफ्ना क्षेत्रमा विशेष छुट दिने बताएको छ ।

होमस्टेमा २० प्रतिशत छुट

त्यसैगरी घरबास कार्यक्रम ‘होमस्टे’ एशोसिएसनले भ्रमण वर्षमा आउने विदेशी पर्यटकलाई सेवामा २० प्रतिशतसम्म छुट दिने भएको छ । संस्थाका अध्यक्ष केशव बडालले घरबासमा खाना बस्नमा ‘लजिङ फुडिङ’मा २० प्रतिशत छुट दिने निर्णय गरिएको जानकारी दिनुभयो । देशका ५७ जिल्लामा ६०० भन्दाबढी घरबास सञ्चालनमा रहेका छन् ।

पाटा नेपाल च्याप्टरको नेपाल भारत चाइना एक्सपो

राष्ट्रिय र अन्तर्रा्ष्ट्रियरुपमा नेपालको पर्यटन प्रवर्द्धनमा सशक्त भूमिका निर्वाह गर्दै आएको प्यासिफिक एशिया ट्राभल (पाटा) नेपाल च्याप्टरले भ्रमण वर्षलाई सफल बनाउन अन्तरराष्ट्रिय इभेन्ट गर्दैछ । पाटा नेपालले सन् २०२० को फेब्रुअरीमा नाइस कार्यक्रम (नेपाल भारत चाइना एक्सपो) आयोजना गर्दैछ भने हिमालयन ट्राभल मार्टको चौथो संस्करण पनि गर्नेछ ।

भ्रमण वर्षलाई लक्षित गर्दै प्रवर्द्धनात्मक गतिविधिका साथै पर्यटनमा दक्ष जनशक्ति उत्पादन तथा बजारीकरणलाई संस्थाले प्राथमिकता दिने पाटा नेपालका अध्यक्ष विभूतिचन्द ठाकुरले जानकारी दिनुभयो । ठमेल पर्यटन विकास परिषद्ले पनि भ्रमण वर्ष लक्षित विभिन्न कार्यक्रम भर्षैभरि गर्ने जनाएको छ । पर्यटन क्षेत्रमा आबद्ध ४० भन्दाबढी संस्था छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू