अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०३ | Colorodo: 13:18

नेकपा सचिवालय बैठक बिनानिष्कर्ष टुंगियो, सभामुख र एमसीसीमा भएन निर्णय

बिआरटीनेपाल २०७६ पुष १३ गते ६:३९ मा प्रकाशित

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सभामुख चयन र मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)बारे निर्णय गर्ने बताइए पनि कुनै निष्कर्ष निकाल्न नसकेको हो ।

यौन दुव्र्यवहारको आरोप लागेका कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त रहेको सभामुख पदमा कसलाई ल्याउने भन्नेमा नेकपामा विवाद छ । दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको छनौट अलग अलग व्यक्ति भएकाले यो विषय अनिर्णित बनेको हो ।

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख आफुले बनाउने पक्षमा नेकपा रहेपनि नेताहरुको छनौट अलग अलग व्यक्ति भएकाले सहमति हुन नसकेको बताईएको छ । प्रधानमन्त्री ओली पूर्व सभामुख सुबास नेम्वाङ, दाहाल अग्नि सापकोटा र राष्ट्रपति वर्तमान उपसभामुख कै पक्षमा रहेको बताइएको छ । नेकपाको अनिर्णयकै कारण संसद सभामुख विहीन बन्दा त्यसले संसदीय कार्वाही नै अबरुद्ध भएको छ ।

यसैगरी, अमेरिकाबाट विद्युत् र सडक पूर्वाधारका लागि प्राप्त एमसीसी अनुदान स्वीकार्ने वा नस्वीकार्ने भन्नेमा पनि नेकपाभित्र विवाद रहेको छ । अमेरिकाले अनुदानमा दिन लागेको करिब ५५ अर्ब रुपैयाँ स्वीकार्न सरकार तयार भएपनि पार्टीभित्रका केही नेताले विरोध गरेकाले यसको निर्णय गर्ने अधिकार सचिवालयलाई दिइएको छ । अमेरिकाको इण्डो प्यासिफिक रणनीति अन्तरगतकोे रकम भएकाले स्वीकार्न नहुने पक्षमा केही नेता रहेका छन् ।

यसैबीच, कार्यकारी अधिकार पाएपछि आजको बैठकमा दुबै अध्यक्षको बस्ने आसन पनि सँगै बनाइएको थियो । अध्यक्षद्वय ओली र प्रचण्डको हैसियत समान रहेको देखाउन एकै लहरमा बस्ने व्यवस्था मिलाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू