अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३७ | Colorodo: 06:52

खण्डग्रास सूर्यग्रहण, शिक्षा मन्त्री पोखरेलद्धारा अवलोकन

बिआरटीनेपाल २०७६ पुष १० गते ७:१८ मा प्रकाशित

पौष कृष्ण औँसीका दिन आज खण्डग्रास सूर्यग्रहण लाग्यो । यो ग्रहण विभिन्न देशमा फरकफरक समयमा देखिएको थियो । नेपालमा भने बिहान ८ बजेर ४२ मिनेटदेखि ग्रहण सुरु भएको थियो । १० बजेर १ मिनेटमा मध्य भएको ग्रहण ११ बजेर ३१ मिनेटमा सकिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

सूर्य ग्रहणको कुल अवधि २ घण्टा ४९ मिनेट रहेको थियो । खण्डग्रास सूर्यग्रहण अवलोकन गर्न शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी विज्ञान संग्राहलय कीर्तिपुर पुग्नुभएको थियो । पश्चिम दक्षिण अर्थात् नैऋत्य दिशाबाट सुरु भएको ग्रहण दक्षिण दिशाबाट मध्य भएर दक्षिण पूर्वको आग्नेय दिशाबाट समाप्त भएको थियो । आजको सूर्यग्रहण २०७६ सालको अन्तिम ग्रहण हो ।

योभन्दा पहिले यस वर्ष असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो । खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान, लगायत एसिया महाद्वीपका साथै अरु देशहरु अफ्रिका तथा अष्ट्रेलियाबाट समेत देखिएको छ । ज्योतिष शास्त्रमा ग्रहणको समय अशुभ मानिन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने धार्मिक विश्वास छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू