अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३९ | Colorodo: 08:54

नेपाली साहित्यमा महिला लेखनको सर्वेक्षण

लीला लुइटेल २०७६ पुष १० गते ०:४१ मा प्रकाशित

नेपाली साहित्यमा महिला लेखन प्राथमिक कालदेखि नै छिटपुट रूपमा भएको पाइए पनि आधुनिक कालको सुरुआतको हाराहारीदेखि यस क्षेत्रमा निरन्तरता आएको देखिन्छ । अझ २००७ सालपछि थुप्रै महिला लेखकहरू कविता, कथा, उपन्यासजस्ता विभिन्न विधाका कृतिको सिर्जनामा सक्रिय रहेका देखिन्छन् । नेपाली साहित्यका विभिन्न विधामा महिला लेखनको अवस्थितिलाई सङ्क्षेपमा तल क्रमशः चर्चा गरिन्छ ।

कविता
हालसम्म प्राप्त जानकारीअनुसार नेपालीमा कविता लेखनको थालनी उन्नाइसौँ शताब्दीको प्रारम्भतिर अर्थात् पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको हाराहारीदेखि भएको मानिन्छ । यस बेलादेखि थालिएको नेपाली कविताले अढाई सय वर्षको समयावधि पार गरिसकेको छ । यस अवधिमा नेपाली कविता अनेक प्रवृत्तिगत मोड पार गर्दै वर्तमानमा आइपुगेको छ । नेपाली कविताको प्राथमिक कालमा महिलाको उपस्थिति अत्यन्त कम रहेको छ । यस समयमा प्राणमञ्जरीदेवी, हिरा गाइनेनी, ललित त्रिपुर सुन्दरी तथा बब गुनी गुरुङका कविता कृति फेला परेका छन् ।

मोतीराम भट्टको आगमन (१९४१) देखि सुरु भएको नेपाली कविताको माध्यमिक कालमा मुद्रण र प्रकाशनको युग सुरु हुन्छ । यस समयमा भक्तिकुमारी राणा, भगवत्कुमारी पाण्डे, योगमाया, लक्ष्मीकुमारीदेवी राणाजस्ता कविका कविता कृति देखा परेका छन् । राज भक्ति पत्रिकाको पहिलो अङ्कमा लावण्यमयीदेवी, स्वर्णकुमारी, विरहिणी, नलिनीदेवीसमेतका १२ वटा कविता प्रकाशित छन् । महिलाका नाममा छापिएका यी कतिपय कविताका स्रष्टा आशुकवि शम्भुप्रसाद ढुङ्गेल भएको उल्लेख गरिएको पाइए पनि यसै हो भनी किटान गर्न सकिने अवस्था छैन । जे भए पनि यस समयावधिमा नेपाली कवितामा महिलाको उपस्थिति उत्साह प्रद देखिन्छ ।

यसै समयावधिमा लेखिएको अम्बालिका देवीको राजपूत रमणी (सन्:१९३२) उपन्यासमा पद्यको प्रयोग प्रचुर मात्रामा गरिएको पाइएकाले उनको कलम कवितातर्फ पनि चलेको देखिन्छ । विद्यादेवी दीक्षितले १९७९–१९८० देखि नै कविता लेख्न थालेको जानकारी पाइए पनि यिनका कविता १९९० देखि प्रकाशित हुन थालेका हुन् । १९८९ सालमा प्रकाशित बरालको आँसुमा गङ्गावती, पवित्रादेवीजस्ता महिलाका रचना पनि सङ्कलित छन् ।

नेपाली कविताको माध्यमिक कालमा शृङ्गारिक कविताको बाहुल्य रहे तापनि महिलाहरूद्वारा लिखित कवितामा चाहिँ विशेष गरी ईश्वर भक्तिका भावको बाहुल्य रहेको छ । यसका साथै शृङ्गारिकता, समाज सुधार, शासक स्तुति, जातीय चेतना, शोक भाव, सामयिक भावको प्रस्तुति आदिलाई पनि महिला कविहरूले अभिव्यक्त गरेका छन् । यस प्रकारको अभिव्यक्ति माध्यमिक कालीन नेपाली महिला कविद्वारा सिर्जित कविताका मूल प्रवृत्ति हुन् ।

लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र आदिले कविताको भाव, विषय, छन्द आदिमा पुरानो परम्परा तोडेर नवीन प्रवृत्ति स्वच्छन्दतावादी कविता लेख्न थालेपछि नेपाली कवितामा आधुनिकताको सूत्रपात भएको हो । १९९१ फागुनदेखि प्रकाशन प्रारम्भ भएको शारदा पत्रिकामा विभिन्न महिला कविहरू देखा परेका छन् । शारदामा गोमा, लोकप्रियादेवी, कुसुम मञ्जरी देवी, प्रेम राजेश्वरी थापा, इन्दिरा कोइराला, सीतादेवी, लीलादेवी, सावित्री गुरुङलगायत थुप्रै महिला कविका कविता छापिएका छन् । यसका अतिरिक्त माधुरी भट्टराई, कृष्णमञ्जरीदेवी, पवनदेवी आदि स्रष्टाहरू पनि यसै समयको हाराहारीदेखि कविता लेखनतर्फ उन्मुख भएको जानकारी पाइन्छ । २००७ सालपछि नेपाली कवितामा महिला लेखनको वृद्धि हुँदै गएको देखिन्छ । त्यसपछि नेपाली कवितामा देखा परेका विभिन्न प्रवृत्तिका कविता लेखनमा महिलाहरू निरन्तर सक्रिय रहेका देखिन्छन् ।

नेपाली कविताको विस्तार नेपालभित्र मात्र नभई नेपालबाहिर दार्जिलिङ, असम, मेघालय, सिक्किम, मणिपुर, मिजोरम, नागाल्यान्डजस्ता भारतका विभिन्न क्षेत्रका अतिरिक्त भुटान, बर्मा आदि क्षेत्रमा पनि भएको देखिन्छ । काम र मामको खोजीमा विश्वका विभिन्न भूभागमा बसोबास गर्न पुगेका महिलाहरूबाट पनि नेपालीमा कविता कृति प्रकाशन गर्ने क्रम जारी छ । नेपालबाहिर बसोबास गर्ने थुप्रै महिला कविहरूले नेपाली कविताको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । नेपाली कवितामा महिला लेखनको विस्तृत अध्ययन पछिल्ला अध्यायमा गरिएको छ ।

नेपाली कथामा महिला लेखन
नेपालीमा सुरुसुरुमा संस्कृतबाट अनुवाद गरिएका आख्यानात्मक संरचनालाई कथा एवं उपन्यास दुवै विधाका विकास प्रक्रियाको पृष्ठभूमिका रूपमा लिने गरिन्छ । संस्कृत साहित्यका महाभारत विराट पर्व, हितोपदेश, स्वस्थानी व्रतकथा, दशकुमार चरितज स्ता गद्यमा लेखिएका प्रसिद्ध आख्यानात्मक ग्रन्थले नेपाली कथा एवं उपन्यासको पृष्ठभूमि निर्माण गरेका छन् । नेपाली कथामा महिला लेखनको प्रारम्भ १८८१ तिर रणबहादुर शाहकी रानी ललितत्रिपुरसुन्दरीद्वारा अनुवाद गरिएको राज धर्म (महाभारत शान्ति पर्व) नामक कृतिबाट भएको हो । तत्कालीन राजनैतिक परिस्थिति अनुरूप यसको अनुवाद गरिएको बुझिन्छ । यस कृतिका अध्यायहरू कथात्मक संरचनामा आबद्ध भएकाले यसलाई महिलाद्वारा लिखित नेपाली कथा लेखनको आरम्भ बिन्दुका रूपमा लिनुपर्छ । वर्णनात्मक र सम्बोधनात्मक शैलीमा लेखिएको यस कृतिको भाषा अत्यन्त सरल छ ।

माध्यमिक कालमा अत्यधिक आख्यानात्मक कृतिहरू अनुवाद रूपान्तरण भएका छन् । यसरी अनुवाद–रूपान्तरण गर्ने काममा महिलाहरू पनि संलग्न देखिन्छन् । दुर्गादेवी आचार्याणीको १९६५ मा ‘अनसूया–सीता संवाद’ नामक आख्यानात्मक कृति प्रकाशन भएको जानकारी पाइन्छ । यस क्रममा पादरी गङ्गाप्रसाद प्रधानसँगको सहकार्यमा मिस गोलेनले थुप्रै आख्यानात्मक कृति अनुवाद गरेको पाइन्छ । प्रभु भोज (१९६४), नराम्रो चल्लाको कथाहा (१९७१), एक बतौरे साथी (१९७३), मान्छेमाछाको कथाहा (१९७७) जस्ता विभिन्न कृतिको अनुवादमा मिस गोलेनको संलग्नता रहेको देखिन्छ । यसै गरी श्रीमती पार्वतीदेवीले पनि कथाको अनुवाद गरेको जानकारी पाइन्छ ।

१९८४ जेठको गोर्खा संसारमा दिव्यकुमारी देवी (कोइराला), कुमारी आर.के. देवी, सुन्दरीभामा चालिसे लगायतका आख्यान प्रकाशित भएको उल्लेख पाइए पनि उक्त पत्रिका सहज प्राप्य नहुँदा यसमा प्रकाशित कथाका बारेमा केही भन्न सकिने अवस्था छैन ।

नेपाली साहित्यलाई आधुनिकतातर्फ उन्मुख गराउन शारदा पत्रिकाको विशेष भूमिका रहेको छ । सिङ्गो नेपाली साहित्य नै भर्खरै बामे सर्न सुरु गरिरहेको तत्कालीन परिस्थितिमा महिला साहित्यकारलाई प्रकाशनको उज्यालोमा ल्याएर शारदा पत्रिकाले पुर्‍याएको योगदान उल्लेखनीय रहेको छ । शारदामा नारीको प्रवेश कथा विधाबाटै भएको देखिन्छ । १९९२ सालको शारदामा कुमारी तुषार मल्लिकाको ‘स्त्री रत्न’ शीर्षकको कथा प्रकाशित छ । यसपछि एवम्. लक्ष्मी, वियोगिनी, सुशीला कोइराला, कुमारी इन्दिरा कोइराला, श्रीमती पी.पी. शर्मा, बुना बराल आदिका कथा प्रकाशित छन् । यसै समयको हाराहारीमा उद्योग पत्रिकामा लोकप्रियादेवी, कुमारी सानुमन, केशादेवी आदिका कथा छापिएका छन् ।

यस समयावधिका सुशीला कोइराला, एवम्.लक्ष्मी, इन्दिरा कोइराला, लोकप्रिया देवीजस्ता केही कथाकारबाहेक अन्य कथाकार प्रायः अज्ञात अवस्थामै रहेका छन् । नारी शिक्षाको अभावका साथै तत्कालीन परिस्थितिमा नारीलाई बाहिर सम्पर्क बढाउन कडा प्रतिबन्ध भएकाले तिनीहरूका बारेमा यथार्थ जानकारी हुन नसकेको हो । यस्तो विषम परिस्थितिमा पनि कथा लेखेर प्रकाशनार्थ पठाउने तिनको आँटलाई नै विशिष्ट उपलब्धि मान्नुपर्छ । तिनका कथा साहित्यिक मूल्यका दृष्टिले भन्दा नेपाली साहित्यमा महिला प्रवेशका दृष्टिले विशेष उल्लेख्य छन् र यसैलाई तिनीहरूको योगदान पनि ठान्नुपर्छ ।

विद्यादेवी दीक्षितले पनि यसै समयको हाराहारीदेखि कथा लेख्न सुरु गरेको जानकारी पाइए पनि यिनका कथाहरू २०२१ सालमा मात्र प्रकाशित भएका छन् । साहित्यिक दृष्टिबाट सचेत भएर कथा लेखन प्रारम्भ गर्ने र पछिसम्म निरन्तरता दिने देवकुमारी थापा २००५ सालदेखि नेपाली कथामा देखा परेकी हुन् । यसपछि शशिकला शर्मा, राधिका राया, किरण शाक्य आदिका कथा प्रकाशित छन् । २०१८ सालदेखि नेपाली कथाका क्षेत्रमा प्रवेश गरेकी प्रेमा शाह नवीन विषय वस्तुका साथ देखा परिन् । २०२१ सालदेखि नेपाली कथाका क्षेत्रमा प्रवेश गरेकी पारिजातका कथामा विषय र शिल्प दुवै दृष्टिले नवीनता पाइन्छ । अत्यन्त क्षीण र विशृङ्खलित कथावस्तुको प्रयोग गरिएका पारिजातका अगिल्लो चरणका कथामा शून्य बोध, यौन कुण्ठा, यौन विकृति र यसका विभिन्न पक्षलाई विषयवस्तु बनाइएको छ भने पछिल्लो चरणका कथामा प्रगतिवादी चिन्तनको प्रस्तुति पाइन्छ । क्षीण कथानकलाई प्रयोगवादी एवं प्रगतिवादी ढङ्गले काव्यात्मक भाषा शैलीमा प्रस्तुत गर्ने पारिजातको योगदान नेपाली कथाको इतिहासमा परिमाणात्मक र गुणात्मक दुवै दृष्टिले उल्लेखनीय रहेको छ । यसपछि नेपाली कथामा पद्मावती सिंह, भागीरथी श्रेष्ठ, मञ्जु काँचुली, अनिता तुलाधर, भुवन ढुङ्गाना, सीता पाण्डे, शारदा शर्मा, मिरा प्रधान रेम, इल्या भट्टराई, बेञ्जु शर्मा, निलम कार्की, ललिता दोषी, जलेश्वरी श्रेष्ठ, भवानी क्षेत्री, ममता शर्मा नेपाल, अर्चना थापा, सञ्जु बजगाईंजस्ता थुप्रै महिला कथाकार देखा परेका छन् ।

नेपाली कथाको विकासमा भारतीय महिला कथाकारको पनि विशेष योगदान रहेको पाइन्छ । लक्खीदेवी सुन्दास, चन्द्रकला नेवार, सरिता प्रधान, हर्कमणि थापा, माया ठकुरी, विन्द्या सुब्बा, मटिल्डा राई, आशारानी राई, कमला आँशु, इन्द्रमणि दर्नाल, अनामिका, सुधा राई, शान्ति थापा, साङमू लेप्चा, रिजु देवी, शान्ति छेत्री, गीता उपाध्याय, गीता लिम्बू, सरयू राई, नया देवीलगायतका थुप्रै कथाकारका कथाकृति देखापरेका छन् । यसबाहेक कामको सिलसिलामा अन्य विदेशी मुलुकमा बसेका नेपाली महिलाले विदेशी भूमिमा बसेर नेपालीमा कथा सिर्जना गरिरहेको पाइन्छ ।

अधिकांश महिला कथाकारले नारीसमस्यालाई प्रमुख केन्द्रबिन्दु बनाएर कथासिर्जना गरेका छन् । पारिवारिक सम्बन्ध र तिनबाट उत्पन्न समस्या, नारीप्रति हुने गरेका सामाजिक, मानसिक र यौनगत शोषणलाई देखाउनाका अतिरिक्त नारीले परिवार, समाज एवं प्रशासन सबै क्षेत्रबाट भोग्नुपरेका अनेक प्रकारका यातना, भुक्तमान र पीडालाई महिला कथाकारका कथामा अभिव्यक्त गरिएको छ ।

पछिल्लो समयमा देखापरेका अधिकांश महिला कथाकारका कथामा नारीवादी स्वरको अभिव्यक्ति पाइन्छ । तिनका कथामा नारीको सहनशील, उदार, विवेकी, मायालु आदि रूपलाई देखाउंदै विद्रोही रूपलाई पनि प्रस्तुत गरिएको छ । सामाजिकता, ऐतिहासिकता तथा पौराणिक सन्दर्भबाट लैङ्गिक समानताको लागि आग्रह गर्दै नारी अस्मिताको खोजी गरिएका कतिपय कथाकारका कथामा लैङ्गिक असमानताका विरुद्ध आवाज उठाइएको छ ।

समग्रमा भन्नुपर्दा नारीसमस्या र नारीवादी चिन्तनको प्रस्तुति, मानवीय जीवनमूल्यको खोजी, मनोविश्लेषणात्मकता, प्रगतिशीलता, जीवनप्रति आशावादी दृष्टिकोण, युगीन यथार्थको चित्रण, भाषाशैलीय विन्यासगत विविधता आदि आधुनिक नेपाली महिला कथालेखनका प्रमुख वैशिष्ट्य हुन् ।

उपन्यास
नेपाली साहित्यको प्राथमिक कालको समयावधिमा संस्कृतबाट अनुवाद गरिएका आख्यानात्मक ग्रन्थलाई कथा एवं उपन्यास दुवै विधाका रूपमा चर्चा गर्ने प्रचलन रहेको छ । नेपालीमा उपन्यास नै भन्नसकिने कृति लेखिनुपूर्व अनूदित आख्यानको लामै परम्परा रहेको देखिन्छ ।

१८८१ तिर ललित त्रिपुर सुन्दरीद्वारा अनुवाद गरिएको राजधर्म शीर्षक आख्यानात्मक कृति महाभारत शान्तिपर्वको अनुवाद १३० अध्यायमा विभाजित छ । महाभारतको शान्तिपर्वमा वर्णित नीति तथा उपदेशका माध्यमबाट आफ्ना सन्ततिलाई शिक्षा दिने उद्देश्यबाट यसको अनुवाद गरिएको जानकारी पाइन्छ । वर्णनात्मक र सम्बोधनात्मक शैली प्रयुक्त प्रेरित यस कृतिको भाषा सरल र सहज छ । विधागत दृष्टिले उपन्यास नभनिए पनि यस कृतिलाई नेपाली उपन्यासमा महिला लेखनको पूर्वप्रयासका रूपमा लिनुपर्छ ।

नेपाली उपन्यासका क्षेत्रमा महिलाको प्रवेश माध्यमिक कालको अन्त्यतिरदेखि मात्र भएको हो । सन् १९३२ मा प्रकाशित अम्बालिका देवीको राजपूत रमणीलाई नेपाली उपन्यासको इतिहासमा महिला लेखनको पहिलो प्रयासका रूपमा लिइन्छ । राजपूत रमणीबाट थालिएको नेपाली उपन्यासको महिलालेखनले हालसम्म आइपुग्दा आठ दशकको समयावधि पार गरिसकेको छ । यसपछि पवनकुमारी देवीको प्रतिज्ञा उपन्यास देखापर्छ । नेपाली भूमिमा बसेर महिलाद्वारा लेखिएको यो पहिलो उपन्यास हो । प्रथम संस्करणका सबै प्रति नष्ट गरिएको प्रस्तुत उपन्यास आवश्यक परिमार्जनसहित २०१७ मा पुनः प्रकाशन गरिएको जानकारी पाइन्छ । युवा सुलभ भावुकता, स्वच्छन्द प्रेम र मिलनलाई विषयवस्तु बनाइएको यस उपन्यासमा अभिजात वर्गीय ठालुहरूको स्वेच्छाचारीपनको विरोध गरिएको छ । पाल्पा तथा तराईको परिवेश चित्रित यस उपन्यासको भाषा सरल तथा सहज छ । यसपछि मायादेवी सुब्बाको पश्चात्ताप उपन्यास देखापर्छ ।

पारिजात नेपाली उपन्यासको इतिहासमा विशिष्ट प्रतिभाका रूपमा प्रतिष्ठापित छन् । नेपाली उपन्यासमा यिनको प्रवेश शिरीषको फुल (२०२२) बाट भएको हो । शिरीषको फुलका अतिरिक्त यिनका महत्ताहीन, बैंसको मान्छे, तोरीबारी बाटा र सपनाहरू, उसले रोजेको बाटो, अन्तर्मुखी, पर्खालभित्र र बाहिर, अनिंदो पहाडसँगै, परिभाषित आँखाहरू र बोनीजस्ता उपन्यास प्रकाशित छन् ।

नेपाली उपन्यासको इतिहासमा शिरीषको फुलको प्रकाशन युगान्तकारी घटना हो । यस उपन्यासका माध्यमबाट नेपाली उपन्यासमा अस्तित्ववादको प्रवेश भएको हो । विसङ्गतिवादी, अस्तित्ववादी तथा शून्यवादी दर्शनबाट प्रभावित यो उपन्यास जीवनको पलायनतर्फ उन्मुख छ । यिनको महत्ताहीनमा चाहिं जीवनको अस्तित्वहीनता, निस्सारता र विसङ्गतिको चेपमा किचिएर बांच्न विवश मानवीय बाध्यतालाई प्रस्तुत गरिएको छ । पारिजातको जीवनमा आएको राल्फाली संलग्नता र दर्शनको चरम रूपलाई बैंसको मान्छे उपन्यासमा समेटिएको छ । यिनका तोरीबारी बाटा र सपनाहरू र अन्तर्मुखी सामाजिक यथार्थमा आधारित उपन्यास हुन् । तत्कालीन राजनैतिक व्यवस्थाका विविध पक्षहरूको विरोध सूक्ष्म ढङ्गले गरिएको तोरीबारी बाटा र सपनाहरू प्रगतिवादी चेततरर्फ उन्मुख देखिन्छ भने अन्तर्मुखी विसङ्गति, पीडा र छटपटीका बीचमा बांच्न विवश केटीको कथालाई दैनिकीका संरचनामा ढालेर औपन्यासिक स्वरूप प्रदान गरिएको कृति हो ।

पारिजातका उपन्यासमा प्रगतिवादी चिन्तनको प्रारम्भ उसले रोजेको बाटोबाट भएको हो । आर्थिक विषमताका कारण उत्पन्न वर्गीय विभेदको अभिव्यञ्जना पाइने यस कृतिमा माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादलाई औपन्यासिक संरचना प्रदान गरिएको छ । यिनको अर्काे प्रगतिवादी उपन्यास पर्खालभित्र र बाहिरमा सामाजिक वर्गीय विभेदको कारकलाई देखाउंदै तत्कालीन राजनैतिक व्यवस्थाको चरम शोषण र त्यसका विरुद्ध उत्पन्न विद्रोहको ज्वालालाई अभिव्यञ्जित गरिएको छ । २०३६ सालको विद्यार्थी आन्दोलनलाई विषयवस्तु बनाइएको अनिंदो पहाडसंगै उपन्यास पारिजातको प्रगतिवादी स्वरको उत्कर्ष बिन्दु मानिन्छ । साहित्यका अन्य विधाहरूमा प्रगतिवादी चिन्तन मुखरित भएकै समयावधिमा प्रकाशित पारिजातका परिभाषित आँखाहरूमा नेपाली समाजमा व्याप्त विकृति, विसङ्गति, नारीशोषण, शैक्षिक क्षेत्रमा व्याप्त अराजकताजस्ता विविध सन्दर्भलाई केलाइएको छ । लघु संरचनामा आबद्ध बोनी यिनको अन्तिम उपन्यास हो । सामाजिक विकृति, विसङ्गति, अन्याय, अत्याचार तथा शोषणको निर्मूल गर्न प्रत्येक नागरिक र विशेष गरी नारी सचेत एवं सजग हुनुपर्ने भाव अभिव्यञ्जित यो उपन्यास पत्रात्मक शैलीमा संरचित छ ।

नेपाली उपन्यासका क्षेत्रमा सक्रिय रूपले कलम चलाइरहेकी गीता केशरीका कसि·र, सौगात, आवाज, मुक्ति, खोज, अन्तिम निम्तो, विश्वास, खुला आकाश, नोकरी, निष्कर्ष, बदलिंदो क्षितिज जस्ता उपन्यास प्रकाशित छन् । यसपछि भागीरथी श्रेष्ठ, कमला न्यौपाने, प्रेमा शाह आदि देखापर्छन् ।

नेपाली उपन्यासको इतिहासमा विशिष्ट पहिचान कायम गर्न सक्षम वानीरा गिरीका कारागार, निर्बन्ध, र शब्दातीत शान्तनु जस्ता औपन्यासिक कृति प्रकाशित छन् । प्रवाहपूर्ण, सशक्त एवं चित्रात्मक भाषिक प्रयोगमा कुशल वानीरा गिरीका उपन्यास गद्यलयमा संरचित काव्यको झझल्को दिन सक्षम छन् । भारती खरेलका गङ्गा जमुना, एउटी आमाको कथा, कुमारी आमा र लाहुरे उपन्यास आदर्शोन्मुख यथार्थवादी प्रवृत्तिमा आधारित छन् ।

यसपछि ईशा शाह, श्रेष्ठ प्रिया पत्थर, शान्ति पराजुली, पुण्यरश्मि खतिवडा, सुस्मिता नेपाल, ईश्वरी खड्का, इन्दिरा प्रसाईं, पुष्पलता आचार्य, अप्सरा लावती र इन्दिरा बुढाथोकी, शोभा भट्टराई, शान्ता श्रेष्ठ, सुजात आदिका औपन्यासिक कृति देखापरेका छन् । विभिन्न सन्दर्भमा देखापर्ने विविध प्रकारका नारी शोषणलाई प्रत्यक्ष वा परोक्ष ढङ्गले प्रस्तुत गर्दै समाजबाट तिनको उन्मूलन गर्नुपर्ने धारणा यी उपन्यासमा अभिव्यञ्जित छ । तीमध्ये शोभा भट्टराईको अन्त्यहीन अन्त्य र सुजातको बन्धनमा चाहि“ तेस्रो लिङिका क्रियाकलापलाई प्रस्तुत गर्दै तिनको मनोविश्लेषण पनि गरिएको छ ।

माथि उल्लेख गरिए बाहेक शुभ श्रेष्ठ, ऋचा ढुङ्गेल, गौरा रिजाल, भाषा भण्डारी, कविता पौडेल, अल्मास खान, पद्मावती सिंह, सुषमा आचार्य, मनीषा गौचन, रुकु कार्की, राधिका दाहाल, निरूपा प्रसून, ललिता दोषी, सरला रेग्मी, प्रभा कैनी, लिली रिमाल ललिता दोषी, सरला रेग्मी, प्रभा कैनी, लिली रिमाल, शारदा शर्मा, अनुपम रोशी, उमा सुवेदी आदिका पनि उपन्यास प्रकाशित छन् ।

भारतका विभिन्न क्षेत्रमा बसोबास गर्ने शान्ति प्रधान, सरिता प्रधान, कृष्णकुमारी राई, पुष्प सुब्बा, सावित्री देवसा, राधा रसाइली, ललिता देवान, उषा सुन्दास, गीता शर्मा, विन्द्या सुब्बा, नया देवी, शान्ति थापा आदिले पनि नेपाली उपन्यासका क्षेत्रमा कलम चलाएका छन् ।

नेपाली उपन्यासको इतिहासमा महिलाहरू एकललेखनमा मात्र नभएर सह लेखनमा पनि संलग्न देखिन्छन् । प्रेमा शाह, मञ्जु कांचुली, बेञ्जु शर्मा, सीता पाण्डे, पुष्पलता आचार्य जस्ता उपन्यासकार उपन्यासको सहलेखनमा सहभागी भएका छन् ।

विभिन्न स्थान, परिस्थिति र वर्गका नारीहरूले भोग्नुपरेका शारीरिक, मानसिक र सामाजिक यातना तथा शोषणहरूलाई प्रत्यक्ष–परोक्ष ढङ्गमा प्रस्तुत गर्दै नारी अस्मिताको खोजी गरी लैङ्गिक समानताको लागि आग्रह गर्नु नेपाली महिला उपन्यासकारका उपन्यास सिर्जनाको मूल अभीष्ट रहेको देखिन्छ । आदर्शाेन्मुख यथार्थवाद, स्वच्छन्दतावाद, सामाजिक यथार्थवाद, आलोचनात्मक यथार्थवाद, मनोविश्लेषणवाद, प्रयोगशीलताजस्ता विविध धारा र प्रवृत्तिलाई आत्मसात् गरेर लेखिएका कतिपय महिला उपन्यासकारका उपन्यासमा उत्तरआधुनिक प्रवृत्तिअन्तर्गत पर्ने नारीवाद, विधाहीनताजस्ता विषय र शिल्पको प्रयोग पनि समुचित ढङ्गमा भएको छ । यस दृष्टिबाट हेर्दा सिङ्गो नेपाली उपन्यास जगत्मा महिलाहरूको संलग्नता र योगदान परिमाणात्मक र गुणात्मक दुवै दृष्टिले उल्लेखनीय र उपलब्धिपूर्ण मान्नुपर्छ ।

नाटक
नेपाली नाटकका क्षेत्रमा महिला लेखनको स्थिति निकै कम देखिए पनि निराशै हुनुपर्ने अवस्था चाहिं छैन । हालसम्म प्राप्त जानकारी अनुसार नेपाली एकाङ्की नाटकमा महिलाको प्रवेश सन् १९५४ को भारती पत्रिकामा प्रकाशित राधिका रायाको ‘जीवनको इच्छा’ शीर्षक एकाङ्कीबाट भएको देखिन्छ । यसपछि नेपाली नाटक/एकाङ्कीमा महिला लेखन अत्यन्त धीमा गतिमा भएको पाइन्छ । नेपाली नाटक/एकाङ्कीका क्षेत्रमा मायादेवी सुब्बा, सुभद्रादेवी दङ्गाल आदि देखापरेका छन् । सुभद्रादेवी दङ्गालको कलङ्की समाज नाटक २०१५ सालमा प्रकाशित भएको छ । यसलाई २०५० मा सामान्य हेरफेर गरी सावित्री पोखरेलका नामबाट दोस्रो संस्करणका रूपमा प्रकाशित गरिएको छ । नेपाली नाटकको इतिहासमा महिलाद्वारा लिखित यो पहिलो पूर्णाङ्की नाटक हो । यसपछि शान्ता श्रेष्ठ, बेञ्जु शर्मा, सावित्री सिलवाल, किरण शाक्य आदिका नाट्यकृति देखापरेका छन् ।
नेपाली साहित्यका विभिन्न विधामा सक्रिय रूपले कलम चलाउने पारिजात २०२३ सालको रूपरेखामा प्रकाशित ‘एक कठिन निष्कर्ष’ शीर्षक एकाङ्कीका माध्यमबाट नेपाली नाट्यक्षेत्रमा देखापरेकी हुन् । यिनका पारिजातका नाटक (२०६७) शीर्षक एकाङ्की/नाटकको पुस्तकाकार कृति प्रकाशित छ । विषयवस्तु, भाषा तथा शिल्पका दृष्टिले नेपाली साहित्यका कविता तथा आख्यानमा पारिजातले हासिल गरेको सिद्धि र उपलब्धि नाट्य विधामा चाहिं प्राप्त गर्न सकेको देखिदैन ।

माथि उल्लेख गरिएबाहेक कमला नेउपाने, माधुरी भट्टराई, शारदा सुब्बा, रश्मि खतिवडा, भारती खरेल, वेदकुमारी न्यौपाने, भद्रकुमारी घले, बाबा बस्नेत, हरिमाया भेटवाल, शिवानी थारू आदिका नाट्यकृति मञ्चित एवं प्रकाशित छन् ।

नेपाली नाटकको इतिहासमा भारतीय महिला नाटककारको पनि योगदान रहेको पाइन्छ । इन्द्रणमणि दर्नालका ययाति, अक्षि–भू, कृष्णा ! कृष्णा ! जस्ता नाट्यकृति प्रकाशित छन् । यसका अतिरिक्त यिनका मार्गदर्शन, बन्दिनी, युगको मागलगायतका थुप्रै नाटक/एकाङ्की मञ्चित भएको जानकारी पाइन्छ । एउटै सहभागीलाई मूल, छाया र मूर्ति गरी तीन रूपमा प्रस्तुत गरिएका यिनका नाटक प्रयोगशील पनि देखिन्छन् । युद्धको प्रसङ्ग भएका यिनका कतिपय नाटकका दृश्यचाहिं सहज मञ्चनीय देखिदैनन् । यसबाहेक आशारानी राई, लक्खीदेवी सुन्दास, सरिता प्रधान, लक्ष्मी ‘मीनु’ आदिका पनि नाट्यकृति मञ्चित तथा प्रकाशित छन् ।

महिलाद्वारा लिखित अधिकांश नाट्यकृति स्वच्छन्दतावादी प्रवृत्तिका देखिन्छन् भने पछिल्लो समयमा देखापरेका इन्द्रमणि दर्नाल, शारदा सुब्बाका नाटकमा प्रयोगशील प्रवृत्ति पनि पाइन्छ । पछिल्लो समयमा नाटक रङ्गमञ्चमा मात्र सीमित नरही सडकमा समेत प्रदर्शन गर्न थालिए पनि सडक नाटकको लेखनतर्फ महिलाको ध्यान त्यति पुगेको पाइ“दैन । समग्र नेपाली साहित्यमै अन्य विधाका तुलनामा अपेक्षाकृत नाटकको विकास कमै भएको स्थितिमा यस क्षेत्रमा महिला लेखनको स्थिति कम हुनुलाई स्वाभाविक रूपमा लिन सकिन्छ ।

निबन्ध
नेपालीमा निबन्धका क्षेत्रमा महिलाको सहभागिता कविता र आख्यानका तुलनामा कम देखिए पनि हु“दै नभएको स्थितिचाहिं छैन । हालसम्म प्राप्त जानकारीअनुसार नेपाली निबन्धमा महिलाको प्रवेश दुर्गादेवी आचार्याणीको भार्याकर्तव्य (१९७०) निबन्धात्मक कृतिका माध्यमबाट भएको मानिन्छ । शास्त्र, पुराण, इतिहास आदिमा हिन्दु नारीका लागि उल्लिखित उपदेशको चर्चा पाइने यस कृतिमा लेखकका अनुभव पनि समेटिएका छन् । यसपछि चन्द्र, चन्द्रिका, गोर्खाली, गोर्खासंसार, तरुण गोर्खा आदि पत्रपत्रिकामा श्रीमती मोहिनी, श्रीमती कुमुदिनीदेवी, विद्यावती नाहन, सुकेशीदेवी, फुलमतीदेवी प्रधान, कृष्णकुमारी आदिका गद्य लेख पनि प्रकाशित भएका छन् । तीमध्ये सुकेशीदेवी कुनै महिला लेखक नभएर शम्भुप्रसाद ढुङ्गेलको छद्मनाम तथा श्रीमती कुमुदिनीदेवी पनि अर्कै पुरुष लेखकका छद्मनाम हुन् भन्ने अनुमान पनि गरिएको छ । १९९१ देखि प्रकाशन हुन थालेको शारदा पत्रिकामा तुषारमल्लिका, जुनुमाया राइनी, तीर्थकुमारी देवी श्रेष्ठजस्ता महिलाका नामबाट निबन्धात्मक रचना छापिएका छन् । यीमध्ये जुनुमाया राइनीलाई महिला लेखक भनी उल्लेख गरिएको पाइए पनि शारदामा जुनुमाया राइनीका नामबाट प्रकाशित रचना जुनुमाया राइनीका नभई भारतको नागाल्यान्डका प्रसिद्ध साहित्यकार हरिप्रसाद ‘गोर्खा’ राईका भएको कुरा स्वयं राईले नै बताएका छन् । जुनुमाया राइनी हरिप्रसाद ‘गोर्खा’ राईकी पहिली पत्नी हुन् तर यिनका रचना भने कतै पनि प्रकाशित भएको पाइदैन ।

यसपछि नेपाली निबन्धमा नोतनकुमारी ब्राह्मणी, फलेन्द्रजगतवmुमारी राणा, भद्रकुमारी घले, भारती खरेल, देवकुमारी थापा, सम्झना, नर्मदेश्वरी सत्याल, लक्ष्मीदेवी राजभण्डारी, हरिकला उप्रेती, इन्दिरा अर्याल, गायत्री परिरोशनी, चारुशीला मिश्र, रमा शर्मा, मोमिला जोशी, मनोेहरा, मुना किरण कोइराला (डाँगी), भरुणी भागरथी महर (अर्चना), रमा पोखरेल आदिका निबन्धात्मक कृति देखापरेका छन् ।

माथि उल्लेख गरिएका निबन्धकारमध्ये भद्रकुमारी घले, भारती खरेल, चारुशीला मिश्रका रचना निबन्धात्मक भन्दा बढी प्रबन्धात्मक रहेका छन् । तिनमा भद्रकुमारी घलेका कृतिमा राष्ट्र, राजसंस्थाप्रति आस्थाका साथै जातीय जागरण, देशको परिस्थिति, नारीका अवस्था आदिको प्रस्तुति पाइन्छ । भारती खरेल र चारुशीला मिश्रका रचनामा आध्यात्मिक विषय समेटिएका छन् भने रमा शर्माका निबन्धमा समालोचक व्यक्तित्वको छाप स्पष्ट रूपमा देख्न सकिन्छ । यसैगरी गायत्री परिरोशनी, तथा हरिकला उप्रेतीका निबन्धमा सामाजिक, आर्थिक, प्रशासनिक, राजनैतिक आदि क्षेत्रमा देखापरेका विकृति तथा विसङ्गतिलाई व्यङ्ग्यात्मक रूपले प्रस्तुत गरिएको छ ।

नेपाली साहित्यमा आत्मकथा अत्यन्त कम लेखिएको छ । व्यक्तिगत, पारिवारिक एवं सामाजिक रूपमा आपूmले प्राप्त गरेका अनुभवहरू अभिव्यक्त गर्न नेपाली महिला लेखकलाई अझै पनि सहज वातावरण तयार भइनसकेको स्थितिमा आत्मकथा लेखनतर्फ महिला लेखनको स्थितिचाहिं निकै उत्साहप्रद देखिन्छ । नेपाली साहित्यमा कृष्णकुमारी, चन्द्रकान्ता मल्ल, पारिजात, बुलु शर्मा, दुर्गा घिमिरे, शान्ता श्रेष्ठ, झमक घिमिरे, कविता पौडेल, अलका आत्रेय, उमा भुजेल, बीना घले, तारा राई, भारती गौतम, अङ्गूरबाबा जोशी, सीताजीजस्ता थुप्रै लेखकका पुस्तकाकार कृति प्रकाशित छन् । यीबाहेक कविता शेरचन, राधिका राया, कल्पना प्रधान, सुशीला थापा, रमा शर्मा आदिले पनि संस्मरण लेखेको पाइन्छ ।

हालसम्म प्राप्त जानकारीअनुसार नेपाली यात्रासाहित्यमा महिला लेखनको सुरुआत २००८ सालको भारतीमा प्रकाशित सुश्री कान्ता ठाकुरको ‘काठमाडौ भ्रमण’ शीर्षक लेखबाट भएको हो । यसपछि यस क्षेत्रमा थुप्रै महिला सर्जकहरू देखापरेका छन् । तीमध्ये अनुकृतिका, इल्या भट्टराई, उपमा आचार्य, रञ्जुश्री पराजुली, बिन्दु कोइराला आदिका पुस्तकाकार कृति प्रकाशित छन् । यीबाहेक कविता शेरचन, शशि रिमाल, शारदा अधिकारी, सुशीला देउजा आदिका विभिन्न कृतिमा यात्रासंस्मरणलाई पनि समावेश गरिएको छ ।

यसैगरी नेपाल बाहिरका गीता उपाध्याय, शान्ति छेत्री, विन्द्या सुब्बा, लावण्यदेवी आदिका कृति तिनीहरूकै देश भारत लगायत अन्य विभिन्न स्थानको यात्रा वर्णनमा आधारित छन् ।

निबन्ध विधा अन्तर्गत पर्ने जीवनी लेखनमा पनि महिलाहरूले कलम चलाएको पाइन्छ । देवकुमारी सिंह, खिरोदा खडगा, गीता शर्मा, गीता उपाध्याय, मञ्जु थापा, नया देवीले लेखेका स्वदेशी तथा विदेशी विभिन्न व्यक्तित्वमा आधारित जीवनीमूलक कृतिहरू प्रकाशित छन् ।
नेपालीमा अन्तर्वार्ता लेखनका क्षेत्रमा पनि महिलाको कलम चलेको पाइन्छ । मातृका गजमेरको नारी स्रष्टाहरू अन्तर्वार्ताहरूमा (सन् २०००) यस क्षेत्रको उल्लेखनीय कृति हो । यसै कृतिलाई विस्तृत बनाई परिमार्जनका साथ सन् २०१० मा पुनः प्रकाशन गरिएको छ । यसमा नेपालभित्र र नेपालबाहिर भारतका विभिन्न क्षेत्रमा बसोबास गरी साहित्य सिर्जनामा लागेका छब्बीसजना महिला स्रष्टाको अन्तर्वार्ता प्रस्तुत गरिएको छ भने पै“तीसजना महिला साहित्यकारको सङ्क्षिप्त विवरण प्रस्तुत गरिएको छ । विशेषगरी भारतीय नेपाली महिला साहित्यकारका बारेका विभिन्न सूचना र जानकारी प्राप्त गर्नका लागि यो कृति निकै उपयोगी देखिन्छ ।

कविता र आख्यानका तुलनामा नेपालीमा निबन्धका क्षेत्रमा महिला सहभागिता कम देखिए पनि नाटकमा जस्तो अति कम पनि छैन । आधुनिक कालमा विभिन्न प्रकारका निबन्धात्मक एवं प्रबन्धात्मक रचनामा महिलाहरूको सक्रियता रहेको देखिन्छ । तिनमा जातीय जागरण, देशको परिस्थिति, आध्यात्मिकता आदिको प्रस्तुति भएको छ । निबन्धका अन्य प्रकारका तुलनामा आत्मकथा वा संस्मरण लेखनमा महिलाको कलम निकै फस्टाएको पाइन्छ । यसैगरी वर्तमानमा फस्टाएको नियात्रा लेखनमा पनि महिलाको कलम चलेको देखिन्छ । स्वदेश तथा विदेशको यात्रामा आधारित महिलाद्वारा लेखिएका थुपै नियात्राहरू प्रकाशित भइसकेका छन् । जीवनी लेखनमा पनि महिलाहरू संलग्न रहेका देखिन्छन् । नेपाली महिला साहित्यकारले विभिन्न प्रकारका प्रेरणादायी स्वदेशी तथा विदेशी व्यक्तित्वको जीवनी लेखेको पाइन्छ । यसका अतिरिक्त अन्तर्वार्ता लेखनका क्षेत्रमा पनि महिलाका कृति प्रकाशित छन् । विविध विषयवस्तुलाई निबन्धात्मक ढाँचामा प्रस्तुत गरिएका नेपाली महिलाहरूका निबन्धात्मक कृतिमा प्रवृत्तिगत दृष्टिले खासै नौल्याइ“ देखिन्न ।

समालोचना
नेपाली समालोचनामा महिलाको उपस्थिति निकै पछि मात्र भएको देखिन्छ । यसको मूल कारण त नेपालीमा महिला साक्षरताको स्थिति कम हुनुलाई नै लिन सकिन्छ । यसका साथै सामाजिक, सांस्कृतिक, प्रशासनिक क्षेत्र महिलाका लागि सहज नहुनुजस्ता विविध कारणले महिला साहित्यकार नै कम भएको स्थितिमा महिला समालोचक कम हुनुलाई अस्वाभाविक मान्न सकिन्न । हालसम्म प्राप्त जानकारीअनुसार नेपाली समालोचनामा महिलाको प्रवेश वि.सं. २००० को शारदा पत्रिकामा प्रकाशित श्रीमती प्रभादेवी उपाध्यायको ‘नेपाली काव्यसाहित्यमा पीडाको साधना’ शीर्षकको लेखबाट भएको मानिन्छ । यसपछि निकै लामो समयसम्म यस क्षेत्रमा महिलाको प्रवेश भएको पाइदैन ।

सरिता ढकाल पुस्तकाकार कृति लिएर देखापर्ने पहिलो नेपाली महिला समालोचक हुन् । यसपछि देखापरेका समालोचकहरूमा रमा शर्मा, गार्गी शर्मा, देवी शर्मा, सुषमा आचार्य, उषा ठाकुर, लीला लुइटेल, शारदा अधिकारी आदि उल्लेखनीय छन् । यसका अतिरिक्त गोमा, कोशला जोशी, गायत्री श्रेष्ठ, प्रभा भट्टराई, बिन्दु शर्मा आदिले पनि केही मात्रामा प्रभावपरक समालोचना लेखेका छन् । नेपालीमा एम्.ए. तथा विद्यावारिधि प्रयोजनका लागि महिलाद्वारा तयार पारिएका थुप्रै शोधपत्रहरू परिष्कार–परिमार्जन गरी समालोचनात्मक कृतिका रूपमा प्रकाशित भएको पनि पाइन्छ । यसरी शोधपत्र प्रकाशित गर्ने समालोचकमध्ये कतिपयका उल्लिखित कृतिबाहेक अन्य समालोचनात्मक कृति पनि प्रकाशित छन् भने धेरजसो लेखकहरूचाहि“ शोधपत्रको प्रकाशनबाहेक अन्य समालोचनात्मक लेखनमा सक्रिय देखिएका छैनन् ।

भारतीय नेपाली साहित्यमा लक्खीदेवी सुन्दास, कमला साङ्कृत्यायन, शोभाकान्ति थेगिम, पवित्रा रेग्मी, कविता लामा, पुष्प शर्मा, राजकुमारी दाहालजस्ता लेखकहरूका समालोचनात्मक कृति प्रकाशित छन् ।

नेपाली समालोचनामा २००० सालबाट सुरु भएको महिला लेखनले लगभग सात दशक पार गरिसकेको स्थितिमा अपेक्षाकृत महिला सहभागिता भएको नपाइए पनि निराशै हुनुपर्ने स्थितिचाहि“ छैन । साहित्यको सिर्जनाभन्दा समालोचना लेखन अलि कठिन हुन्छ । तुलनात्मक दृष्टिले सिर्जनात्मक लेखनभन्दा समालोचना लेखनका लागि अपेक्षाकृत बढी समय चाहिन्छ । यसका अतिरिक्त परिश्रम पनि धेरै गर्नुपर्ने तथा अध्ययन, मनन एवं विश्लेषण गर्नुपर्ने हुन्छ । यसको अर्थ महिलाहरू परिश्रम गर्न सक्तैनन्, अध्ययन मनन गर्दैनन्/गर्न सक्तैनन् भन्ने होइन । प्राकृतिक, पारिवारिक, सामाजिक आदि विविध सन्दर्भका जिम्मेवारीले प्रभाव पार्छन् मात्र भन्न खोजिएको हो । यिनै विविध कारणहरूले गर्दा नेपाली समालोचनामा महिला उपस्थिति कम देखिएको हो ।

सुरुसुरुमा महिला समालोचकको स्थिति परिमाणात्मक दृष्टिले नै पनि त्यति उत्साहजनक नदेखिए पनि पछिल्लो समयमा उत्साहजनक ढङ्गले महिलाद्वारा लिखित समालोचनात्मक कृतिहरू प्रकाशन भइरहेका छन् । नेपाली समालोचनामा देखिएका प्रभाववादी, प्रगतिवादी, ऐतिहासिक, खोजअनुसन्धानपरक, तुलनात्मक, नारीवादी, सांस्कृतिक आदि विभिन्न प्रवृत्तिमा महिलाहरूको सक्रियता रहेको पाइन्छ । समालोचनाका अन्य सन्दर्भमा महिला लेखन परम्परावादी धारमै अगि बढिरहे पनि नारीवादी समालोचनाको प्रारम्भ र विकासमा महिलाहरू नै सक्रिय देखिनुलाई सुखद सन्दर्भ मान्नुपर्छ । यसैगरी नेपाली समालोचनामा अहिलेसम्म सांस्कृतिक समालोचनाको लेखन नभएको स्थितिमा महिला समालोचकले यसतर्पm ध्यान दिई यसप्रकारका समालोचना गर्नुलाई पनि महŒवपूर्ण उपलब्धिका रूपमा लिनुपर्छ ।