अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५४ | Colorodo: 03:09

मिनी पानीजहाजको सफल परीक्षण

बिआरटीनेपाल २०७६ पुष ७ गते २१:५३ मा प्रकाशित

चितवन, चितवनको नारायणी नदीमा व्यावसायिक सञ्चालनका लागि निर्माणाधीन पानीजहाजको सफल परीक्षण गरिएको छ । भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वन क्षेत्र काभ्रेघाटमा सो मिनी जहाजको निर्माण भएको उक्त क्रुज सिप (मिनी पानी जहाज) सफल परीक्षण गरिएको हो । निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रवन्धनिर्देशक रामचन्द्र कँडेलले भन्नुभयो, आइतबार साढे तीन बजे टेस्ट ड्राइभ गरेका थियौँ, परीक्षण सफल भएको छ ।

निर्माणको क्रममा रहेको क्रुजको ९० प्रतिशत काम सकिएको कँडेलले जानकारी दिनुभयो । नारायणगढ बजारबाट करिब छ किलोमिटर दक्षिण पश्चिममा रहेको काभ्रेघाटबाट नारायणी नदीमा परीक्षण गरिएको हो । एक किलोमिटर जति सञ्चालन गरेका थियौँ, कँडेलले भन्नुभयो, हामी सफल भएका छाँै, अब बुधबार केही किलोमिटर परीक्षण गर्दैछौँ ।

तीन तला रहेको जहाजको सुन्दरता दिने काम बाँकी रहेको छ । दुई सय जना अट्ने क्षमता रहेको जहाजमा कुर्सी राख्ने, कार्पेट, रङरोगन गर्ने, पानी ट्याङ्की, बिजुली जडानलगायतको काम बाँकी रहेको प्रबन्धनिर्देशक कँडेलले जानकारी दिनुभयो । दशैँ अगाडि सञ्चालनमा ल्याउने तयारी गरेका थियौँ, डिजाइनमा केही परिवर्तन गर्नुपर्ने र निर्माणको क्रममा ढिलाइ भएकाले सकेनौँ, उहाँले भन्नुभयो, सकेसम्म जनवरी महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेका छौँ । जहाज चल्ने क्षेत्र काभ्रेघाटदेखि देवघाटसम्म करिब २५ किलोमिटरको दूरीमा सफल परीक्षण गरेपछि मात्र उद्घाटन गर्ने छौँ, उहाँले भन्नुभयो । अहिले हतार गरेर घोषणा गर्दैनौँ हामी निर्माणको क्रममा छौँ, केही समस्या आएमा त्यसलाई समाधान गर्नेतर्फ लाग्नुपर्दछ उहाँले भन्नुभयो ।

जहाज चल्ने क्षेत्रमा रहेका अवरोध हटाउने काम भएको छ, अन्य कुनै समस्या भए त्यसको समाधान गर्नुपर्दछ, जहाजको सुन्दरता, यसको मापदण्ड सबै पूरा भएपछि मात्र उद्घाटनको मिति घोषणा गर्नेछौँ, कँडेलले भन्नुभयो । नर्वेजियन प्रविधि प्रयोग गरेर निर्माणाधीन उक्त क्रुज सिपमा भारत केरलाका प्राविधिकले काम गरिरहेका छन् । निर्माण कम्पनीका अनुसार क्रुजमा भीआईपी कक्ष, सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट थपिएको छ । पहिलाभन्दा बाहिरी लुक्स राम्रो देखाउने गरी डिजाइन परिवर्तन गर्दा एक करोड लागत र १० टन वजन थपिएको कम्पनीको भनाइ छ । एक सय फिट लम्बाइ र २५ फिट चौडाइको सो मिनी पानीजहाजको निर्माण २०७५ बाट थालिएको हो । निर्माण पूरा भइसक्दा यसको लागत १५ करोडमाथि पुग्ने प्रबन्धनिर्देशक कँडेलले जानकारी दिनुभयो । क्रुजको पहिलो तलामा ९० र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता छ । पहिलो तलाको अगाडिपट्टि सेल्फी खिच्ने, चलचित्र वा म्युजिक भिडियो सुटिङ गर्ने खुला ठाउँ छ । यहाँ १५ जना उभिन मिल्छ ।

क्रुज यात्रा सुरक्षित बनाउन दुईवटा इञ्जिन राखिएको छ । दुवै इञ्जिन एकैपटक चल्दैनन् । कुनै कारणले एक इञ्जिनमा समस्या आएमा अर्को चलाइने निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनी ग्राडुअर मरिन इन्टरनेसनलका प्रमुख सञ्चालक जिओजी सेवाइस्टनले क्रुजमा शक्तिशाली इञ्जिन राखिएकाले ढुक्कसँग यात्रा गर्न सकिने बताउनुभयो ।

क्रुजको तल्लो तलामा कुनै कारणले प्वाल परेर वा क्षति भएर पानी पसेमा सबै भागमा पानी नजाने गरी डिजाइन गरिएको छ । क्रुज सिप तीन जनाले चलाउने व्यवस्था गरिएको छ । अहिलेलाई चालक र प्राविधिक हाल विदेशी हुनेछन् । पछि नेपाली प्राविधिकले नै सञ्चालन गर्ने योजना छ । क्रुज राख्नका लागि १५ फिट गहिरो पार्किङ स्टेसन निर्माण गरिएको छ । यो समाचार गोरखापत्र अनलाइनले छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू