अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१३ | Colorodo: 15:28

अमेरिकाको मिजौरीमा नारायण गोपाल स्मृति साँझ कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७६ पुष ७ गते २१:३८ मा प्रकाशित

सेन्ट लुइस मिजौरी, अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्याप्टरको आयोजनामा डिसेम्बर २१ तारिखका दिन स्वर सम्राट् नारायण गोपालको ३० औ स्मृति दिवसको अवसरमा “नारायण गोपाल स्मृति कार्यक्रम” भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता साथै सञ्चालन मिजौरी च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले गर्नु भएको थियो ।

कार्यक्रममा स्वर सम्राट् नारायण गोपालको तस्बिरमा माल्यार्पण र दीप प्रज्वलन गरी औपचारिक रूपमा सुरुवात गरिएको थियो । कार्यक्रममा पहिलो गीत “म मरे पनि मलाई मेरो देशको माया छ भन्ने” देश भक्ति गीत उपस्थित सबै सहभागीहरूले सामुहीक रूपमा उत्साहित भई गायन-बजाना साथ प्रस्तुत गरिएको थियो ।

यस कार्यक्रममा स्वर सम्राट् नारायण गोपाल सम्बन्धी विशेष चर्चा-परिचर्चा सहित वहाँको जीवनी मिजौरी च्याप्टरका सल्लाहकार कवि बलराम पन्थीले वर्णन गर्नुको साथै वहाँद्वारा गाइएका दर्जनौँ गीतहरू (एकल र सामुहीक दुवै) उपस्थित सहभागीहरूले गाउनुका साथै मादल, गितार अनि हार्मोनियम जस्ता बाजाहरू पनि बजाएर कार्यक्रम निकै रोचक बनाएका थिए ।

“नेपाली भाषाको जगेर्ना र नेपाली पहिचान बचाउने” उद्देश्यले सञ्चालित यस्ता कार्यक्रमहरू अनेसास मिजौरी च्याप्टरबाट निरन्तर कोसिस जारी हुने समेत कुराको सबैमा सहर्ष जानकारी गराउँदै उपस्थित सहभागीहरूलाई मिजौरी च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रमको अन्तमा रात्रि भोजको व्यवस्था पनि गरिएको थियो । भोजमा केही स्वर सम्राट् नारायण गोपालको मन पर्ने खाना “मेथीको अचार” जस्ता खानाहरू पनि समावेश थिए ।

प्रतिक्रिया