अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३४ | Colorodo: 12:49

अतिक्रमित भूभाग फिर्ता ल्याउन पहल नगरेको भन्दै काँग्रेसद्धारा सरकारको आलोचना

बिआरटीनेपाल २०७६ पुष ७ गते ८:१७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भारतको अतिक्रमणमा परेको नेपाली भूभाग फिर्ता ल्याउने सवालमा अडान लिन नसकेको भन्दै सरकारको आलोचना गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा नेपाली काँग्रेसका राष्ट्रियसभा सदस्य बद्री पाण्डेले सुगौली सन्धिले निर्धारण गरेको सिमा कायम हुनुपर्ने विषयलाई सरकारले अडानका साथ राख्न नसकेकोमा आलोचना गर्नुभयो । उहाँले सीमा सुरक्षा र अतिक्रमणमा परेको भूमी फिर्ता गर्ने सम्बन्धमा भएका प्रयासबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो । नेपालको जमिन मिचेर भारतले राजनीतिक नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको चार सय वर्ग किलोमिटर भूमी मिच्ने काम भएको दाबी गर्दै उहाँले सरकार मौन बसेको भन्दै आक्रोश पोख्नुभयो ।

सत्तारुढ दल नेकपाका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले गोकर्ण रिसोर्ट र नारायणीहिटी जग्गामा देखिएको विवादबारे स्पष्ट पार्न सरकारसँग माग गर्नुभयो । सार्वजनिक जग्गाको संरक्षणमा सक्रिय रुपमा लागेको सरकारले यी दुई जग्गाको बारेमा उत्पन्न विवादलाई पनि सम्बोधन गर्नुपर्ने उहाँको तर्क छ । विगतमा पनि राजनीतिक मुद्दाको रुपमा लिपुलेक र लिम्पियाधुराको विषय धेरै उठ्ने गरेको भन्दै उहाँले सीमाको विषयमा भने सरकारको बचाउ गर्नुभयो ।

समाजवादी पार्टी नेपालका राष्ट्रियसभा सदस्य रामपृत पासवानले व्यवस्था परिर्वतन भएपनि सर्वसाधरणले परिर्वतनको अनुभूति गर्न नसकेको बताउनुभयो । सर्वहाराका नेता भन्न रुचाउनेमा मात्रै परिर्वतन आएको भन्दै उहाँले विभेदरहित समाज भाषणमा नभई व्यवहारमा देखाउन सरकारलाई चुनौति दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू