अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०१ | Colorodo: 05:16

पथरीकी रिजु भइन मिस पूर्वाञ्चल २०१९

बिआरटीनेपाल २०७६ पुष ७ गते ६:४१ मा प्रकाशित

धरान, शनिवार धरान स्थित धरान सभागृहमा सम्पन्न नेपाल आइस मिस पूर्वाञ्चलको दसौँ संस्करणको ताज आफ्ना १९ जना प्रतिस्प्रधीहरुलाई पछि पार्दै पथरी शनिश्चरे-मोरंगकी ऋजु भट्टराईले पहिरिएकी छिन् ।

टप १२ हुँदै टप ५ मा पुगेपछि मुख्य निर्णायक वरिष्ठ गायक दीप श्रेष्ठको नेपाल भ्रमण वर्ष २०२० सफल हामीले बनाउन गर्नुपर्ने महत्त्वपूर्ण पक्ष के हो ? भन्ने प्रश्नको उत्तरमा मिस पथरी शनिश्चरे २०१९ कि विजेता समेत रहेकी रिजुले “भागवत गीताका अनुसार तपाईँले आफ्नो धर्म र कर्तव्य निर्वाह गर्नु सधैँ उत्तम हुन्छ । यो ब्रह्माण्डमा सबैको आफ्नो धर्म र कर्तव्य हुने गर्दछ । मेरो बिचारमा नेपाल भ्रमण वर्ष 2020 लाई सफल पार्न सबभन्दा महत्त्वपूर्ण कुरा भनेको आफूलाई सुधार्नु हो । हामी हिमाल पहाड वा तराइ जहाँको भए पनि पर्यटनलाई प्रवर्धन गर्न आ-आफ्नो कर्तव्य पालन गर्न भुल्नु हुँदैन । मलाई विश्वास छ परिवर्तन भन्ने कुरा आफैँ भित्रबाट आउने गर्दछ । तसर्थ हामी फुटेर होइन एकजुट भएर बलियो भएर अघि बढ्नुपर्दछ ।” भन्ने उत्तर दिएर सम्पूर्ण निर्णायक तथा दर्शकहरूको समेत ताली पाएकी थिइन ।

नेपाल आइस मिस पूर्वाञ्चल २०१९ विजेता भट्टराईलाई मिस पूर्वाञ्चल २०१८ पूजा श्रेष्ठले ताज पहिराएकी थिइन भने ओम शान्ति कम्पनी लिमिटेड, कोरियाका अध्यक्ष गङ्गाराज राईले रु दुई लाखको चेक हस्तान्तरण गरेका थिए । साथै सिजी ब्रुअरीका सिनियर म्यानेजर मनिष सिंहले हंगकंग टुरको डमी टिकट दिनुभएको थियो । त्यस्तै उनलाई पर्यटकीय स्थल भेडेटारको नयाँ भेडेटार पर्यटन सद्भावना दुत घोषणा गरिएको थियो । उनले वाई वाई मिस पर्सनालिटीको सब-टाइटल समेत जितिन ।

मिस पूर्वाञ्चल २०१९ को फर्स्ट रनर अप खोटांगकि एन्जल राई भइन । उनलाई भेडेटार एडभेन्चरको निर्देशक किरण राईले नगद १ लाखको चेक हस्तान्तरण गरेका थिए । उनी नेपाल आइस मिस मल्टिमिडिया र डिभाइन मिस फोटोजेनिकको सब टाइटल समेत जित्न सफल भइन । उनलाई २०१८ कि फर्स्ट रनर अप अनिला क्षेत्रीले ताज लगाई दिएकी थिइन । त्यस्तै सेकेन्ड रनर अप धरानकी सिम्रन लिम्बु घोषणा भइन । उनलाई युएन नवोदय कलेजका बिएचएम संयोजक गगन श्रेष्ठले नगद पचास हजारको चेक हस्तान्तरण गरेका थिए भने २०१८ कि तपस्या रनापहेलीले ताज लगाई दिएकी थिइन् । उनी सब्सरा मिस इन्टलेक्चुअलको सब टाइटल समेत जित्न सफल भइन ।

त्यस्तै धनकुटाकी रेश्मा राईले बराह मिस पब्लिक चोइस र फेस अफ डिभाइनको सब टाइटल समेत जितिन भने पेप्सी मिस ट्यालेन्टको उपाधि धरानकी अनुपम बस्नेतले, गोर्खा डिपार्टमेन्ट मिस बेस्ट कम्प्लेसनको उपाधि इटहराकि बिपना तामाङ, मिलान्ज बेस्ट वाकको उपाधि सुष्मिता बराइली र मिस फ्रेन्डशिप धरानकी श्वेता पोख्रेलले जित्न सफल भइन । सम्पूर्ण टाइटल विजेताले १५ हजार पुरस्कार पाएका थिए ।

सिल्भर इन्टर टेनमेन्टको आयोजनामा सम्पन्न नेपाल आइस मिस पूर्वाञ्चलको दसौँ संस्करणमा मिलान्ज फेशन इटहरी, लेडिजडे बुटिक, धरान र पूर्वेली ढाका टोपी ट्रेडर्सको भेषभुषा तथा एमी मेकअप स्टुडियोको मेकप्मा सजिएका २० जना प्रतिस्पर्धी प्रिया रानी लामाको कोरियोग्राफीमा स्टेजमा प्रस्तुत भएका थिए ।

२०१० देखि २०१८ सम्मका विजेता उप-विजेताहरूले समेत र्‍याम्पमा ओर्लिएको कार्यक्रममा नायिका मेरुना मगर, फेशन पत्रकार, कोरियोग्राफर जयन सुब्बा मानन्धर, मलेसियामा मिस ग्लामरको उपाधि जितेकी सिम्रन श्रेष्ठ र मिस कस्मोपोलिटन वर्ड २०१९ को उपाधि जितेकी प्रिया रानी लामालाई आयोजक सिल्भर इन्टरटेनमेन्टले सम्मान गरेको थियो भने कार्यक्रम सञ्चालन नेमिता आङ्गबुहाङ्ग र इक्सा मादेनले गरेका थिए ।

सिजी ब्रुअरीको मुख्य प्रायोजन, बराह ग्रुपको प्रस्तुति र डिभाइन वाइन र ओम शान्ति कम्पनी लिमिटेड सिओल कोरियाको सह-प्रायोजन र पूर्वाञ्चल लुब्रिकेन्ट्सको प्रयोजनमा तथा सिल्भर इन्टर टेनमेन्टको आयोजनामा भएको नेपाल आइस मिस पूर्वाञ्चल २०१९ को निर्णायकहरूमा वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठ, नायिका मेरुना मगर, फेशन पत्रकार तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर, डा. सरुन कोइराला, ओम शान्ति कम्पनीका अध्यक्ष गङ्गाराज राई, बराह ग्रुपका कार्यवाहक प्रमुख गङ्गा कालिकोटे, मिस पूर्वाञ्चल २०१६ कृतिका गिरि, संचारकर्मी सुरेश राई र पत्रकार तथा कवि गोपाल देवान रहेका थिए ।

 

 

प्रतिक्रिया