अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५३ | Colorodo: 12:08

इस्लाम निन्दाको अभियोगमा फुलब्राइट स्कलरसिपमा अध्ययन गरेका पाकिस्तानी प्राध्यापकलाई मृत्युदण्डको फैसला

बिआरटीनेपाल २०७६ पुष ६ गते ८:३९ मा प्रकाशित

इस्लामको निन्दा गरेको अभियोगमा पाकिस्तानमा एकजनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ३३ वर्षका विश्वविद्यालय प्राध्यापक जुनैद हाफीजलाई इस्लामको निन्दा गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको हो । उनलाई सन् २०१३ को मार्चमा इस्लामको निन्दा गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । उनले सामाजिक सञ्जालमा पैगम्बर मोहम्दमको निन्दा गरेर सामग्री पोस्ट गरेको अभियोग लागेको थियो ।

इस्लामको निन्दा पाकिस्तानमा अति गम्भीर अपराधका रुपमा रहेको छ । निन्दाको अभियोग मात्रै पनि कुनै व्यक्तिलाई गम्भीर कारवाही गर्नका लागि काफी हुने गरेको छ । प्राध्यापक हाफीजलाई मृत्युदण्ड दिने फैसला आएसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ । हाफीजका पहिलो वकिल रशिद रेहमानको सन् २०१४ मा गोली हानी हत्या भएको थियो । जेलमा रहेका अरु कैदीले लगातार आक्रमण गरेपछि हाफीजलाई एक्लै राखिएको छ । मुल्तानमा रहेको केन्द्रीय जेल स्थित अदालतले उनलाई मृत्युदण्डको फैसला गरेको हो ।

हाफीजले अमेरिकामा स्नातकोत्तर तहको अध्ययन गरेका थिए फुलब्राइट स्कलरसिप मार्फत । उनले अमेरिकी साहित्य, फोटोग्राफी र रंगमञ्चमा स्नातकोत्तर गरेका हुन् । पाकिस्तान फर्किएपछि उनले मुस्तानमा रहेको बिजेडयू मा प्राध्यापकका रुपमा काम गर्न थालेका थिए । हाफीजका वर्तमान वकिलले अदालतको फैसला अति दुर्भाग्यपूर्ण रहेको समाचार संस्था एएफपीसँग बताएका छन् । यो फैसलाविरुद्ध अपिल गर्ने उनले जानकारी दिएका छन् । तर विपक्षी वकिलले फैसला आएसँगै आफ्ना सहकर्मीहरुलाई अल्लाहु अकबर भन्दै लड्डु बाँडेका छन् । एम्नेस्टी इन्टरनेशलले फैसला न्यायको गम्भीर पतन रहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू