अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१२ | Colorodo: 12:27

कोरियाको सीप परीक्षणको नतिजा पारदर्शी नभएको परीक्षार्थीको गुनासो

बिआरटीनेपाल २०७६ पुष ६ गते ८:३५ मा प्रकाशित

कोरियाको लागि तयारी गरेका नेपाली परीक्षार्थीले कोरियाले प्रकाशन गरेको सीप परीक्षणको नतिजा पारदर्शी नभएको भन्दै वैदेशिक रोजगार विभागलाई आज ध्यानाकर्षण गराएका छन् । एकैदिन सहभागी भएका एकजनाको पनि नाम नपरेकाले यो कुन विधिद्वारा लिइएको परिक्षा हो भन्दै उनिहरुले विभालाई प्रश्न गरेका छन् ।

विभाग पुगेका उनीहरुले परिक्षा प्रणाली त्रुटिपुर्ण भएकाले यसलाई सच्चाइनुपर्ने माग गरेका छन् । उनीहरुले सरकारले यसबारे कोरियाको ध्यानकर्षण गराइ रद्द गर्नुपर्ने माग राखेका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षामा उत्तीर्ण भएपछि सीप परीक्षण गरिएको थियो । कोरियाको मानव संसाधन विभागले अन्तिम नतिजा प्रकाशन गरेको हो ।

सन् २०१९ का लागि कोरियन भाषा परीक्षामा ९२ हजार तीन सय ५६ जना सहभागि भएका थिए । जसमा १२ हजार १० जना भाषा उत्तीर्ण भएका थिए । भाषा परिक्षामा उत्तीर्ण भएका परीक्षार्थीको भिडियोबाट सीप परीक्षण गरी अन्तिम नतिजा प्रकाशन गरेको हो । अब अन्तिम सूचीमा परेकाबाट रोजगारदाताले छनोट गर्नेछ । कोरियाले उत्पादन र कृषि क्षेत्रमध्ये कुनमा कति उत्तीर्ण भएको भन्ने खुलाइएको छैन ।

कोरियाले पहिलोपटक यसै वर्षदेखि सीप परीक्षण सुरु गरेको हो । कोरियामा जाने कामदार अदक्ष र काम गर्न नसकेको भन्दै सीप परीक्षण गर्न थालिएको जनाएको छ । कोरियाले यसै वर्षदेखि भाषा परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीले सीप परीक्षणमा पनि उत्तीर्ण हुनुपर्ने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू