अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

काठमाडौं म्याराथन – पुरुषतर्फ रावत च्याम्पियन, महिलातर्फ कान्छीमायाको ह्याट्रिक

बिआरटीनेपाल २०७६ पुष ५ गते ७:१३ मा प्रकाशित

काठमाडौं म्याराथनले नयाँ च्याम्पियनलाई जन्म दिएको छ । पुरुष तर्फ नेपाली सेनाका धावकहरुले वर्चश्व जमाउँदा नयाँ च्याम्पियनकारुपमा २३ बर्षीय धावक नरेन्द्रसिंह रावत उदाएका हुन् । यता महिलातर्फ भने सशस्त्र प्रहरीको एपीएफ क्लबकी कान्छीमाया कोजुले काठमाडौं म्याराथनमा ह्याट्रिक उपाधि जित्न सफल भएकी छिन् । नेपाली सेनाको त्रिभूवन क्लबका धावक रावतले ४२ किलोमिटर दौडको दूरी २ घण्टा ३३ मिनेट २३ सेकेण्डमा पूरा गरेका थिए । दोस्रो स्थानमा रहेका त्रिभूवन क्लबका बेदबहादुर सुनुवारले २ घण्टा ३४ मिनेट २० सेकेण्डमा निर्धा्रित दूरी पूरा गरेका थिए भने तेस्रोमा रहेका ज्ञानप्रसाद भट्टराईले २ घण्टा ३४ मिनेट ४५ सेकेण्डमा दूरी छिचोलेका थिए ।

शनिबार बिहान काठमाडौंमा भएको १३ औं संस्करणको काठमाडौं म्याराथनमा कान्छीले निर्धारित दूरी २ घण्टा ५७ मिनेट २७ सेकेन्डमा छिचोल्दै उपाधिमाथि ह्याट्रिक सफलता हासिल गरेकी हुन् । कान्छीले यसअघि लगातार दुई संस्करणको उपाधि जितेकी थिइन् । काठमाडौं म्याराथनमा भने समग्रमा उनको यो पाँचौ उपाधि हो । दोस्रो स्थानमा रहेकी आर्मीकी सरिता वासीले ३ घण्टा १९ मिनेट ७ सेकेन्डमा दूरी पार गरेकी थिइन भने निर्जला ताम्राकारले ३ घण्टा ४५ मिनेट ४७ सेकेन्डमा दूरी छिचोल्दै तेस्रो स्थानमा रहन सफल भइन् ।

यस्तै हाफ म्यारथनमा पुरुष तर्फको स्पर्धामा त्रिभूवन क्लबका राजन रोक्का र महिलातर्फको स्पर्धामा पूर्ण लक्ष्मी न्यौपाने स्वर्ण पदक हात पार्न सफल भएका छन् । राजनले निर्धारित दूरी १ घण्टा १० मिनेट २६ सेकेण्डमा पूरा गर्दा त्रिभूवन क्लबकै हरि रिमालले एक घण्टा ११ मिनेट १३ सेकेण्डमा पूरा गरी दोस्रो भए । त्रिभूवन क्लबकै रामजी बस्नेत १ घण्टा १२ मिनेटमा २१ सेकेण्डमा निर्धारित दूरी पूरा गरी तेस्रो स्थानमा रहे । यसैगरी महिला तर्फ पूर्णलक्ष्मीले १ घण्टा २८ मिनेट शून्य तीन सेकेण्डमा निर्धारित दूरी छिचोलेर पहिलो स्थान लिंदा सानुमाया कार्कीले १ घण्टा ३० मिनेट ०१ सेकेण्डमा दूरी पार गर्दै दोस्रो स्थानमा रहिन । नेपाल पुलिसकी रेखा विष्ट १ घण्टा ३१ मिनेट ३४ सकेण्डमा दूरी पार गर्दै तेस्रो स्थानमा चित्त बुझाइन् ।

पाँच किलोमिटरतर्फ पुरुषतर्फ अजितकुमार यादवले निर्धारित दूरी १७ मिनेट १९ दशमलव नौ एक सेकेण्डमा पार गर्दै पहिलो स्थान लिंदा दोस्रो स्थानमा रहेका गजेन्द्र राईले १७ मिनेट ३० दशमलव ६३ सेकेण्डमा दूरी छिचोलेका थिए । तेस्रो स्थानमा रहेका शिवबहादुर रायमाझीले १७ मिनेट ५३ दशमलव २२ सेकेण्डमा दूरी पार गरेका थिए । पाँच किलोमिटर महिला तर्फ नेपाली सेनाको त्रिभूवन क्लबकी सरस्वती भट्टराई निर्धारित दूरी २२ मिनेट ३ दशमलव चार एक सेकेण्डमा पार गर्दै पहिलो स्थान हात पार्दा २३ मिनेट नौ दशमलव तीन एक सेकेण्डमा दूरी छिचोलेर पुलिसकी विर्सना कुमाल दोस्रो स्थानमा रहिन । २३ मिनेट ३१ सेकेन्डसहित काजल विष्टले तेस्रो स्थानमा रहिन् ।

पुरुष म्याराथनतर्फको विजेता नरेन्द्रले ५० हजार रुपैयाँ हात पार्दा दोस्रो भएका बेदबहादुर सुनारले २० हजार तथा तेस्रो भएको ज्ञान प्रसाद भट्टराइले १५ हजार रुपैयाँ नगद पुरस्कार पाए । यस्तै महिलातर्फ कान्छीले ५० हजार, सरिताले २० हजार र निर्जलाले १५ हजार रुपैयाँ नगद पुरस्कार हात पारेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू