अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५४ | Colorodo: 09:09

प्रतीक्षा

रन्जु मार्ग २०७६ पुष ४ गते ११:३४ मा प्रकाशित

लघुकथा:

आदिम भन्ने देशमा शान्ति र क्रान्ति भन्ने दुई दिदी बहिनी थिए ।तिनीहरू एउटै आमाले जन्माएका सन्तान भए पनि सधैँ झगडा गरी रहन्थे । एकले अर्का लाई निन्दा गर्ने, होच्याउने गर्दथे ।शान्ति सधैँ आफ्नो बैनी सँग भन्थी -‘हेर बैनी, तिमीले जुन बाटो लिएकी छौ त्यो बाटो राम्रो छैन । सधैँ भरि हत्या, आतङ्क फैलाएर आफ्नो विकास भन्ने भाइलाई किन जन्म दिन्नौ ? ‘विकास त हाम्रो आधार हो ।भविष्यको सहारा हो ।उ बिना हाम्रो आमा कहाँ खुसी हुन सक्छिन् होला र ?’

शान्तिको यस्तो कुरा सुनी क्रान्ति ठुलो स्वरले गर्जिँदै भनी -‘भो भो नकरा । तैँले मलाई सिकाउनु पर्दैन ।तैँले पनि सोचेकी छेस् म आतङ्ककारी हुँ,हत्यारा हुँ ।मैले नै धेरै को ज्यान लिई सकेको छु ।उठी बास लगाई सकेको छु । तर त्यो त्येरो भ्रम हो । मेरो नामबाट यहाँ अरूले नै गरी रहेछन् । मलाई पनि इच्छा कहाँ नभएको हो र आफ्नो भाइलाई काखमा खेलाउने । तर अफशोच ! मेरो भाइलाई मैले होइन यी पदमा बसेकाहरूले नै गर्भ पतन गराई रहेछन् । अनि हाम्री आमा अमुक बनेर रोईरहेछिन । मैले आमाको आँसु हेर्न सकिन र विद्रोही बनेकी हुँ । मेरो लक्ष्य भ्रस्टचारिहरुको तहसनहस गर्नु हो । त्यसैले तिनीहरूलाई भत्काउन खोजेको हुँ । के गर्नु त्यहाँ सम्म पुग्न बाटो त बनाउनै परयो ।

क्रान्तिको कुरा सुनी शान्ति चुप लागि र प्रतिक्षा गरी त्यो दिनको जुन दिन क्रान्तिले आफ्नो विकास भन्ने भाइलाई आमाको कोखबाट सकुशल जन्म दिलाउन सफल हुन्छिन् ।