अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१७ | Colorodo: 03:32

गोरखा दरबार पुनर्निर्माण – म्याद सकिएपनि काम सकिएन

बिआरटीनेपाल २०७६ पुष ४ गते ८:४१ मा प्रकाशित

गोरखा दरबार पुनर्निर्माणको ठेक्का अवधि सकिएको छ । ठेक्का सम्झौतामा उल्लेख भएअनुसार दरबार पुनर्निर्माणको काम मंसिर मसान्तमा सकिनु पर्ने भएपनि हालसम्मे ३५ प्रतिशत मात्रै काम भएको छ । आधा काम पनि पूरा नहुँदै ठेक्का अवधि सकिएपछि म्याद थपको तयारी सुरु भएको छ । निर्धारित साढे दुई वर्षको ठेक्का अवधि मंसिर मसान्तमा सकिएपछि म्याद थप्ने प्रक्रिया सुरु भएको पुरातत्व विभागले जनाएको छ ।

२०७२ सालको भूकम्पले क्षति पु¥याएको गोरखा दरबार पुनर्निर्माणका लागि २०७४ सालको कात्तिकमा पचली सिभाको जेभी नामको ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । पुनर्निर्माणका लागि कम्पनीसँग ४ करोड ३७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तर ठेक्का अवधि सकिँदा ३५ प्रतिशत मात्रै काम भएको पुरातत्व विभागअन्तर्गतको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुुसालले बताउनुभयो ।

दरबारको पहिलो तल्लाको काम पनि पूरा भएको छैन । निर्माण व्यवसायीले एक वर्ष म्याद थपका लागि निवेदन दिएका गोरखा दरवार पुनर्निर्माण परियोजनाकी प्रमुख मञ्जुसिं भण्डारीले बताउनुभयो । ठेकेदारले एक वर्षको म्याद मागे पनि सार्वजनिक खरिद ऐनको आठौं संशोधनअनुसार कुल ठेक्का अवधिको २५ प्रतिशत समय मात्रै थप्न सकिने उहाँको भनाइ छ । त्यसैले अव बढीमा ६ महिना मात्रै म्याद थप हुन सक्ने उहाँले जानकारी दिनुभयो । थपिएको अवधिमा कामको प्रगति नदेखिए ठेक्का सम्झौतानै भंग गर्नेबारे छलफल भैरहेको भण्डारीले जानकारी दिनुभयो ।

सुरुमा जगको काममा भएको अलमलका कारण पनि म्याद थप्नुपर्ने देखिएको पुरातत्व विभागले जनाएको छ । दरबार पुननिर्माण छिटो सक्न चौतर्फी दबाब बढिरहेका बेला काम भने फेरि सुस्ताएको छ । पुरातत्व विभागको ताकेतापछि तीव्र बनेको काम फेरि सुस्ताएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ । दरबार पुनर्निर्माणमा ढिलाइ भएको चौतर्फी गुनासोपछि निर्माण व्यवसायीले जग र पहिलो तल्लाको निर्माण कार्य धमाधम अघि बढाएका थिए । तर पहिलो तल्लाको गाह्रो लगाउने काम बाँकी रहँदै निर्माणको काममा सुस्तता आएको हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले बताउनुभयो ।

दशैंअघि जग र पहिलो तल्लाको काठको काम सकेको ठेकेदार कम्पनीले त्यसयता भने निर्माणको काममा गति दिन सकेको छैन । दरवार क्षेत्रमा चुना र सुर्कीलगायतका निर्माण सामग्री ढुवानी गरे पनि कामले गति लिन नसकेको हेरचाह अड्डाका प्रमुख भुसालको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू