अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०१ | Colorodo: 13:16

निवर्तमान सभामुख महराको पुनरावेदनमा उच्च अदालतद्वारा जिल्लाकै आदेश सदर, थुनामै रहने

बिआरटीनेपाल २०७६ पुष ३ गते ८:२९ मा प्रकाशित

उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महराको पुनरावेदनमा काठमाडौं जिल्ला अदालतको आदेशलाई नै सदर गरेको छ । बिहीबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको हो ।

महराले आफूलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिनुभएको थियो । पुनरावेदनको सुनुवाइमा जिल्लाकै आदेश सदर गरिएको हो । जिल्लाकै आदेश सदर गरिएसँगै महरा डिल्लीबजार कारागारमा थुनामै रहनुहुनेछ । यसअघि, उच्च अदालतले संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्न खोजेको र प्रतिकार गर्दा हिंसा गरेको अभियोग लागेका महरामाथिको अनुसन्धानदेखि थुनामा राख्ने आदेशसम्मको विवरण माग्न आदेश दिएको थियो ।

गएको कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । त्यसपछि महरा डिल्लीबजार कारागारमा रहेका छन् । जिल्ला अदालतको आदेश त्रुटिपूर्ण भएकाले साधारण तारेखमा रिहा हुनपर्ने महराको तर्क थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू