अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५४ | Colorodo: 16:09

संसदको हिउँदे अधिवेशनको तयारी पूरा, बैठकको अध्यक्षता उपसभामुखले गर्ने

बिआरटीनेपाल २०७६ पुष ३ गते ८:१९ मा प्रकाशित

संघीय संसद सचिवालयले शुक्रबार (भोलि) अपराह्नदेखि सुरु हुने संघीय संसदको हिउँदे अधिवेशनको तयारी पूरा भएको जनाएको छ । सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले हिउँदे अधिवेशनका लागि प्राविधिक र प्रशासनिक तयारी पूरा भएको जानकारी दिनुभयो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन शुक्रबार अपराह्न ४ बजे बस्नेगरी आह्वान गर्नुभएको छ । संसदको बजेट अधिवेशन गएको असोज २ गते अन्त्य भएको थियो ।

हिउँदे अधिवेशनका लागि सरकारले अहिलेसम्म चारओटा विधेयक संसदमा दर्ता गराएको छ । यस्तै, प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक र राष्ट्रियसभामा थाती रहेका चार विधेयक पनि आगामी संसद अधिवेशनबाट पारित गर्ने प्रक्रियामा छन् ।

हिउँदे अधिवेशनको पहिलो बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङफेले नै गर्नेगरी तयारी भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ । नियमावलीमा सभामुखले संसद बैठकको अध्यक्षता गर्ने व्यवस्था रहेपनि अहिले सभामुख पद रिक्त रहेको अवस्थामा उपसभामुखले नै बैठकको अध्यक्षता गर्ने सचिवालयले जनाएको हो ।

बैठकको अध्यक्षता र पहिलो बैठकको कार्यसूचीबारे संसद बैठक बस्नुअघि शुक्रबारै बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू