अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०० | Colorodo: 07:15

नेकपा स्थायी समिति बैठक– तत्काल नियमावली बनाएर पूर्णकालीन नेता–कार्यकर्तालाई भरणपोषणको खर्च दिन नेताहरुको माग

बिआरटीनेपाल २०७६ पुष ३ गते ८:१८ मा प्रकाशित

सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा पूर्णकालीन पार्टी नेता–कार्यकर्ताको भरणपोषणको व्यवस्था गर्न माग उठेको छ । आइतबारदेखि जारी स्थायी समिति बैठकमा आफ्ना धारणा राख्ने क्रममा सचिवालय सदस्यदेखि स्थायी समिति सदस्यसम्मका नेताले भरणपोषणको माग गरेका हुन् । यसो गर्दा नेता–कार्यकर्ताको जीवन पारदर्शी हुने र आर्थिक आर्जनका लागि ‘राजनीतिक ठेक्कापट्टा’ को काम गर्न नपर्ने ती नेताको भनाइ छ ।

तत्कालीन एमाले र माओवादीले एकतापूर्व पूर्णकालीन नेता–कार्यकर्ताका लागि ‘उचित’ रकम दिने गरे पनि नेकपाले यस विषयमा अहिलेसम्म नियमावली नबनाइएकाले बैठकमा नेताले तत्काल नियमावली बनाएर पूर्णकालीन नेता–कार्यकर्तालाई भरणपोषणको खर्च दिन माग गरेका हुन् ।

स्थायी समिति सदस्य युवराज ज्ञवालीले पार्टीका पूर्णकालीन कार्यकर्तालाई पकेट खर्च नदिएर मगन्ते बनाउन खोजेको भनेर नेतृत्वलाई प्रश्न गर्नुभएको थियो । अर्का सदस्य अष्टलक्ष्मी शाक्यले पनि पूर्णकालीन कार्यकर्ताको रक्षाका लागि उनीहरुलाई भरणपाषणको खर्च दिन पनि माग गर्नुभयो ।

सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले यसअघि आफूले तीन पटकसम्म सचिवालयमा पूर्णकालीन नेता कार्यकर्तालाई नियमावली बनाएर भरणपोषण खर्च दिन माग गरेको बताउनुभयो । उहाँले आफूले सचिवालय बैठकमा राखेको विषय अहिले कतिपय सदस्यले स्थायी समिति बैठकमा राखेको जानकारी गराउनुभयो ।

नेकपाले संगठन विभागको अधिकार र कर्तव्यसम्बन्धी पार्टी नियमावली परिमार्जन एवं संशोधन गर्ने तयारी गरेको छ । कतिपय नेताले यो परिमार्जनमा भरणपोषणसम्बन्धी व्यवस्था पनि समेटिने अपेक्षा गरेका छन् । स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले पनि पार्टी नेता–कार्यकर्ता अपारदर्शी स्रोतमाथि भर पर्ने अवस्था बन्दै गएको र यसले समाजवादी लक्ष्य हासिल गर्न कठिन हुने धारणा राख्नुभएको छ ।

अर्का सदस्य हरिबोल गजुरेलले नेताको आचरण र कार्यशैलीमाथि प्रश्न उठाउदै पार्टीभित्र बढ्दो अपारदर्शी जीवनशैलीतिर संकेत गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू