अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१५ | Colorodo: 11:30

कालापानीबारे उच्चस्तरीय राजनीतिक तहको वार्ता हुनुपर्छ: भारतीय राजदूत पुरी

बिआरटीनेपाल २०७६ पुष २ गते ११:२१ मा प्रकाशित

काठमाडौँ, नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी तीन वर्षे कार्यकाल पूरा गरी भारत फर्कदैछन् । उनको कार्यकालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई पटक नेपाल भ्रमण गरे । यसबिच दुई देशको सम्बन्धमा उचाइमा पुग्यो । यसका साथै कालापानीलगायत सीमा समस्या जोडतोडका साथ उठे । अरुण तेस्रो परियोजनाको निर्माण आरम्भ भयो । तर, पञ्चेश्वर परियोजना अलमलमै रह्यो । पुरीको कार्यकालको उपलब्धि र चुनौतीबारे ऋषि धमलाले प्राइम टाइम टेलिभिजनका लागि गरेको कुराकानी

तपाईँको कार्यकालमा नेपाल भारत सम्बन्धका विषयमा सबैभन्दा बढी जोड केमा रह्यो ?
तपाईँको सञ्चारमाध्यमबाट यी कुरा बताउन पाउँदा मलाई धेरै खुसी लागेको छ । मेरो कार्यकालमा नेपाल–भारत सम्बन्धका बारेमा नजिकबाट नियाल्ने मौका पाएँ । अन्य देशको दाँजोमा नेपाल–भारतबिचको सम्बन्ध छुट्टै खालको छ । संसारमा जति पनि छिमेकी मुलुकहरू छन्, तीमध्ये नेपाल–भारतबिचको सम्बन्धलाई सामाजिक, आर्थिक र भौगोलिक रूपले अझ नजिक र प्रगाढ बनाएको छ । दुई छिमेकी मुलुकबिचको आपसी सम्बन्ध एकदमै राम्रो छ । र, आगामी दिनमा अझ सुमधुर हुँदै जानेछ ।

मेरो तीन वर्षे कार्यकालमा म निकै खुसी छु । योबिचमा प्रधानमन्त्री नरेन्द्र मोदीजी दुई पटक नेपाल आउनुभयो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीजी पनि दुई पटक भारत जानुभयो । त्यसले नेपाल–भारतबिचको राजनीतिक वातावरणलाई राम्रो बनाएको छ । अझ महत्त्वपूर्ण कुरा त नेपाल र भारतबिच जति पनि काम भए, ती सब ठोस काम मात्रै भए । यो बिचमा जे–जति काम भए त्यसले व्यक्तिको मात्र नभएर देशकै लागि फाइदाजनक भयो । मेरो तीन वर्षे कार्यकालमा भए/गरेका कामले दशकौँ वर्ष पछिसम्म फाइदा गर्नेछ । मेरो सरकारले मलाई नेपालमा आएर काम गर्ने मौका दियो, त्यो मेरो लागि धेरै खुसीको कुरा हो ।

नेपाल– भारत सम्बन्धको कुन क्षेत्रमा सबैभन्दा बढी उपलब्धि भयो ?
राजनीतिक, आर्थिक र सामाजिक सबै क्षेत्रमा उपलब्धिमूलक काम भएको छ । राजनीतिक क्षेत्रमा दुई पटक भारतका प्रधानमन्त्री नेपाल आउनुभयो । स्टेट भिजिट गर्नुभयो । जनकपुरमा त्यति ठुलो जन समारोह भयो । मुक्तिनाथ जानुभयो । पशुपतिमा धर्मशालाको नेपाल–भारत दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गर्नुभयो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली २०१८ मा भारत जानुभयो, उहाँले पनि उपलब्धि भएको देख्नुभएको छ ।

इन्टीग्रेटेड चेकपोस्ट वीरगन्जको व्यवस्था गरिएको छ । वीरगन्ज–रक्सौल नेपाल र भारतका लागि महत्त्वपूर्ण ट्रान्जिट प्वाइन्ट हो । यो नेपाल र भारतको लागि सबैभन्दा महत्त्वपूर्ण व्यापारिक केन्द्र हो । नेपाल–भारत दुवै देशका प्रधानमन्त्रीले पेट्रोलियम पाइप लाइनको शिलान्यास गर्नुभयो । गत असोजमा त्यो पेट्रोलियम पाइप लाइनको उद्घाटन भयो । त्यो उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिभिजनमा बोल्नुभएको थियो, ‘अब प्रति लिटर २ रुपैयाँका दरले मूल्य घटेको छ’ । त्यसको साथै तीन वटा ठुला परियोजनाको पनि घोषणा गरिएको छ । ती वाटर बेल्ट, कृषि र रक्सौल–काठमाडौँ रेलमार्ग हुन् । यी उपलब्धि आजको लागि मात्रै होइन, भविष्यसम्मको लागि हुने गरी ल्याइएको दीर्घकालीन योजनाहरू हुन् । जसले मलाई धेरै खुसी लागेको छ ।

ठुला–ठुला परियोजनहरुको सम्झौता हुन्छ तर कार्यान्वयन हुँदैन, जस्तो महाकाली सन्धि भयो, अहिलेसम्म डीपीआर तयार भएन किन ?
ती कुरा हाम्रा मनमा छन् । पञ्चेश्वरको कुरा पनि छ । यी जति परियोजनाहरू छन् त्यसबारे ठोस निर्णय हुनुपर्छ । भारत र नेपालीबिच आर्थिक सम्बन्ध अझ मजबुत हुनसक्छ । बिजुली उत्पादनकै काममा पनि नेपाल आर्थिक रूपमा गेम चेन्जर बन्दिन्छ । कतिपय सम्झौताहरू २० वर्ष पहिलादेखि भएका छन् । त्यसको बारेमा दुवै सरकारबिच छलफलै हुँदैन । छलफल त हुन्छ तर, त्यसको बारेमा ठोस निर्णय हुनुपर्‍यो नि ? त्यो हुँदैन । मलाई लाग्छ नेपाल सरकारले यी विषयमा इच्छा राख्नुपर्छ । ती परियोजना तुरुन्त अगाडि बढाउन भारत सरकार तयार छ । पञ्चेश्वर पाँच हजार मेगावाटको परियोजना भारत र नेपालको मात्रै होइन, संसारकै ठुलो परियोजना हुन सक्छ । यहाँबाट पाँच हजार मेगावाट विद्युत् उत्पादन हुन्छ । आर्थिक दृष्टिले यति ठुलो आयोजनाले दुवै देशको अर्थतन्त्रमा ठुलो परिवर्तन ल्याउँछ । यसलाई अगाडि बढाउनका लागि दुवै देशका सरकार र विशेषज्ञ बसेर छलफल गर्नुपर्छ । अहिले संसार टेक्नोजलीमा यति धेरै अगाडि गइसकेको छ । एउटा जमाना थियो, संसारको विकास हाइड्रो पावरले मात्रै हुन्छ भन्ने तर अहिले सोलारले कति ठुलो ठाउँ लिइसकेको छ । सस्तोमा सालार पावरको जडान भइरहेको छ । भारतमा त झन् बढी सोलारको प्रयोग हुन थालेको छ । यो सबै भइरहँदा पनि पञ्चेश्वर परियोजनाका लागि हामी पुरै सहयोग गर्न चाहन्छौँ ।

भारत नेपालको आर्थिक क्रान्ति हेर्न चाहन्छ ?
‘समृद्ध नेपाल, खुसी नेपाली’ हेर्ने भारतको चाहना हो । आर्थिक समृद्धि होस्, उत्पादनमा वृद्धि होस्, जसको कारणले सबै नेपाली सुखी र खुसी रहुन् । नेपालको अर्थव्यवस्था वृद्धि भयो भने हाम्रो ट्रेड, बढ्छ । पर्यटन वृद्धि हुन्छ । नेपालीहरू रोजगारीका लागि भारत जान्छन् जसले आपसी सम्बन्ध र सामाजिक सद्भावलाई प्रगाढ बनाउँछ । हामी त नेपालको विकास र समृद्ध हेर्न चाहन्छौँ । छिमेकी मुलुक समृद्ध हुँदा हामीलाई धेरै खुसी लाग्छ ।

नेपाल–भारतबिचमा व्यापार घाटा बढेको छ नि किन ?
यसको बारेमा म तपाईँलाई सिधै बताइदिन्छु । तपाईँले भन्नुभयो नेपाल–भारतबिच व्यापार घाटा छ । यो त पहिलादेखि नै हुँदै आएको छ । दोस्रो कुरा दुई÷तीनवटा चिज नोट गर्नु जरुरी छ । भारत एउटा यस्तो देश हो, जहाँबाट नेपालको लागि निर्यात बढिरहेको हुन्छ । नेपाली ‘एक्सपोर्ट टु इन्डिया राईज इन’ तर भारत त्यति ठुलो देश हो जहाँबाट आयात र निर्यात हुन्छ, जसको कारणले नेपालमा निर्यात बढ्छ । जस्तो अरुण तेस्रो परियोजना रोकिएर के फाइदा भयो ? सुचारु भएको भए आजसम्म भारतले ६ सय मेगावाट बिजुली किनिसक्थ्यो । त्यसले नेपालको आयात निर्यातमा ठुला बदलाव भइसक्थ्यो । जसरी पछिल्लो ४-५ वर्षयता नेपाली अर्थतन्त्र बढ्दैछ । यसले के देखाउँछ भने अब नेपालमा समृद्धि आउँदैछ । मानिसको लाइफ स्टाइलमा व्यापक परिवर्तन भइरहेको छ । शिक्षा र स्वास्थ्यमा पनि पहिलेको भन्दा धेरै विकास भएको छ । मानिसमा क्रयशक्ति बढेको छ । त्यसको कारण हो, दक्ष जनशक्ति उत्पादन हुनु ।

व्यापार घाटा घटाउन भारतले कुन क्षेत्रमा सहयोग गर्न चाहन्छ ?
सबै क्षेत्रमा सहयोग गर्न चाहन्छ । अहिलेको अवस्थामा सबैभन्दा महत्त्वपूर्ण पर्यटन क्षेत्र हो । भिजिट नेपाल २०२० को सुरु भइरहेको छ । नेपालमा आउने पर्यटकमा पनि भारत नै एक नम्बरमा पर्छ । तपाईँहरू पर्यटनको लागि आकर्षक विज्ञापन गर्नुहोस् । त्यो पनि व्यक्तिगत होइन, कुनै होटेल, एयरपोर्ट लगायतका ठाउँमा आकर्षक ढङ्गले विज्ञापन गर्नुहोस् । जसको कारणले भारतबाट नेपाल आउने पर्यटकहरू आउन सहयोग मिलोस् ।

भ्रमण वर्ष २०२० मा कति टुरिस्ट भारतबाट नेपाल आउलान् ?
कम्तीमा एक लाख टुरिस्ट भारतबाट भ्रमण वर्ष २०२० मा नेपाल आउने छन् । तपाईँहरूले जति सोच्नुभएको त्यसमा निकै बढी हुनेछन् । ती टुरिस्टहरूलाई आकर्षक विज्ञापन गर्नुहोस् न । तपाईँहरूले कल्पनै नगरेका टुरिस्टहरू भारतबाट नेपाल आउने छन् । बोडरहरुमा पनि विज्ञापन गर्नुपर्छ । सबै व्यापारिक नाकाहरूमा आकर्षक विज्ञापन गर्नुपर्छ । त्यो नितान्त व्यापारिक दृष्टिकोणले हुनुपर्छ ।

एक वर्षमा एक लाख टुरिस्टहरू भारतबाट नेपाल आउँछन् ?
त्योभन्दा बढी हुन सक्छन् कम हुँदैनन् । क्रस बोर्डर जहाँ छ, त्यहाँ सहज र सुरक्षित बनाउनुपर्छ । बस्ने ठाउँहरू हुनुपर्छ । बोर्डरहरूमा आवत–जावतको राम्रो व्यवस्था हुनुपर्छ । म एउटा उदाहरण दिन्छु, दुई÷तीन वर्ष पहिला नेपालगन्जमा एउटा पनि फाइभ स्टार होटेल थिएनन्, अहिले ३-४ वटा भइसकेका छन्, अभैm बन्दै छन् । त्यस्तै भैरहवामा जबरजस्त फाइभ स्टार होटेल बनाइयो, सधैँ भरिएको हुन्छ । कसरी भरियो, कहाँबाट मान्छे आए ? त्यसैले क्रस बोर्डर आकर्षक र व्यवस्थित बनाउनु टुरिजमका लागि महत्त्वपूर्ण कुरा हो । पहिला नेपालबाट कैलाश मानसरोवर यात्रामा जान धेरै गाह्रो थियो । अहिले नेपाल भएर हरेक वर्ष १२-१५ हजार भारतीयहरू कैलाश मानसरोवर जाने गर्दछन् । त्यसले सारा आर्थिक फाइदा नेपाललाई हुन्छ ।

पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिरको मोदीजीले दर्शन गरेपछि भारतीय पर्यटक कति बढे त ?
मलाई लाग्छ उहाँको भ्रमण दर्शनपछि धेरै भारतीय पर्यटक बढेका छन् । होटेलदेखि केहीको व्यवस्था नहुँदा पनि हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ जानुभयो । म नेपालको जति ठाउँमा भ्रमण गरेँ त्यहाँ मैले पर्यटनलाई नै जोड दिएँ ।

भारतीय प्रधानमन्त्रीले सुशील कोइराला प्रधानमन्त्री हुँदा सीमा समस्या कहाँकहाँ छ लेखेर ल्याउनुहोस् म समाधान गर्छु भन्नुभएको थियो ? तर समाधान भएन नि ?
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो कार्यकालमा चार पटक नेपाल आउनुभयो । मलाई लाग्छ, इण्डिभिजियोल भ्रमणमा उहाँको सबैभन्दा धेरै भ्रमण हो । नेपाल र भारतको लागि प्रधानमन्त्री तहको यो भ्रमण महत्त्वपूर्ण पनि हो । तपाईँले बोर्डरको विषयमा भन्नुभएको छ । करिब ९८ प्रतिशत बोर्डर इज डिमार्केटेड म्याप जो छ । त्यो अगाडि नै तयार गरिएको हो । जुन भारत र नेपालबिच समझदारी भएरै गरिएको हो । अहिले आएर पानीको मुहान सिमानाको विषयलाई लिएर विवाद उठाइएको छ । यसमा दुवै पक्ष बसेर छलफल गर्नुपर्छ । हामीलाई प्रकृतिले जोडेको छ, समाजले जोडेको छ, त्यसले नेपाल–भारतको सम्बन्ध छुट्टै खालको छ ।

कालापानीमा रहेको भारतीय फौज कहिले हट्छ ?
यसमा तपाईँ हामी क्लियर हुनुपर्छ । भारतको एक्सट्रनल बाउन्ड्रिज जो थियो । अहिले पनि त्यही छ । त्यसमा तलमाथि केही भएको छैन । यदि तपाईँहरू कुरा गर्न चाहनुहुन्छ भने त्यो अर्कै कुरा हो । तर, हरेक कुरा पहिला जे थिए, अहिले पनि बिलकुल त्यस्तै छन् । जुन नक्सा अहिले आएको छ, त्यो पहिलादेखि कै हो । यसमा तपाईँहरू वार्ता गर्न चाहनुहुन्छ, वार्ता हुन्छ । पहिला पनि वार्ता भएकै हो । त्यस बेला पनि प्रधानमन्त्री लेभलमै वार्ता भएको हो । हाम्रो सबै ठाउँमा खुल्ला सिमाना छ ।

सीमा समस्या दीर्घकालीन रूपमा समाधान भारत तयार हुन्छ ?
सबै समस्याको समाधान गर्ने हाम्रो दायित्व हो । किन भने हामी नेपाली जनता र नेपालप्रति उत्तरदायी छौँ । समस्या समाधान गर्न आवश्यक छ, गर्नुपर्छ । यो जुन समस्या छ, यो अहिलेको होइन ।

कालापानी समस्या त ६० वर्ष भइसक्यो नि ?
यो समस्या समाधानका लागि दुई देशको सरकारबिच उच्च स्तरीय वार्ता हुनुपर्छ । दुई देशका जनता र सरकार मिलेर समस्या समाधानमा लाग्ने हो भने केही समस्या छैन । त्यसको लागि विभिन्न दस्ताबेजहरू छन् ।

यो समस्या वार्ताबाटै हुनुपर्छ हो ?
उच्चस्तरीय कूटनीति वार्ताको विकल्पै छैन । नेपाल र भातरबीचको जुन डिप्लोमेटिक च्यानल छ, त्यो धेरै राम्रो र सुदृढ छ । यो एकदमै मजबुत पनि छ, त्यसैको माध्यमबाट यो समस्या समाधान हुन्छ । यसको लागि राजनीतिक र कूटनीतिक तहमा वार्ता गरेर समस्या हल गर्नुपर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कालापानीबाट भारतीय फौज हट्नुपर्छ भन्नुभएको छ नि ?
यसको बारेमा मैले अगाडि नै भनिसकेको छु । उच्चस्तरीय राजनीतिक र कुटनीतिक तहको वार्ताबाट हुनुपर्छ । यो धेरै पुरानो कुरा हो । त्यसले विभिन्न प्रमाणका आधारमा बसेर वार्ता गर्नुपर्छ । यसको लागि बडो सौहार्दतापूर्वक ठण्डा दिमागले वार्ता गर्नुपर्छ ।

अब सीमा समस्या समाधान हुन्छ ?
हरेक चिजको समस्याको समाधान छन्, हुनुपर्छ र हुन्छ ।

कसरी हुन्छ ?
यसमा कसैले दबाब दिनुपर्दैन, समाधान हुन्छ ।

अहिले भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीको केमेस्ट्रि मिलेको छ ?
उहाँहरुबीचको सम्बन्ध धेरै राम्रो छ । उहाँहरु एकआपस धेरै मिल्नुहुन्छ । उहाँहरुबीच वन टु वन वार्ता, कुराकानी हुन्छ । त्यसैले मलाई लाग्छ उहाँहरुबीच अत्यन्तै प्रगाढ सम्बन्ध छ ।

दुई देशबीच असमझदारी छैन ?
छिमेकी भएपछि सानातिना समस्या होलान्, त्यसलाई आपसी समझदारीबाट टुंग्याउनुपर्छ । विकास निर्माणका विभिन्न विषयहरु छन् । कुनै मुद्दाहरु धेरै पेचिला पनि होलान् तर त्यसलाई आपसी छलफलबाट हल गर्नुपर्छ । अहिलेको समस्याको बारेमा पनि हामीले छलफलको माध्यमबाट समाधान निकाल्नुपर्छ । जहाँ आर्थिक र सामाजिक र पारिवारिक कुरा जोडिएका छन् त्यहाँ वादविवाद सामान्य कुरा हुन् । किन भने हामी दुई देश हौं, हाम्रा आफ्ना चाहना, इच्छाहरु छन् । नेपाल–भारतबीच प्राचीनकालदेखि नातेदारको सम्बन्ध रहिआएको छ । हामीहरुबीच आर्थिक, सामाजिक, पारिवारिक र धार्मक सम्बन्ध छ । अनि किन असमझदारी गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू