अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०८ | Colorodo: 09:23

दरबारका ७ उपसचिवको बढुवा ‘करेक्सन’, रिक्त ३७ सहसचिव पूर्ति

बिआरटीनेपाल २०७६ पुष १ गते ८:३४ मा प्रकाशित

सहसचिवको अघिल्लो बढुवामा नपरेका सात उपसचिव सर्वोच्च अदालतको आदेशपछि सहसचिवमा बढुवा भएका छन् । त्यस्तै, अन्य ३७ सहसचिवलाई पनि ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गरिएको छ । तत्कालीन राजप्रासाद सेवाका सात जना उपसचिवहरुलाई अघिल्लो बढुवा सूचनामा बढुवा समितिले समावेश गरेको थिएन । आफूहरुलाई अन्याय भएको भन्दै तत्कालीन राजप्रासाद सेवाका उपसचिवहरू रूद्रनाथ देवकोटा, गौलोचन सैंजू, सुशील श्रेष्ठ, रामभक्त श्रेष्ठ, अद्वेतप्रकाश श्रेष्ठ, अमृतमान श्रेष्ठ र विनु बज्राचार्य कुँवर सर्वोच्च पुगेका थिए ।

सर्वोच्चले सातै उपसचिवको पक्षमा फैसला गर्दै बढुवामा समेट्नुपर्ने फैसला गरेको थियो । सर्वोच्चको फैसलापछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूची सच्याएको हो । राजदबारमा कार्यरत कर्मचारीहरु राजप्रासाद सेवामा थिए । नेपालमा राजतन्त्र अन्त्यपछि २०६४ सालदेखि निजामती सेवा ऐनअन्तर्गत विशेष सेवा खडा गरी ती कर्मचारीहरुलाई समाहित गरिएको थियो ।

बढुवाका प्रावधान एक वर्षपछि मात्रै लागू हुने भन्दै राजप्रासाद सेवाका कर्मचारीहरुलाई अघिल्लो पटक प्रकाशित बढुवाको सूचीमा बढुवा समितिले समावेश गरेकोे थिएन । उनीहरुले भने आफूहरुको सेवा नै परिवर्तन भएकाले बढुवाको प्रावधान तत्काल लागू हुनुपर्छ भन्दै सर्वोच्च गएका थिए । यसैगरी, लोक सेवा आयोगले निजामती सेवाका रिक्त ३७ सहसचिवको पदपूर्ति पनि बढुवाबाट गरेको छ ।

बढुवा समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा नेपाल प्रशासन सेवाअन्तर्गतका ३७ उपसचिवको सोमबार सहसचिवमा बढुवा गर्ने निर्णय गरेको हो । उपसचिवबाट सहसचिवमा बढुवा हुनेमा उपेन्द्रकुमार खनालदेखि कृष्णप्रसाद धितालसम्म छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू