अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२८ | Colorodo: 23:43

इलाम विकास समाजद्वारा खेलाडीहरू सम्मानित

बिआरटीनेपाल २०७६ पुष १ गते २०:३५ मा प्रकाशित

तेर्हौ दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता पाँच इलामे खेलाडीहरूलाई इलाम विकास समाज, काठमाडौँले भव्य समारोहका बिच सम्मानित गरेको छ । सम्मान पाउने खेलाडीमा इलाम सन्दकपुर गाउँपालिकाका छिरिङ गुरुङ, देउमाई नगरपालिकाकी जुनी राई, सूर्योदयकी अन्जिला तुम्बापो सुब्बा, इलामका विजय बुर्जा र माङसेबुङ गाउँपालिकाकी विनीता बुढाथोकी छन् । गुरुङले फुटबलमा स्वर्ण, राईले उसुमा स्वर्ण, सुब्बाले फुटबलमा रजत, बुढाथोकीले बिच भलिबल र बुर्जाले बास्केटबलमा कांस्य पदक जितेका थिए ।

इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो समारोहको प्रमुख अतिथि संविधान सभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ रहनु भएको थियो । सो समारोहमा पूर्व मन्त्री जितु गौतम, मा. अगम बान्तवा, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, एन्फाका केन्द्रीय सदस्य निरोज खड्की र समाजसेवी डम्बर खड्का अतिथिका रूपमा रहनु भएको थियो । समारोहमा प्रमुख अतिथि नेम्वाङले विजयी खेलाडीहरूलाई बधाई ज्ञापन गर्दै विभिन्न रोचक प्रसङ्गहरू उल्लेख गर्नु भएको थियो । इलामे खेलाडीहरूले विभिन्न खेल पनि खेल्दा रहेछन् भन्ने स्थापित गरिदिएको पूर्व सभामुख नेम्बाङले बताउनु भयो ।

‘उहाँहरूले हाम्रो शिर ठाडो बनाइदिनुभएको छ । हाम्रो सम्मान बढाइदिनुभएको छ‘ भन्नु हुँदै अप्ठेराहरूका बाबजुद देशकै शिर ठाडो पारिदिनुभएको छ ।’ सागमा तीन दिनसम्म भारतको ‘बोल्ती बन्द’ भएको पनि उल्लेख गर्नु भयो । नेम्वाङले ‘तेस्रो दिनपछि जब मेडलमा नेपाल पछाडि पर्‍यो भारतको दबदबा कायम छ भन्न थाल्यो’, ,उल्लेख गर्दै ‘त्यो हिसाबमा हामीले मेडलहरू ल्यायौँ ।’ बताउनु भएको थियो । कार्यक्रममा सम्मानित खेलाडीहरूलाई सम्मान पत्रसहित नगदले सम्मान गरिएको थियो । स्वर्ण, रजत र कांस्य पदक विजेतालाई क्रमशः २५ हजार, २० हजार र १५ हजार हस्तान्तरण गरिएको थियो।

समारोहमा अतिथि बान्तवाले मन्तव्य राख्दै विजयी खेलाडीहरूका कारण इलाम र सिङ्गो देशको इज्जत र प्रतिष्ठा बढेको बताउनु भयो । यसै गरी उसु खेलाडी राईले जिल्लाका तर्फबाट गरिएको सम्मानले विशेष महत्त्व राख्ने बताइन् । यसले खेलाडीको आत्मबल बढाएको उल्लेख गर्दै उनले खेल क्षेत्रलाई करिअर बनाउन चाहनेलाई प्रोत्साहन गर्ने बताउनु भयो । यसै गरी कार्यक्रम प्रायोजक एवं समाजसेवी खड्काले इलामका गाउँबाट आएर पदक जित्ने खेलाडीहरूप्रति गौरव महसुस भएको बताउनु भएको थियो । यसै गरी “चियालगायत कृषिमा चिनिएको इलामको पहिचान खेलमा पनि स्थापित भएको” अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य निरोज खड्गीले बताउनु भएको थियो । इलाम विकास समाजका महासचिवले सञ्चालन गर्नु भएको सो समारोहमा सचिव अर्जुन भट्टराईले स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू