अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५५ | Colorodo: 04:10

मधुमेह (चिनी) का रोगीले खाने कुरा

बिआरटीनेपाल २०७६ पुष १ गते १२:३९ मा प्रकाशित

मधुमेह (चिनी) का रोगीले खाने कुरा

ब्रोकाउली

ब्रोकाउलीमा बेटा क्यारोटिन नामक एीन्टअक्सिडेन्ट पाइन्छ । जसले मधुमेह रोगीलाई फाइदा पुर्‍याउँछ । यसमा भिटामिन ‘ए’ प्रचुर मात्रामा पाइने हुँदा दाँत हड्डी, छाला र आँखालाई फाइदा पुर्‍याउँछ । यो फोलेट र फाइबरको खानी भएका कारण स्वास्थ्यका लागि निक्कै लाभदायक मानिन्छ ।

प्याज
प्याजमा एन्टिअक्सिडेटको मात्रा बढी हुने भएकाले यसले मधुमेहका रोगीलाई फाइदा पुर्‍याउँछ । प्याजमा मधुमेहका रोगीलाई फाइदा पुर्‍याउने फाइबर, पोटासिम र फोलेटजस्ता तत्त्व हुने भएकाले यसलाई खानामा संलग्न गर्न अत्यावश्यक छ । सन २००२ मा अमेरिकन जर्नल अफ क्लिनिक न्युट्रिसनले गरेको अनुसन्धान अनुसार प्याजमा पाइने फ्लेभोननोइड क्वेरसेटिनले दीर्घ रोग लाग्नबाट बचाउँछ ।

एभोकाडो
नास्पातीजस्तो देखिने फल एभोकाडो स्वास्थ्यका दृष्टिले निक्कै राम्रो मानिन्छ । मधुमेह र एभोकाडो बीच निक्कै सकारात्मक सम्बन्ध रहेको छ । सन २००८ मा अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिसनले प्रकाशित गरेको रिपोर्ट अनुसार एभोकाडो खाने महिलाहरूमा दोस्रो प्रकारको मधुमेह हुने खतरा २५ प्रतिशतले कम हुन्छ ।

कुरिलो
स्वादका दृष्टिकोणले मात्र हेर्ने हो भने पनि कुरिलो धेरैजसो मानिसको मन पर्ने तरकारी हो । कुरिलोमा ५ ग्राम कार्बोहाइड्रेट, २० प्रतिशत क्यालोरी र करिब २ ग्राम फाइबर पाइन्छ । यसमा बिशेषगरी ग्लुताथायन नामक एन्टिअक्सिडेन्ट पाइने भएकाले यसले बुढ्यौलीको असरलाई फिक्का बनाउने गर्दछ भने विभिन्न रोगबाट मुक्त गराउँछ । मधुमेह, मुटु रोग र क्यान्सरबाट यसले बचाउँछ । सन २०१२ मा ब्रिटिस जर्नल अफ न्यूट्रिसनले गरेको एक अनुसन्धानका अनुसार कुरिलोले रगतमा चिनीको मात्रालाई राम्रो अवस्थामा राख्ने गर्दछ भने इन्सुलिनको मात्रालाई बढाउने काम गर्छ ।

सिमी
सिमीमा प्रचुर मात्रामा फाइबर पाइन्छ । यो प्रोटिनको राम्रो स्रोत मानिन्छ । जसका कारण मधुमेहका रोगीले यसलाई आफ्नो खानामा सामेल गराउनु आवश्यक छ । सन २०१२ मा गरिएको एक अनुसन्धानका अनुसार टुसा उम्रिएको सिमीको तरकारी दिनमा एक कप खाने गर्नाले रगतमा चिनीको मात्रामा सन्तुलित हुन्छ भने ब्लड प्रेसर पनि कम गर्छ ।

गाजर
गाजरलाई भिटामिन ‘ए’को खानीका रूपमा लिइन्छ । यो भिटामिन रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि आवश्यक तत्त्व मानिन्छ । यसले मधुमेह रोगलाई राहत प्रदान गर्दछ भने केही क्यान्सरबाट मुक्ति दिने मायो क्लिनिकले बताएको छ ।

माछा
सन २०१० को डायटरी गाइडलाइन फर अमेरिकाले हप्तामा दुई पटक माछा खान सुझाएको छ । माछामा ओमेगा ३ फ्याटी एसिड पाइने हुँदा यसले अरहाथमियास (असामान्य मुटुको धड्कन) को जोखिमलाई कम गर्ने गर्दछ । मधुमेहका रोगीले माछाको सेवन गर्नु लाभदायक मानिन्छ ।

लसुन
खानालाई मीठो बनाउन हामीले प्रयोग गर्ने लसुनमा औषधि गुणसमेत रहेको छ । यसले उच्च कोलेस्ट्रोल, मुटु रोग, उच्च रक्तचाप र क्यान्सरको खतरालाई टाढा राख्छ ।

स्याउ
भनिन्छ दिनको एउटा स्याउले डाक्टरलाई टाढा राख्छ । सन् २०१२ मा ओहियो स्टेट युनिभर्सिटीले प्रकाशित गरेको जर्नलमा चार हप्तासम्म दिनमा एउटा स्याउ सेवन गर्नाले नराम्रो कोलेस्ट्रोललाई ४० प्रतिशतले घटाउने गर्छ । कोलेस्ट्रोल एउटा यस्तो तत्त्व हो जसले मुटु रोगलाई मद्दत गर्छ । यसका साथै स्याउमा मधुमेह कम गर्ने तत्त्व पनि पाइन्छ । हाभार्ड स्कुल अफ पब्लिक हेल्थले दुई लाख मानिसहरूको स्वास्थ्य स्थिति जाँच गर्दा हप्तामा ५ वा सोभन्दा बढी स्याउ खाने मानिसमा मधुमेहको खतरा २३ प्रतिशतले कम हुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू