अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

बृटिश गोर्खा मामिला पुनरावलोकन गर्न नेपाल इच्छुक

बिआरटीनेपाल २०७६ मंसिर २९ गते ६:२५ मा प्रकाशित

बेलायतले बृटिश सेनामा नेपाली महिला पनि लिने तयारी गरिरहेको बेलामा नेपालले बेलायती सेनामा नेपालीलाई पठाउने बारेको नीतिमा नै पुनरावलोकन गर्न चाहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उद्धृत गर्दै समाचार समिति रोयटर्सले जनाएको छ ।

बेलायतले कति महिलालाई बेलायती सेनामा लिने भन्ने प्रष्ट भएको छैन । यद्यपि दुईसय वर्षको इतिहासमा सन् २०२० मा पहिलोपटक नेपाली महिलालाई पनि बृटिश सेनामा तालिम दिने तयारी गरिएको बेलायती मिडियाले समाचार बनाएका छन् ।

बेलायतले गोर्खा सैनिकको रुपमा सन् १८१५ देखि नेपालीलाई लिन थालेको हो । भारतमा बेलायतको उपनिवेश सकिएपछि बृटिश गोर्खाको बारेमा नेपाल, बेलायत र भारतबीच त्रिपक्षीय सम्झौता भएको थियो । सन् २००७ मा बेलायतले बृटिश गोर्खामा महिला पनि लिने जनाएको थियो । तर, छनोट प्रक्रिया चाँडै सकिने जनाइएको छ ।

त्रिपक्षीय सम्झौताका कतिपय प्रावधान अहिले अप्रासंगिक भएको र यसबारेमा बेलायतलाई भनिएको परराष्ट्रमन्त्रीलाई उद्धृत गर्दै रोयटर्सको समाचारमा जनाइएको छ । नेपालले छनोट प्रक्रियामा आफ्नो पनि सहभागिता खोज्नुका साथै सेवा, सुविधा र पेन्सनलगायतका विषय पनि उठाउन खोजेको जनाइएको छ ।

हाल बेलायती सेनामा बृगेड अफ गोर्खाको रुपमा करिब तीनहजार नेपाली रहेको र उनीहरु इराक, अफगानिस्तान र बाल्कन क्षेत्रको लडाईमा खटिइसकेको समेत सो समाचारमा जनाइएको छ । यसअघि नेपालको एउटा संसदीय समितिले पनि नेपाली महिलालाई बृटिश सेनामा लैजाने व्यवस्था नगर्न सरकारलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू