अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५ | Colorodo: 06:40

लोकतान्त्रिक व्यवस्थामा धमिरा लाग्यो – कृष्ण पहाडी

बिआरटीनेपाल २०७६ मंसिर २९ गते ६:१८ मा प्रकाशित

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले लोकतान्त्रिक ब्यवस्थामा धमिरा लागेको बताउनुभएको छ । यसकोे बेलैमा उपचार नगरे समस्या बढ्दै जाने उहाँले बताउनुभयो । संस्थाको रुपन्देही शाखाले आइतवार बुटवलमा गरेको पत्रकार सम्मेलमा पहाडीले लोकतन्त्रमा ग्रहण लागेकाले त्यसको मुक्ति जरुरी रहेको बताउनुभयो ।

‘कमजोर नै भएपनि जनताले संविधान बनाएका छन् । तसर्थ लोकतन्त्र जोगाउने संविधान बचाउन जनता नै अग्रसर हुनुपर्छ । नभए जनता स्वयम कमजोर भएको ठहरिन्छ,’ पहाडीको भनाई थियो । पहाडीले अहिले संघ, प्रदेश र स्थानीय तहमा भ्रष्टाचार मौलाउनुको मुख्य कारक खर्चिलो निर्वाचन भएको ठहर गर्नुभयो । निर्वाचन महंगो भएको नेकपाका प्रवक्ता र शीर्ष नेताहरुले सार्वजनिक रुपमा बताउने गरेको उहाँको भनाई छ । कुशासन र सुशासनले नै लोकतन्त्रको भविष्य निर्धारण गर्ने पहाडीले बताउनुभयो ।

नेपालको लोकतान्त्रिक व्यवस्थामा लागेको धमिरा हटाउन कुनै राजनितीक दलले नसकेको आरोप लगाउँदै उहाँले भ्रष्टाचार र विकृती हटाउन राजनितीक दलको इच्छाशक्ति नभएको बताउनुभयो । समाजका सभापति उत्तम पुडासैनीले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई स्वाभिमानका रुपमा प्रस्तुत गरी त्यहाँ रहेका भारतीय सेना हटाउने पहल गर्न सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू