अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३६ | Colorodo: 02:51

श्रीलङ्काले डेङ्गु प्रतिरोधी ब्याक्टेरिया ‘वोल्बाचिया’ को प्रयोग गर्दै

बिआरटीनेपाल २०७६ मंसिर २८ गते ७:०३ मा प्रकाशित

कोलम्बो, श्रीलङ्काको सरकारले डेङ्गुलाई निर्मूल गर्नका लागि विशेष प्रकारको ब्याक्टेरियालाई प्रयोग गर्ने भएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूले बिहीबार श्रीलङ्काको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी भनेका छन्, “सरकारले अब डेङ्गुको सङ्क्रमणलाई रोक्न विशेष प्रकारको ब्याक्टेरियाको प्रयोग तथा परीक्षण गर्न लागेको छ ।”

मन्त्रालयका उप–महानिर्देशक पावा पालिहवादानले भन्नुभयो, “डेङ्गु सङ्क्रमणलाई रोक्न ‘वोल्बाचिया’ नामक एक प्रकारको ब्याक्टेरियालाई कोलम्बोका नगर क्षेत्रमा सन् २०२० को फेब्रुअरीदेखि छोडिनेछ । नगरका घरहरूमा लामखुट्टेका फुल र ‘फुड क्याप्सुल’ पानीमा दुई हप्तासम्म बन्द गरिनेछ । यसबाट वयस्क लामखुट्टे पैदा हुनेछन् र तिनीहरूलाई डेङ्गु प्रतिरोधी ब्याक्टेरिया फैलाउनका लागि खुला स्थानमा छोडिनेछ ।”

विश्व लामखुट्टे नियन्त्रण कार्यक्रमका अनुसार ‘वोल्वाचिया’ ले लामखुट्टेको भाइरस सङ्क्रमण गर्ने क्षमतालाई कमजोर पारिदिने गर्छ । यसका कारण लामखुट्टेबाट मानिसमा भाइरस सङ्क्रमण हुने र आत्मनिर्भरता व्यापक मात्रमा वृद्धि हुन्छ । ‘वोल्बाचिया’ ले लामखुट्टेबाट सर्ने डेङ्गु, एलो फेवर र जाइकाजस्ता भाइरसहरूसँग लड्छ र भाइरस सङ्क्रमण गर्ने क्षमतालाई कम गर्छ ।

लामखुट्टेबाट सर्ने रोग नियन्त्रणका लागि ‘वोल्वाचिया’को परीक्षण गर्ने पहिलो मुलुक अस्ट्रेलिया हो र विगत आठ वर्षमा लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने यी समस्या अस्ट्रेलियामा नदेखिएको बताउने गरिएको छ ।

सन् २०१७ मा श्रीलङ्कामा एक लाख ८६ हजार १०१ जनालाई डेङ्गुको सङ्क्रमण भएको थियो भने ३२० जनाको मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालय सरुवा रोग नियन्त्रण एकाइका अनुसार सन् २०१९ मा श्रीलङ्कामा डेङ्गुको सङ्क्रमण भएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या ८६ हजार ४८४ रहेको छ । गोरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू