अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०० | Colorodo: 10:15

अब ब्रेक्जिट समस्याको समाधान सुरू गरौं – प्रधानमन्त्री बोरिस जोनसन

बिआरटीनेपाल २०७६ मंसिर २८ गते ०:२६ मा प्रकाशित

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अब ब्रक्जिट समस्याको समाधान सुरू गर्न आग्रह गर्नुभएको छ ।बिहीबार भएको निर्वाचनमा उनी नेतृत्वको कन्जरभेटिभ पार्टीले अत्यधिक बहुमतका साथ जित हात पारेपछि जोन्सनले आफ्नो पार्टीको ’असाधारण’ विजयले ब्रेक्जिट विवादको समाधान नजिक पुगाएको बताउँदै अब समस्याको समाधान थाल्नुपर्ने बताउनुभएको हो ।

१० डाउनिङ् स्ट्रिटमा बोल्दै उहाँले पहिलोपटक कन्जरभेटिभलाई मतदान गर्ने लेबर पार्टीका समर्थकहरुको विश्वासलाई मर्न नदिनेसमेत उल्लेख गर्नुभयो । अब जोनसनलाई बेलायतलाई यूरोपेली संघबाट बहिर्गमन गराउने कार्यका लागि त्यहाँका जनताले फेरि एक पटक कन्जरभेटिभ पार्टीलाई बृहत अवसर दिएका छन् । तर, यसअघि गरिएका पटक पटकका प्रयासपछि पनि ब्रेक्जिट प्रक्रियालाई टुङ्ग्याउन नसकिएको दृष्टान्तलाई हेर्ने हो भने जोनसनलाई अवसरसँगै उत्तिकै चुनौती पनि छ ।

बिहीबार ६५० सदस्यका लागि भएको निर्वाचनमा जोनसनको पार्टीले ३६४ सीट प्राप्त गर्न सफल भएको छ । निर्वाचनमा ऐतिहासिक सफलता पाएपछि नयाँ सरकारको गठन प्रक्रियाका लागि आफ्नो पार्टीको जीतबारे महारानी एलिजावेथ द्वित्तीयलाई औपचारिकरूपमा जानकारी गराउन कन्जरभेटिभ पार्टीका नेता तथा प्रधानमन्त्री बोरिस जोनसन शुक्रबार राजदरबार पुग्नुभएको थियो ।

बेलायतको संसदीय निर्वाचनमा जोनसनको दल कन्जरभेटिभ पार्टी सन् १९८० पछि भारी बहुमतका साथ विजय भएको हो । तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरको नेतृत्वको सरकारपछि कन्जरभेटिभ पार्टीले अपार बहुमत पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू