अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

बेलायत, इजराइल र फ्रान्सद्वारा आफ्ना नागरिकलाई भारतको उत्तरपूर्वी राज्यमा नजान आग्रह

बिआरटीनेपाल २०७६ मंसिर २७ गते २३:५१ मा प्रकाशित

भारतमा नागरिकता संशोधन विधेयक विरोधमा हिंसा चर्किँदा बेलायत, इजराइल र फ्रान्स सरकाले आफ्ना नागरिकलाई भारतको उत्तरपूर्वी क्षेत्रमा नजान आग्रह गरेका छन् । ती देशहरुले त्यहाँ रहेका आफ्ना नागरिकलाई लामो समय त्यस क्षेत्रमा नबस्नसमेत आग्रह गरेका छन् ।

इजराइलको विदेश मन्त्रालयले आफ्ना नागरिकलाई ट्राभल एड्भाइजरी (यात्रा सुझाव) जारी गर्दै भारतको असममा नजान आग्रह गरेको हो । इजराइलले भारतको असममा हिंसा बढिरहेको, यात्राका लागि विमानस्थलबाट हुने उडान अनियमित भएको र इन्टरनेटमा समस्या उत्पन्न भएकोले त्यस क्षेत्रमा नजान आग्रह गरेको हो ।

इजराइलले भारतको मनिपुर, मेग्हालय, मिजोरम, नागाल्यान्ड र अरुणाञ्चल प्रदेशमा रहेका आफ्ना नागरिकलाई भ्रमण छोट्याएर फर्किनसमेत आग्रह गरेको छ । त्यहाँ रहेका इजराइली नागरिकलाई प्रहरीको निर्देशन पालना गर्न र तुरुन्त भारतस्थित इजराइली दूतावासमा सम्पर्क गर्नसमेत आग्रह गरिएको छ ।

बेलायतले पनि उत्तरपूर्वी भारतमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन, त्यहाँ हुने घटनाका विषयमा स्थानीय सञ्चारमाध्यममा अपडेट रहन र त्यहाँको स्थानीय अधिकारीको निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गरेको छ ।

फ्रान्सले पनि उत्तरपूर्वी भारतमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ । असमका कतिपय स्थानहरुमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । गुवाहाटी, डिब्रुग, बारपेटा, नालबारी, जोरहट, झोलाघाट, सोन्टीपुर, तेजपुर र विश्वानाथमा अनिश्चिकालीन कर्फ्यू जारी गरिएको छ । डिसेम्बर २२ देखि त्यहाँका स्कुल तथा कलेजहरु बन्द गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू