अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५१ | Colorodo: 16:06

बहुपति प्रथामा बन्यो ‘सहायक श्रीमान्’, हेर्नुस् ट्रेलर

बिआरटीनेपाल २०७६ मंसिर २७ गते १२:०३ मा प्रकाशित

काठमाडौँ, बहु चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरू’को सफलतापछि निर्देशक गणेश पाण्डेले ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) नामक नयाँ डकुमेन्ट्री फिल्म निर्माण गरेका छन् ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म राष्ट्रिय सभागृहमा आयोजित काठमाडौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा शुक्रवार दिउँसो १ बजे रिलिज हुँदैछ । कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको यो डकुमेन्ट्री बहुपति प्रथामा आधारित छ ।

घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलो पटक पर्दामा उतारेका हुन् ।

‘हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । उनीहरू माया र काम मात्रै बाँड्दैनन्, श्रीमती पनि एक आपसमा बाँड्छन् । जुन हाम्रो पुस्ताका लागि अत्यन्तै अनौठो हो । एउटै श्रीमतीसँग रमाइरहेका र विद्रोह गरेका तीन वटा परिवारको कथामा हामीले यो डकुमेन्ट्री निर्माण गरेका छौँ ।,’

निर्देशक पाण्डेले भने, ‘करिब ४ वर्षको छायाङ्कन र रिसर्चबाट यो डकुमेन्ट्री निर्माण भएको छ । हाम्रो पुस्ताका लागि यो डकुमेन्ट्री नयाँ विषय हो । त्यसैले पनि हाम्रो मेहनतलाई दर्शकहरूले मन पराइदिनुहुन्छ भन्ने आशा लिएको छु ।’ यो वृत्तचित्रको लेखन निर्देशन पाण्डेले नै गरेका हुन् ।

साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको डकुमेन्ट्रीको प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल छन् ।

यसै गरी, ईश्वर कोइराला, चन्द्रमान डङ्गोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका हुन् । सङ्गीत संयोजन सङ्गीतकार जुगल डंगोलले गरेका छन् ।

प्रतिक्रिया