अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२७ | Colorodo: 15:42

सेल्फी किङ्गको गीत सार्वजनिक

बिआरटीनेपाल २०७६ मंसिर २७ गते ११:५५ मा प्रकाशित

अभिनेता विपिन कार्कीलाई किङ्ग अवतारमा प्रस्तुत गरिएको फिल्म ‘सेल्फी किङ्ग’ पोस्टर र टिजरपछी निर्माण टिमले गीत सार्वजनिक गरेको छ । सार्वजनिक लोक शैलीको गीतमा सेल्फी किङ्ग उर्फ विपिनसँगै केकी अधिकारी र भीम फेदी गाईज फिचर्ड छन् । कथाअनुसार नै फिल्ममा आउने गीतमा कार्यक्रमको माहौललाई देखाइएको छ । गाउँमा आयोजित एक सांस्कृतिक कार्यक्रमको माहौललाई गीतमा देखाइएको छ ।

’जाली रुमाल’ बोलको गीतमा बि पाण्डेको शब्द , सुभाष भुसालको सङ्गीत रहेको छ भने यसमा अन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर रहेको छ । गीतलाई भीम फेदी गाइजकै निर्मल लामाले कोरियो ग्राफ गरेका हुन् । सोलुको सल्लेरीमा छायाङ्कन गरिएको गीतमा केकी कलाकारकै रूपमा सांस्कृतिक कार्यक्रममा सहभागी भएकी हुन् । जहाँ विपिन हाँस्यकलाकारको रूपमा उपस्थित छन् । गीत मन परेकै कारण केकीले गीतमा मात्र भए पनि देखिन तयार भएकी हुन् ।

‘सेल्फी किङ्ग’ नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने सङ्घर्षको कथा यसमा देखाइनेछ । ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । उनको यो डेब्यु फिल्म हो । विपिनसँगै फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले एक गीतमा अभिनय गरेकी छिन ।

गत वर्षको सफल फिल्म ‘प्रसाद’ का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रूपमा यसलाई निर्माण गरेका हुन् । फिल्ममा विशालकै लेखन, सुसन प्रजापतिको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुसालको सङ्गीत, बि. पाण्डेको शब्द, अन्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको सङ्गीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष् पौडेलको कस्ट्युम डिजाइन, हिमाल केसीको द्वन्द्व, उत्तम न्यौपानेको साउन्ड डिजाइन, जीवन थापाको सम्पादन र कलर करेक्सन , विनोद पौडेलको स्टिल फोटोग्राफी र साजन थापाको कला निर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रबल कोइराला रहेका छन् ।

दिनेश राउत, निर्माता: फिल्ममा हामीले गीतलाई पनि कथा अनुसार नै बगाएका छौ । अर्थात् गीतकै लागि भनेर छुटै तडकभडक गरिएको छैन । गीत आउँदा फिल्म हेरिरहेका दर्शकलाई कथा र परिवेश भन्दा बाहिर नलगोस् भनेर नै हामीले यसलाई गाउँमा हुने कार्यक्रमकै शैलीमा खिचेका हौँ । सोलुको सल्लेरीमा सांस्कृतिक कार्यक्रम हुँदा कसरी गरिन्छ र कास्तो हुन्छ भन्ने जस्ताको त्यस्तै गीतमा छ । आफू निर्देशक भए पनि मलाइ विशालको आइडिया मन परेर यसमा निर्माताको रूपमा रहेको छु । एक हाँस्यकलाकारको जीवनीमा आउने उतारचढावलाई यसमा देखाएका छौ । हामीले आफ्नो माटो सुहाउँदो कथामा फिल्म बनाएका छौ , जसको आभास यसको ट्रेलर पनि दिनेछ ।

केकी अधिकारी: गीत आफैलाई मन परेर नृत्य गर्न राजी भएकी हुँ । गीत झट्टै मन पर्ने किसिमको छ । साथै यो गीतमा म केकी अधिकारी नै बनेर प्रस्तुत भएकी छु । कथा अनुसार नै गीत फिल्ममा आउने भएकोले पनि गीत गर्न राजी भएकी हुँ । साथै गीतको कोरियोग्राफी र यसलाई खिच्ने शैली पनि मन पर्‍यो । टिम राम्रो र छ गीतलाई लिएर आइडिया राम्रो लाग्यो त्यसैले गीतमा देखिएकी हुँ ।

प्रतिक्रिया