अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१२ | Colorodo: 16:27

नेपाल साहित्य महोत्सव पोखरामा सुरु

बिआरटीनेपाल २०७६ मंसिर २७ गते १:५२ मा प्रकाशित

आईएमई नेपाल साहित्य महोत्सवको आठौं संस्करण पोखरामा शुक्रबारबाट सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पानसमा बत्ती बालेर महोत्सव उद्धघाटन गरेपछि नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको विद्वत् प्रवचनबाट महोत्सव सुरु भएको हो ।

महोत्सव पर्यटकीय नगरी पोखरामा चार दिनसम्म चल्ने छ।मंसिर ३० सम्म फेवातालको किनारमा संचालन हुने कार्यक्रममा १०० भन्दा बढी वक्ताहरुले विभिन्न विषयमा विमर्श गर्नेछन्। उद्धघाटनकै दिनमा वर्षाले केही बाधा उत्पन्न गरे पनि त्यसले महोत्सवमा सहभागी हुने देशका विभिन्न भाग र विशेषगरी काठमाडौंबाट आएका वक्ता, प्रस्तोता तथा दर्शकहरुको जोशलाई भने रुझाउन सकेको छैन।

महोत्सव उद्धघाटन सत्रमा देवेन्द्रराज पाण्डेले ’लोकतन्त्रको विकास र सार्वजनिक दायित्व’का बारे प्रवचन दिनुभएको थियो । उद्घाटन सत्रमा ममता, मनिता र अनिता सुन्दास ’सुन्दास सिस्टर्स’ले वेदका ऋचा वाचन गर्नुभयो , आएइ ग्रुपका अध्यक्ष चन्द्र ढकालले स्वागत मन्तव्य ब्यक्त गर्नुभयो ।

यससँगै पहिलो दिनको सत्रमा ’लेक रहे पो रहला लेकसाइड’, ’समानताको लडाइँ’, ’हास्यव्यंग्य – भैरव अर्याल मीमांशा’, र ’संघीयताको सकस’ विषयमा छलफल हुने छ। र साँझको अन्तिम कार्यक्रम ’वाह ! गजल’ रहनेछ।

काठमाडौंमा आयोजना गरिएको पहिलो संस्करणबाट अहिले पोखरामा भइरहेको आठौं संस्करणसम्म आइपुग्दा नेपाल साहित्य महोत्सवले साहित्य अनुरागी तथा विद्वत् वर्गमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। बुकवर्म फाउन्डेसन तथा पोखराको र्यान्डम रिडर्स सोसाइटीले संयुक्तरुपमा महोत्सवको आयोजना गरेका हुन्।

महोत्सवका निर्देशक अजित बरालका अनुसार यसपालि ४० भन्दा बढी सत्रहरु हुनेछन्। आहुति, प्रदीप गिरी र सौरभका भने एकल सत्र रहनेछन्। केही सत्रहरु भने समानान्तर रुपमा पनि संचालन हुनेछन्। दक्षिण एसियाका लेखकलाई दिइने डिएससी पुरस्कार महोत्सवको अन्तिम दिन घोषणा हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू