अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०३ | Colorodo: 17:18

उपसभामुखको सिफारिसमा सर्वोच्चको प्रश्न

बिआरटीनेपाल २०७६ मंसिर २६ गते ६:२३ मा प्रकाशित

सभामुखले अध्यक्षता गर्ने राष्ट्रिय सूचना आयोगमा पदाधिकारी नियुक्ति सिफारिस समितिको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङ्फेले गरेको विषयमा सर्वोच्च अदालतले प्रश्न उठाएको छ । आयोगमा उपसभामुख तुम्बाहाङ्फेको अध्यक्षतामा गत आइतबार बसेको बैठककले प्रमुख सूचना आयुक्तमा पूर्व सञ्चार सचिव महेन्द्रमान गुरुङ र सूचना आयुक्तहरूमा कमला थापा ओली र दीपक मैनालीको नाम सिफारिस गरेको थियो ।

सिफारिसको आधारमा मन्त्रीपरिषद् बैठकले गत सोमबार उनीहरूलाई नियुक्त गरेको थियो । नियुक्तिको सिफारिस सूचनाको हक सम्बन्धी ऐन्को दफा ११ को व्यवस्था विपरीत भएको भन्दै मंगलबार अधिवक्ता विष्णु लुइँटेलसमेतले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । रिटमाथि आज सुनुवाई गर्दै न्यायाधीश मनोज शर्माको इजलासले आगामी आइतबार रिट निवेदककर्ता र उपसभामुख तुम्बाहाङ्फे पक्षलाई कारणसहित उपस्थित हुन भनेको सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार शर्माको इजलासले उपसभामुख तुम्वाहाङ्फे पक्षलाई आयोगमा नियुक्ति सिफारिस गर्नु पर्नाको कारण महान्यायधिवक्ताको कायालयमार्फत पठाउन भनेको छ ।

रिट निवेदकलाई अन्तरिम आदेश जारी गर्नु पर्ने कारणसहित उपस्थित हुन भनिएको छ । ऐन्को दफा ११ मा प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको नियुक्तिका लागि सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री वा राज्यमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने उल्लेख छ । अहिले सभामुख पद रिक्त भएको बेला उपसभामुख तुम्बाहाङ्फेले ऐन्को व्यवस्था विपरित सिफारिस गरेको जिकिर रिटमा गरिएको थियो । ऐनले सभामुखको अधिकार उपसभामुखले प्रयोग गर्ने कल्पना नगरेको गर्दै सिफारिस खारेज गर्न माग रिटमा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू