अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३० | Colorodo: 16:45

राष्ट्रसङ्घको अदालतमा सू ची, रोहिंग्या मुसलमानविरुद्ध नरसंहार नगरेको दावी

बिआरटीनेपाल २०७६ मंसिर २६ गते ६:११ मा प्रकाशित

म्यानमारकी नेतृ आङ साङ सू चीले आफ्नो देशका सुरक्षाकर्मीले अल्पसङ्ख्यक रोहिंग्या मुसलमानविरुद्ध आम नरसंहार गरेको भन्ने आरोप अस्वीकार गर्नुभएको छ । द हेगमा अवस्थित इन्टरन्याश्नल कोर्ट अफ जस्टिसमा सम्बोधन गर्दै नोबेल शान्ति पुरस्कारबाट सम्मानित नेतृ सू चीले लाखौँलाई रखाइन राज्य छाड्न देशभित्रको आन्तरिक सशस्त्र द्वन्द्वले बाध्य पारेको जिकिर गर्नुभयो । उहाँले म्यानमारका सुरक्षा निकायले असमानुपातिक किसिमले बल प्रयोग गरेको हुन सक्ने भने स्वीकार गर्नुभयो । तर त्यसमा नरसंहारको उद्देश्य नरहेको उहाँको भनाइ थियो । आङ सान सू चीले प्रत्यक्षदर्शीले आफ्नो बयानमा उल्लेख गरेका आमहत्या, सामूहिक बलात्कार र नाबालिगहरूलाई भवनमा आगजनी गरिएका विषयमा भने केही उल्लेख गर्नुभएको छैन ।

म्यानमारविरुद्धको मुद्दा द गाम्बीयाले अदालतमा ल्याएको थियो । उसले मुद्दाको सुनुवाइ सम्पन्न नभएसम्म रोहिंज्याहरूलाई संरक्षण गर्न विशेष कदम चाल्नुपर्ने माग गरिरहेको छ । आफ्नो शुरूवाती सम्बोधनमा उनले म्यानमारविरुद्धको मुद्दा अपूरो र गलत भएको उल्लेख गर्नुभयो । रोहिंग्याहरूको बसोबास रहेको रखाइन राज्यमा भइरहेको समस्या शताब्दिऔँदेखि अस्तित्वमा रहेको सू चीको दाबी थियो ।

बौद्ध धर्मावलम्वीहरूको बाहुल्य रहेको म्यानमारमा सन् २०१७ मा सैनिक कारबाहीमा हजारौँ रोहिंग्याहरू मारिएका थिए भने सात लाखभन्दा बढी भागेर छिमेकी बाङ्ग्लादेश पुगेका थिए । म्यानमारले आफूले सधैँ रखाइन राज्यमा रहेको उग्रवादीहरूको जोखिमसँग जुधिरहेको बताउने गरेको छ । सू चीले अदालतमा पनि त्यही अडान दोहोर्याएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू