अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३४ | Colorodo: 12:49

कालापानीका सन्दर्भमा सत्य स्वीकार्न मन्त्री बास्कोटाको भारत सरकारलाई चेतावनी

बिआरटीनेपाल २०७६ मंसिर २६ गते ६:०८ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले कालापानीका सन्दर्भमा सत्य स्वीकार्दै अघि बढे भारत सरकारलाई नै फाइदा हुने चेतावनी दिनुभएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सत्यहरुलाई स्वीकार गर्दै अगाडि बढेमा भारतलाई नै फाइदा हुने नेपाल सरकारले विश्वास लिएको बताउनुभयो ।

मन्त्री बास्कोटाले कालापानी सम्बन्धमा भारतमा नेपाल सरकारले दूत पठाउनेबारे विषय आफूले मिडियाबाटै थाहा पाएको बताउनुभएको छ । उक्त बिषय मिडियामा चर्चा भयो र त्यहीँ सेलाएको उल्लेख गर्दै उहाँले सरकारले कुनैपनि बेला दूत पठाउन सक्ने जानकारी गराउनुभयो । नेपाल भारत सीमा विवाद आजको विषय नरहेको उल्लेख गर्दै बाँस्कोटाले पुरानो विषय भएकोले लामो प्रक्रियामा समाधान गर्न तथ्य सत्यका आधारमा कन्भिन्स गर्ने प्रक्रियामा नेपाल सरकार रहेको प्रस्ट पार्नुभयो ।

मन्त्री बाँस्कोटाले कालापानीका विषयमा विभिन्न विधि अपनाउनुपर्ने उल्लेख गर्दै नेपालले पहिलोपटक ‘डिप्लोम्याटिक नोट’ पठाएको जानकारी गराउनुभयो । सीमा विवाद सकाधान गर्न बर्तमान सरकारले इतिहासमा पहिलोपटक सरकारले डिप्लोम्याटिक नोट पठाएको र त्यसलाई पहिलो स्टेप मान्न सकिने बताउनुभयो । एक फरक प्रसंगमा उहाँले राष्ट्रिय सभाको निर्वाचन २०७६ माघ ९ गते बिहिवार गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू