अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२७ | Colorodo: 13:42

देशैभर चिसो बढ्यो, बिभिन्न स्थानमा भारी हिमपात, जनजीवन कष्टकर, हवाई उडान बन्द

बिआरटीनेपाल २०७६ मंसिर २६ गते ६:०९ मा प्रकाशित

मुलुकभर चिसो बढेको छ । नेपालको पश्चिमी भूभागबाट न्युन चापीय प्रणालीको प्रवेश भएकाले देशैभरी चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले हिजो बेलुका प्रकाशित गरेको विशेष मौसम बुलेटिनअनुसार न्युन चापीय प्रणाली नेपालको पश्चिमी भूभागबाट नेपाल प्रवेश गरेको र पूर्व सर्ने क्रममा रहेको छ ।

यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रणाली आज अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको छ । उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो प्रणालीका कारण पश्चिमी भूभागका धेरै स्थानहरुमा र मध्य र पूर्वी भूभागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ । शनिबारसम्ममा यो प्रणालीको अन्त्य हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुनुका साथै तापक्रममा गिरावट आउने भएकाले सतर्क हुन सर्वसाधारणलाई महाशाखाले अनुरोध गरेको छ । हुम्लामा हिमपात सुरु भएको छ ।

यसैबीच आज बिहानैदेखि हुम्ला लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । बाक्लो कुहिरो लागेकाले दिउँसै अध्यारो जस्तो भएको छ । तर हिउँ परेसँगै बाली सप्रिने भन्दै किसानहरु भने खुशी देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू