अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०३ | Colorodo: 05:18

कांग्रेस केन्द्रीय समिति बैठक, सभापति देउवाद्धारा विभागको संख्या ४१ पुर्याउने प्रस्ताव

बिआरटीनेपाल २०७६ मंसिर २६ गते ६:०७ मा प्रकाशित

कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभाग २८ बाट बढाएर ४१ पुर्याउने प्रस्ताव प्रस्तुत गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा देउवाले १३ वटा विभाग थप्ने प्रस्ताव गरेका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । देउवाद्वारा प्रस्तुत प्रस्तावमा केन्द्रीय विभागको संरचनात्मक र संख्यात्मक परिमार्जन गर्न आवश्यक रहेको उल्लेख छ।

देउवाको यो प्रस्तावमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले असहमति जनाएको छ। प्रस्तावमा असहमत भएकैले आफूहरुले बैठक बहिस्कार गरेको केन्द्रीय सदस्य हृदयराम थानीले बताउनुभयो । बैठकमा देउवाले प्रस्तुत गरेका ९ वटा एजेन्डामध्ये एक तरुण दलको म्याद थपसम्बन्धि छ । तरुण दलको केन्द्रीय समितिले आफ्नो म्याद ६ महिना थप गर्ने निर्णय गरेकोले त्यो प्रस्ताव पारित गर्न पनि देउवाले पेश गर्नुभएको छ । यसअघि, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि ६ एजेन्डा तय गरिएको थियो । पदाधिकारी बैठकले मंसिर १४ गते सम्पन्न उपनिर्वाचन समीक्षा, भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समाहित गरेको लगायत विषय छलफलका लागि पार्टीले विषय तय गरेको हो ।

भारतले गरेको सीमा अतिक्रमण विषयमा बैठकमा छलफल गरेर पार्टीको आधिकारिक धारणा तय गर्ने एजेन्डा रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा पार्टीका विभागहरु गठन, भ्रातृ संस्थाहरु नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दलमा देखिएको विवाद समाधानका सन्दर्भमा छलफल गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू