अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५९ | Colorodo: 07:14

विदेशी गिरोहबाट बैङ्कको साढे १४ करोड जोखिममा

बिआरटीनेपाल २०७६ मंसिर २५ गते २३:३० मा प्रकाशित

काठमाडौं: प्रहरीले नेपालका विभिन्न बैङ्कको १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ जोखिममा रहेको बताएको छ । विदेशी ठगले उक्त रकमको कारोबार गरेको हुनसक्ने आशंकमा प्रहरीले छानबिन गरिरहेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले बुधवार पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो ।

बैङ्क ठगीको आरोपमा प्रहरीले पक्राउ गरेका तीन जाना नेपालीलाई बुधवार सार्वजनिक गरेको छ । दोलखाका ५२ वर्षीय रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवारलाई पक्राउ गरेर पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो । उनीहरूको सम्बन्ध नाइजेरियाका पिटर हर्मन एसेन्ज र बेलायती स्मिथ मोर्रिससँग सम्बन्ध देखिएको प्रहरीले बताएको छ ।

नाइजेरियन र भारतीय ठगले भारतको दिल्ली, मुम्बई, पाकिस्तान, चीन, ताञ्जिानिया, इथियोपिया र बेलायतमा बसेर नेपाली नागरिकलाई एजेन्ट बनाउँदै ठुलो रकम ठगी गरिरहेको प्रहरीले बताएको छ । भाइबर, ह्वाट्स एप, फेसबुक, इमोजस्ता सामाजिक सञ्जालका प्लेटफर्म प्रयोग गरेर यस्तो ठगी भइरहेको छ ।

चिट्ठा परेको, उपहार आएको जस्ता प्रलोभन पारेर सर्वसाधारणसँग करोडौँ ठग्नेदेखि बैङ्क तथा वित्तीय संस्थामा साइबर हमला गरेर पैसा लुट्ने गिरोहबिच सम्बन्ध देखिएको भन्दै प्रहरीले यस्तो अझै धेरै बैं जोखिममा रहेको हुनसक्ने बताएको छ ।

प्रहरी उपरीक्षक सुशील सिंह राठौरले ठगेको पैसाको १५ देखि २० प्रतिशत रकम नेपालीलाई पाउने गरेको बताए । बाँकी पैसा हुन्डीलगायत विभिन्न अनौपचारिक माध्यमबाट भारत पठाउने गरेको बताए । नेपालमा यस्तो ठगी गर्न ४० जनाभन्दा बढी नेपालीको संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । यस्तै ३४ जना नेपाली अनलाइन ठगीमा संलग्न रहेको पाइएको महाशाखाले जनाएको छ । प्रहरीले १५ जना अनलाइन ठगीका पीडित आफ्नो सम्पर्कमा रहेको बताएको छ ।

प्रहरीले कृषि विकास बैङ्क र पानस रेमिटबाट ७ करोडभन्दा बढी ठगी भएको बताएको छ । यस्तो पैसा चोर्न ह्याकरले एकै जनाको नाममा ६ वटासम्म बैङ्क खाता खोलेर पैसा कारोबार भएको देखाउने गरेको प्रहरीले बताएको छ ।

यसका लागि बैङ्क अफ काठमान्डु, प्रभु, हिमालयन, सनराइज, सिटिजन्स, नबील, माछापुच्छ्रे, नेपाल एसबीआई, नेपाल बङ्गलादेश, ग्लोबल आईएमई, एनआईसी एसिया, स्याण्डर्ड चार्टर्ड, एनएमबी, सिद्धार्थ, लक्ष्मी र लुम्बिनी विकास बैङ्कको प्रयोग भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार यसरी ठगी गर्न नेपाली एजेन्टलाई विभिन्न बैङ्कमा खाता खोलन लगाएको र एकै एजेन्टले ६ वटासम्म बैक खाता सञ्चालन गरेको पाइएको छ । अन्नपूर्ण पोस्टले यो खबर छापेको छ् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू