अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

अमेरिकामा तमु मुसा वर्ष डिसेम्बर २८ मा

बिआरटिनेपाल संवाददाता, न्युयोर्क २०७६ मंसिर २५ गते २२:५३ मा प्रकाशित

गुरुङ तमु सोसाइटी अमेरिकाले गुरुङ तमु जातिको महान् पर्व तमु ल्होसार २०७६ विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाउँदै छ । यो वर्ष मृग वर्ग अर्थात् फो ल्होको बिदाइ र मुसा वर्ग अर्थात् च्यु ल्होको स्वागतमा ल्होसार मनाउन लागेको तमु सोसाइटीले जनाएको छ ।

तमु सोसाइटी अमेरिकाले वार्षिक रूपमा मनाउँदै आएको ल्होसार साँझ यो वर्ष २८ डिसेम्बरमा फाइव स्टार बेंकेट हल लंग आईल्याण्ड सिटीमा मनाउन लागेको लागेको हो । ल्होको अर्थ वर्ग (वर्ष) र छारको अर्थ नयाँ हुने भएकोले ल्होसारलाई गुरुङहरूले नयाँ वर्षको रूपमा मनाउने चलन छ । तमु जातिले वर्गको आधारमा उमेर गणना गर्छन् ।

सोसाइटीले आफ्नो रीतिरिवाज, धर्म, संस्कारलाई जीवित राख्न र पुस्तान्तरणको लागी सन् २००१ मा न्यु योर्क सिटीमा विधिवत् रूपमा संस्था दर्ता गरी हरेक वर्ष पौष १५ मा ल्होसारलाई विशेष पर्वको रूपमा मनाउँदै आइरहेको छ ।

सोसाइटीले सम्पूर्ण गुरुङहरू एकजुट हौँ, संस्कार र संस्कृतिको जगेर्ना गरौँ भन्ने मूल नाराका साथ न्यूयोर्कमा ल्होसार पर्व मनाउँदै आएको छ । गुरुङ जातिले विभिन्न १२ ओटा जीव जन्तुहरूको चक्रलाई आधार मानेर प्रत्येक वर्ष नयाँ वर्षको रूपमा ल्होसार मनाउने गरेको गुरुङ तमु समाजका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।

ल्होसार पर्वले, गुरुङहरूको संस्कृतिलाई जगेर्ना गर्न, र प्रवर्धन गर्न तथा गुरुङ संस्कृतिलाई अन्तर्राष्ट्रियकरण चिनाउन पनि बर्सेनि तमु ल्होसार मनाउँदै आएको सोसाइटीले जनाएको छ । कार्यक्रममा गुरुङ (तमु) हरूको संस्कृति झल्किने सोरठी, कौडा, तथा गुरुङ आमा समूहको भेषभुषाको विशेष प्रस्तुति, स्थानीय कलाकारहरूको गीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति रहने सोसाइटीले जनाएको छ ।

सम्बन्धित सामग्रीहरू