अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४९ | Colorodo: 02:04

अस्ट्रेलियामा अवैध रकम प्रकरणमा पक्राउ परेका विपीन थापा धरौटीमा रिहा

बिआरटीनेपाल २०७६ मंसिर २५ गते ५:५२ मा प्रकाशित

करिब १० करोड अस्ट्रेलियन डलर अवैध रकम कारोबारमा आरोपित नेपाली मूलका विपीन थापालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । मंगलबार न्यू साउथ वेल्सको उच्च अदालतले थापालाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो । अदालतमा उपस्थित विपीन थापाका साथी कोमलराज पाठकले हाल सिड्नीस्थित एक जेलमा अनुसन्धानका लागि थुनामा रहेका थापाले टेलिकन्फरेन्समार्फत् अदालतमा बयान दिएको बताएका छन् ।

प्रहरीले थापालाई लगाएको आरोपको ठोस प्रमाणहरू प्रस्तुत गर्न नसकेकाले अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो । धरौटीमा रिहा भएपछि विपीन थापाले बाहिर बसेरै मुद्दा लड्न पाउनेछन् भने घटनाको विस्तृत अनुसन्धान भइरहेकाले यसको अन्तिम फैसला हुन बाँकी नै छ । सिड्नीस्थित ‘एस्योर प्रोटेक्सन सर्भिसेस’ नामक एक सेक्युरिटी कम्पनीमा कामदारका रूपमा कार्यरत थापालाई गत जुलाई महिनामा प्रहरीले तीनजना संचालकहरू सहित पक्राउ गरेको थियो ।

सो अवैध रकम कारोबारमा प्रहरीले विपीन थापासहित ३० वर्षीय गगनदीप फावा, उनका पार्टनर ३० वर्षीय गोपाली दल र ३१ वर्षीय मनमिन्दर सिंहलाई पक्राउ गरेको थियो ।

गगनदीप फावा नाइके रहेको यो समूहले तीनदेखि चार वर्षको अवधिमा ८ देखि १० करोड अष्ट्रेलियन डलरको अवैध रमको कारोबारका साथै हुण्डी कारोवार गरेको भेटिएको प्रहरीलाई उद्धृत गर्दै अस्ट्रेलियाका सञ्चार माध्यमले उल्लेख गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू