अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३३ | Colorodo: 05:48

ब्रिटिस गोरखाका धेरै समस्या समाधान – बेलायती राजदूत पोल्टिट

बिआरटीनेपाल २०७६ मंसिर २५ गते ५:५३ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि बेलायतकी नवनियुक्त राजदूत निकोला पोल्लिटले बुधबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहाँसिक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले पोल्लिटको कार्यकालमा दुई देशको सम्वन्ध थप उचाईमा पुग्ने बताउनुभयो । उहाँ बेलायतबाट नेपालका लागि पहिलो महिला राजदुत हुनुहुन्छ । बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोरखाका केही समस्या समाधानका लागि पहल गरिदिन गृहमन्त्री थापाले राजदुत पोल्लिटलाई आग्रह गरेको प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो ।

थापाले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरता आशा व्यक्त गर्नुभएको थियो । गृह मन्त्रालय अन्तर्गत विपद् व्यवस्थापन, नेपालका सुरक्षाकर्मीका लागि बेलायतले दिँदै आएको तालिम तथा भौतिक संरचना निर्माणमा बेलायतले गर्दै आएको सहयोग निरन्तरताको अपेक्षा पनि मन्त्रीले गरेको भट्टराईले जानकारी दिनुभयो ।

राजदूत पोल्लिटले नेपाल र बेलायतबीच एैतिहाासिक सम्बन्ध रहेको उल्लेख गर्दै इतिहासदेखिनै नेपालले बेलायतलाई गर्दै आएको सहयोगका लागि आफुहरु कृतज्ञ रहेको उल्लेख गर्नुभयो । बेलायतमा बस्ने नपालीहरुको समस्या तथा ब्रिटिश गोरखाका समस्याबारे बेलायत गम्भिर रहेको राजदूत पोल्लिटको भनाई थियो । उनीहरुका धेरै समस्या समाधान भएको र बाँकी समस्या केहि समयमै समाधान भइसक्ने पोल्लिटले बताउनुभयो । राजदूत पोल्लिटले बेलायतले नेपाललाई दिँदै आएको सहयोगमा आगामी दिनमा बढोत्तरी गर्ने समेत प्रतिवद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू