अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

राष्ट्रपति ट्रम्पमाथिको औपचारिक महाअभियोग प्रस्ताव सार्वजनिक

बिआरटीनेपाल २०७६ मंसिर २५ गते ५:४९ मा प्रकाशित

अमेरिकी तल्लो सदनको न्यायीक समितिले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धी औपचारिक अभियोगहरु सार्वजनिक गरेको छ । राष्ट्रपटि ट्रम्पले शक्तिको दुरुपयोग गरेको भन्दै सुरु भएको महाअभियोग लगाउने सम्बन्धी अनुसन्धानमा यो महत्वपूर्ण कदम हो ।

तल्लो सदनमा डेमोक्र्याटहरुको अगुवाईमा ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धी विषयमा अनुसन्धान जारी छ । त्यस क्रममा संसदीय समितिले राजनीतिक, कूटनीतिक तथा सुरक्षा अधिकारी र सरकारी अधिकारीसँग सार्वजनिक रुपमा बयान लिएका थिए । ती सुनुवाईबाट आएका प्रमाणहरुलाई जुटाएर न्यायीक समितिले राष्ट्रपति ट्रम्पविरुद्ध औपचारिक रुपमा लगाइने अभियोगहरु सार्वजनिक गरेको हो ।

न्यायीक समितिले राष्ट्रपति ट्रम्प विरुद्ध दुई बुँदे अभियोगसहितका महाअभियोग प्रस्ताव तयार पारेको छ । समितिका प्रमुख जेरी नाड्लरले सार्वजनिक गरेको अभियोगमा राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको उल्लेख छ । अर्को आरोप उहाँमाथि संसदलाई कार्यसम्पादनका लागि अवरोध सिर्जना गरेको भन्ने लगाइएको छ । सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग प्रयोग गरेको आरोप छ । राजनीतिक स्वार्थ पूरा गर्नका लागि युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर उसमाथि दबाब सिर्जना गरेको अभियोग ट्रम्पमाथि छ ।

न्यायीक समितिले सार्वजनिक गरेको अभियोग सम्बन्धी प्रस्ताव अब समिति भित्रै मतदान हुनेछ । समितिबाट पास भएमा तल्लो सदनमा बृहत मतदानका लागि प्रस्तुत गरिने छ । डेमोक्र्याटको बहुमत रहेको तल्लो सदनबाट पास भएमा महाअभियोग सम्बन्धी प्रस्ताव रिपब्लिकनको बहुमत रहेको माथिल्लो सदन सिनेटमा ट्रायलका लागि प्रस्तुत हुनेछ । ट्रायलको प्रक्रिया जनवरीको सुरुमा सुरु हुन सक्ने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू