अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०३ | Colorodo: 11:18

अमेरिकामा कागजातविहीन आप्रवासीले पनि लाइसेन्स पाउने

बिआरटीनेपाल २०७६ मंसिर २४ गते २०:५७ मा प्रकाशित

न्यु योर्क । न्यु योर्कमा बसोबास गरिरहेका कागजातविहीन आप्रवासीले समेत सवारी चालक अनुमति पत्र पाउने भएका छन् । झन्डै दुई दशक यता पहिलो पल्ट कागजातविहीन आप्रवासीले सवारी चालक अनुमति पत्र पाउने कानुनी रूपमै निश्चित भएको हो ।

यही डिसेम्बर १६ देखि कार्यान्वयनमा आउने ड्राइभर्स लाइसेन्स एक्सेस एण्ड प्राइभेसी एक्ट (ग्रिन लाइट एनवाई) अनुसार उनीहरूले सवारी चालक अनुमति पत्र पाउने निश्चित भएको छ । यससँगै राजनीतिक उद्देश्यबाट प्रभावित भई लगाइएका मुद्दाको सामना गरिरहेका र त्यस्ता मुद्दाबाट तर्सेका आप्रवासीले राहत पाउने भएका छन् ।

नयाँ कानुन अनुसार आप्रबासनको वैधानिकता वा अवस्थाबारे सोधी खोजी गर्न मिल्दैन । सोसल सेक्युरिटी कार्ड नभएका कागजात विहीन आप्रवासीले समेत सवारी चालक अनुमति पत्र पाउने छन् । नयाँ कानुनमा भएको सवारी चालक अनुमति पत्र सम्बन्धी व्यवस्थाबारे न्यु योर्क इमिग्रेसन को अलिसन (एनवाइआइसी) ले न्यु योर्क राज्य भरी चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

‘परिश्रमी आप्रवासी समुदायका लागि डिसेम्बर १६ एउटा ऐतिहासिक दिन हुनेछ । त्यो दिन उनीहरूले १८ वर्ष लामो प्रतीक्षापछि सवारी चलाउने आफ्नो अधिकार पुनः प्राप्त गर्नेछन्,’ एनवाईआइसीका एक्ज्याकेटिभ डाइरेक्टर स्टिभ चोइले भने । सिनेटर जुलिया सारजारले नयाँ कानुन प्राप्ति सबै न्यु योर्कवासीका लागि विजय भएको बताए ।

नयाँ कानुन अनुसार आप्रवासीको स्टाटस जे भए पनि उनीहरूले स्ट्यान्डर्ड ड्राइभर लाइसेन्सका लागि आवेदन दिन पाउने छन् । त्यस्तै कागजात नभएका आप्रवासीले पनि स्ट्यान्डर्ड ड्राइभर लाइसेन्सका लागि आवेदन दिन सक्नेछन् । डिपार्टमेन्ट अफ मोटर भेहिकलले उनीहरूलाई लिखित परीक्षा तथा रोड टेस्टमा उत्तीर्ण भएपछि सवारी चालक अनुमति पत्र दिनेछ ।

सवारी चालक अनुमति पत्रका लागि आप्रवासीसँग सिक्स प्वाइन्ट आइडेन्टी भेरिफिकेसन हुनुपर्ने छ । सिक्स प्वाइन्ट आइडेन्टि भेरिफिकेसन अन्तर्गत म्याद भएको विदेशी पासपोर्ट, कन्सुलर कार्ड र फोटोयुक्त विदेशी सवारी चालक अनुमति पत्र (म्याद भएको वा म्याद सकिएको २४ महिना ननाघेको) लाई ४ प्वाइन्ट दिइएको छ । फोटो भएको स्कुल रिपोट कार्ड, म्याद सकिएको २ वर्ष ननाघेको पर्मानेन्ट रेजिडेन्ट कार्ड, म्याद सकिएको २ वर्ष ननाघेको इम्प्लोइमन्ट अथोराइजेसन कार्ड र सोसल सेक्युरिटी कार्डका लागि २ प्वाइन्ट तोकिएको छ । फोटो नभएको विदेशी विद्यालयको रिपोर्ट कार्ड, फोटो भएको म्युनिसिपल आइडी कार्ड, निवेदकको नाम उल्लेख भएको अदालतको कागजात, आइआरएस ट्याक्स ट्रान्सक्रिप्ट र एन्नुअल एसएसए स्टेटमेन्टका लागि १ प्वाइन्ट तोकिएको छ । विदेशी जन्म दर्ता प्रमाणपत्र उमेर खुलाउने प्रमाणका रूपमा मात्र प्रयोग गर्न सकिन्छ । यसबाट धेरै नेपालीले सुविधा लिने अनुमान गरिएको छ ।

प्रतिक्रिया