अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१० | Colorodo: 16:25

शुक्रबारदेखि पोखरामा आठौँ नेपाल साहित्य महोत्सव हुँदै

बिआरटीनेपाल २०७६ मंसिर २४ गते ६:५७ मा प्रकाशित

बुकवर्म फाउण्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीको आयोजनामा पोखराको वाराही चोकमा आठौँ नेपाल साहित्य महोत्सव हुने भएको छ ।आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी महोत्सव मंसिर २७–३० गतेसम्म आयोजना हुने जानकारी दिएको हो ।

पर्यटकीय नगरी लेकसाइडको फेवातालको किनारमा हुने महोत्सवमा १ सय १० भन्दा बढी वक्ता सहभागी हुनेछन् । महाेत्सवका निर्देशक अजित बरालले फेस्टिबलमा यसपटक ९८ प्रतिशत नयाँ वक्तालाई समेटिने बताउनुभयो । योभन्दा अगाडि पुरानै अनुहार दाहोरिएको सुझावलाई मध्यनजर गरी यो वर्ष केही सुधार गर्न खोजेको उहाँको भनाइ थियो ।

४ दिनसम्म चल्ने महोत्सवको उद्घाटनमा पूर्व अर्थ मन्त्री एवं नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको विद्वत प्रवचन रहने बरालले बताउनुभयो । र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले फेस्टिभलले पोखरेली साहित्य उजागर गर्न मद्दत पुगको दाबी गर्नभएको छ । यो महोत्सवले पोखराको पर्यटनमा टेवा पुग्ने पनि उहाँको भनाइ थियो । पोखरामा आयोजना हुँदा साहित्यमा नवप्रवेशीहरुलाई पनि धेरै सहयोग पुग्ने उहाँले बताउनुभयो ।

५ औं संस्करणदेखि पोखरामा आयोजना गर्न थालिएको यो महोत्सव सुरुमा पर्यटन बोर्डको परिसरमा भएको थियो । त्यसपछि भने लेकसाइडको वाराही चोकमा हुँदै आएको छ । महोत्सवको ८ औं संस्करणमा दक्षिण एसियाली राष्ट्रको सर्वोत्कृष्ट पुरस्कार डीएससी पुरस्कार प्रदान गरिने भएको छ । २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशि बराबरको उक्त पुरस्कार दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले ८ वर्षदेखि प्रदान गर्दै आएको हो ।

यो पुरस्कार नेपाली साहित्यकारको लागि पनि नजिकको पुरस्कार भएको बरालले बताउनुभयो । यस पुरस्कारको शर्ट लिस्टमा अमिताभ बग्चीको ‘हाफ द नाइट इज गोन’, जमिल जान कोचाइको  ‘नाइन्टी नाइन नाइट्स इन लोगार’, माधुरी विजयको ‘द फार फिल्ड’, मनोरञ्जन व्यापारीको ‘देअर इज अ गनपावडर इन द एअर’, राजकमल झाको ‘द सिटी एण्ड द सी’ र सदिआ अब्बासको ‘द एम्प्टी रुम’ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू