अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४३ | Colorodo: 18:58

साग सफल र ऐतिहासिकः प्रधानमन्त्री ओली, विजेता खेलाडीहरुलाई सरकारले बिशेष प्याकेज घोषणा गर्ने

बिआरटीनेपाल २०७६ मंसिर २४ गते ६:०१ मा प्रकाशित

नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) निकै सफल र ऐतिहासिक रहेको बताउनुभएको छ । १ डिसेम्बारबाट सुरू भएको सागको समापन कार्यक्रमलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनुभएको हो । भूकम्पले क्षति भएका संरचनाहरु खडा गरेर खेल आयोजना गर्न मुलुक सफल भएको उल्लेख गर्दै उहाँले पदकहरु पनि नेपालले यस वर्षको खेलमा पहिलेभन्दा धेरै जितेकोमा खशी ब्यक्त गर्नुभयो । समग्रतामा भन्दा १३ औं साग एउटा सफल र ऐतिहासिक खेलकुदको रुपमा रहेको उहाको भनाई थियो ।

भ्रमण वर्षको पूर्वसन्ध्यामा सम्पन्न भएको सागले नेपाल भ्रमण वर्षलाई टेवा पुर्याउने विश्वास समेत प्रधानमन्त्री ओलीले गर्नुभयो । सागमा सहभागी हुन नेपाल आएका खेलाडी, प्रशिक्षक तथा पाहुनाहरुले भ्रमण वर्षलाई मद्दत पुग्ने गरी योगदान गर्ने विश्वास रहेको ओलीको भनाई थियो । अत्यन्तै मैत्रीपूर्णरुपमा हार्दिकताका साथ खेल सफल भएकोमा निकै खुशी ब्यक्त गर्दै प्रधानमन्त्री ओलीले सफलता प्राप्त गर्ने खेलाडीहरुलाई बधाई समेत दिनुभयो ।

दक्षिण एसियाली खेलकुदले दक्षिण एसियाली जनताका बीचमा एकता अभिवृद्धि गर्ने अपेक्षा गरेकोसमेत प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्रीले सागको सफल आयोजना र खेलका निम्ति सबैलाई बधाई र धन्यवाद दिनुभयो । काठमाडौं, जनकपुर र पोखरामा एकैसाथ खेल हुनु र सफलतापूर्वक सम्पन्न हुनु निकै खुशीको बिषय रहेको उल्लेख गर्दै उहाँले यसमा योगदान गर्ने नेपाललगायत संलग्न सबै राष्ट्र, खेलाडी र प्रशिक्षकहरुलाई धन्यवाद दिनुभयो ।

समापन कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव रमेश सिलवालले प्रधानमन्त्रीले बुधबार विजयी खेलाडीहरुलाई प्रधानमन्त्री निवास बोलाएको र विशेष प्याकेज घोषणा गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू