अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५७ | Colorodo: 13:12

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, उपनिर्वाचनको समिक्षा हुने

बिआरटीनेपाल २०७६ मंसिर २४ गते ३:२४ मा प्रकाशित

नेपाली कांग्रेसले उपनिर्वाचनको समीक्षा गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । मंसिर १४ मा सम्पन्न उपनिर्वाचनको समीक्षा गर्न कांग्रेसले मंसिर २६ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । मंसिर २६ गते दिउँसो १ वजे बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा उपनिर्वाचनको समीक्षासँगै समसामयिक विषयमा छलफल गरिने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ ।

“मंसिर २६ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा उपनिर्वाचनको समीक्षा, भ्रातृ संस्थाहरुलाई दिएको समयावधि, कालापानी क्षेत्रमा भारतले गरेको सीमा अतिक्रमणलगायतका समग्र विषयमा छलफल हुन्छ,” शर्माले भन्नुभयो ।

मंसिर १४ मा सम्पन्न उपनिर्वाचनमा कांग्रेसले प्रदेशसभाको एक सिट, उपमहानगरपालिकाको मेयर पद एक र ११ स्थानमा वडाअध्यक्षमा जितेको थियो । कांग्रेसले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा प्रदेशसभा सदस्य, सुनसरीको धरान उपमहानगरपालिकामा मेयर र विभिन्न जिल्लाका ११ वटा वडामा वडाध्यक्षमा जीत हात पारेको थियो । कास्की– २ मा प्रतिनिधिसभा र दाङ निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ तथा बाग्लुङ निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ मा कांग्रेस पराजित भएको थियो ।

यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष पदका लागि र हुम्लाको खार्पनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा पनि कांग्रेस पराजित भएको थियो । कांग्रेसले विभिन्न जिल्लाका ४३ वडामा वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा मात्र ११ वडामा जित हात पारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू