अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४२ | Colorodo: 22:57

साग समापन छोटो तथा भव्य हुने, प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्स मार्फत सम्बोधन गर्ने

बिआरटीनेपाल २०७६ मंसिर २३ गते २२:४६ मा प्रकाशित

काठमाडौं: १३ औँ दक्षिण एसियाली खेलकुदको समापन उद्घाटन भन्दा छोटो हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले जानकारी दिए अनुसार समापन कार्यक्रम भव्य र छोटो हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को समापन समारोहलाई मङ्गलवार भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन् । स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री समापन समारोह स्थल दशरथ रङ्गशाला जान नसक्ने भएपछि प्रधानमन्त्री निवासबाटै भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

‘दशरथ रङ्गशालामा नेपाल र भुटानबिचको फुटबल अघि दिउँसो १२ः०० बजे संसद्–११ र राष्ट्रसेवक–११ बिच मैत्रीपूर्ण फुटबल हुनेछ । ३ः०० बजे फुटबलको फाइनलपछि खेलाडीको मार्च पास सुरु हुनेछ । मार्च पास सकिएपछि सार्कको १४ औँ संस्करण आयोजक पाकिस्तानलाई झन्डा हस्तान्तरण गरिनेछ । पाकिस्तानले सांस्कृतिक कार्यक्रम गरेमा उसलाई ३० मिनेटको समय छुट्ट्याइएको छ’, सिलवालले भन्नुभयो ।

समापन समारोहमा सांस्कृतिक कार्यक्रम, विद्यालयका विद्यार्थीको प्रदर्शन तथा ब्यान्ड र सराय नाचको विशेष प्रस्तुति रहनेछ भने रक्षा मन्त्री ईश्वर पोखरेल, ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपमा सदस्यसचिव रमेश सिलवाल र पाकिस्तानका प्रतिनिधिले सम्बोधन गर्नेछन् ।

राखेपले दशरथ रङ्गशालाको क्षमतालाई ध्यानमा राखेर भिआइपी प्यारापिटमा एक हजार र साधारण प्यारापिटमा आठ हजार मात्र दर्शक टिकट बिक्री गरेको छ । टिकट मूल्य साधारण प्यारापिटको एक हजार र भीआईपीएको दुई हजार राखिएको छ ।

यसै गरी समापनका अवसरमा नेपाल भ्रमण वर्षको केही कार्यक्रमसहित आतसबाजी गरिनेछ । यसै गरी राखेपका सदस्यसचिव सिलवालले बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता नेपाली खेलाडीलाई प्रोत्साहनसहित विशेष सम्बोधन गर्ने जानकारी दिनु भयो । उहाँले सागका खेलहरू सोचेभन्दा निकै राम्रो भएको बताउनु भयो । ‘नवौँ दिनसम्म सागका खेलहरू सोचेभन्दा राम्रो भएको छ । मूल्याङ्कन गर्ने जिम्मा आम नेपालीको हो’।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू