अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४७ | Colorodo: 09:02

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जुन २६ देखि २८ सम्म हुने

बिआरटीनेपाल २०७६ मंसिर २३ गते १४:५० मा प्रकाशित

वासिङ्टन डिसी । नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२० जुन २६ देखि २८ सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्यान्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । वासिङ्टन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने चौथो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको छ ।

चलचित्र महोत्सवसमा नेपालका फिचर फिल्म, वृत्तचित्र , छोटा चलचित्र, एनिमेसनका साथै सबै विधाका चलचित्रहरू प्रदर्शन गरिनेछन् । नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरू यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् । गत वर्ष देखि वासिङ्टन डिसी,मेरिल्यान्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ प्रदर्शनी थपिएको थियो । २०२० मा पनि ‘डीएमभी क्लोजअप’ झन् बृहत् गरिने छ । स्थापना देखिने ग्लोबल पिस फिल्म फेस्टिभल फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएको चलचित्रहरू आगामी वर्ष पनि समावेश हुने जनाइएको छ ।

अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको समितिले आवेदन परेका मध्येबाट उत्कृष्ट चलचित्रहरू प्रदर्शनका लागि छनोट गर्नेछन् । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ । महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशालाहरू पनि आयोजना हुनेछन् । महोत्सवमा चलचित्र प्रदर्शन पछि उपस्थित निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिने आयोजकले जानकारी दिएका छन् ।

गत जुन महिनामा मेरिल्यान्डको एएफआइ सिल्भर थिएटर, सिल्भरस्प्रिङ्ग र रेगल सिनेमा ह्यास्भिलमा सम्पन्न महोत्सवमा निर्देशक विनोद पौडेलको ‘बुलबुल’ उद्घाटन चलचित्र र निर्देशक प्रवीण स्याङ्ग्बोको चलचित्र ‘कथा’७२ ‘ समापनमा प्रदर्शन भएको थियो । महोत्सवले प्रत्येक वर्ष एउटा उचाइ बढाउँदै लगेको छ । नेपाली मात्र होइन, अमेरिकामा रहेका अन्तर्राष्ट्रिय डायस्पोराको साझा मञ्चको रूपमा स्थापित गराउने लक्ष्य आयोजकको रहेको छ ।

चलचित्रको आवेदन अनलाइन मार्फत दिन सकिने व्यवस्था गरिएको छ । नेपालका चलचित्रकर्मीहरुले अनलाइन वा मानव अधिकार चलचित्र केन्द्रको कार्यालयमा आवेदन दिन सक्ने छन् । आवेदन सम्बन्धीका विवरण तथा नियमहरू संस्थाको वेभ साइटमा उपलब्ध छ ।

www.nafilmsociety.org

प्रतिक्रिया