अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५१ | Colorodo: 14:06

नेपालका लागि श्रीलङ्काका महामहिम राजदूत हिमानी अरुणातिलकासंग नेपाल चेम्बर अफ कमर्सको शिष्टाचार भेट

बिआरटीनेपाल २०७६ मंसिर २३ गते ७:४२ मा प्रकाशित

नेपालका लागि श्रीलङ्काका महामहिम राजदूत हिमानी अरुणातिलकाको चेम्बर अफ कमर्सको जमल स्थित कार्यालयमा स्वागत गर्दै चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले मुलुककै अग्रणी र चेम्बर आन्दोलनमा समेत अग्रणी भूमिका निर्वाह गरेको यस नेपाल चेम्बर अफ कमर्सले अर्को महिना सत्तरीऔं वर्ष प्रवेश गर्न गइरहेको र अविच्छिन्न तवरबाट आफ्नो भूमिकामा कटिबद्ध रहेको बताएका छन् ।

उनले हालको परिवर्तित समयमा प्रदेश, जिल्ला तथा नगर स्तर समेतमा चेम्बरको विस्तार गरी ब्यावसायको विकास र पैरवीको कार्यमा चेम्बर सक्षम रहेकोमा जोड दिए ।

चेम्बरको आयोजनामा आगामी फेब्रुअरीमा हुने नेपाल चेम्बर एक्स्पो २०२०मा श्रीलङ्काबाट समेत सहभागिताका लागि अनुरोध गर्दै अध्यक्ष श्रेष्ठले श्रीलङ्कामा हुने औद्योगिक/व्यापारिक मेलामा नेपाली ब्यावसायीको सहभागिताका लागि समेत प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल भ्रमण वर्ष २०२० मा समेत श्रीलङ्काबाट अपेक्षित पर्यटकहरू नेपाल भित्र्याउन सफल हुने अपेक्षा समेत राखे ।

अध्यक्ष श्रेष्ठले नेपालको श्रीलङ्का एयरलाईन्ससंग भएको सम्झौताले समेत दुई मुलुक बिच पर्यटन प्रवर्धन गर्न उल्लेख्य भूमिका खेल्ने र एयरलाइन्सबाट ढुवानी लागतमा सहुलियतपूर्ण दर दिनुपर्ने बताए ।

सन् २०१७ मा नेपाल श्रीलङ्का बिच दौत्य सम्बन्ध स्थापना भएको साठिऔँ वर्षको स्मरण गर्दै १९५७ मा दौत्य सम्बन्ध स्थापना पछि सम्बन्ध थप प्रगाढ हुँदै गएको अध्यक्ष श्रेष्ठको भनाई थियो । सन् २०१७ मा १८ लाख अमेरिकी डलर बराबर कारोबार भएको र सन् २०१८ माख बढेर २२ लाख अमेरिकी डलर बराबरको कारोबार भएकोमा यो सङ्ख्या सय गुणाले बढाउनु पर्ने आवश्यकता रहेको अध्यक्ष श्रेष्ठले उल्लेख गरे ।

कार्यक्रममा नेपालका लागि श्रीलङ्काका महामहिम राजदूत हिमानी अरुणातिलकाले दुई मुलुकबिच संयुक्त आर्थिक आयोग गठन भएता पनि यसले मूर्त रूप लिन नसकेको तर पर्यटन, व्यापार, लगानी, हवाई सम्पर्क आदि विषय वस्तुमा गहन छलफल गरी आफ्नो कार्यकालमा यस आयोगको सक्रियता बढाउने कुरा बताए । वस्तु व्यापारका साथै सेवा व्यापारमा समेत जोड दिँदै उनले प्रविधि बैङ्किङ, पर्यटन, सूचना प्रविधि आदिमा समेत द्विपक्षीय व्यापार लगानी प्रवर्धनमा जोड दिन आफ्नो कार्यकालमा आफू प्रयत्नशील रहने बताए । राजदूत अरुणातिलकाले नेपाल भूपरिवेष्टित मुलुकमै विभिन्न समस्या सामना गर्नु परेकोले सो समस्याको सम्बोधन नै आफ्नो कार्यकालमा दुई मुलुकबिच आर्थिक सम्बन्ध निजी क्षेत्रको सक्रियता मार्फत मजमूत बनाउने बताए ।

सो अवसरमा उनले नेपाल भ्रमण वर्ष २०२० मा श्रीलङ्काकाबाट कलाकार, क्रिकेटरहरू लगायत सर्वसाधारण आउनका लागि आफूले पहल गर्ने आश्वासन दिए । राजदूत हिमानी अरुणातिलकाले आगामी दिनमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनसँगै लुम्बिनीसँग श्रीलङ्काकाको सिधै हवाई सेवा सुरु भई धार्मिक पर्यटन प्रवर्धनमा ठोस टेवा पुग्ने अपेक्षा रहेको बताए ।

सो अवसरमा चेम्बरका पदाधिकारी, सदस्यहरू, जिल्ला चेम्बरका अध्यक्षहरू ल्यागतका उद्यमी ब्यावसायीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया