अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२४ | Colorodo: 17:39

राजनीतिको संरक्षणमा हुने भ्रष्टाचारलाई छुट दिइन्न– रक्षामन्त्री पोखरेल

बिआरटीनेपाल २०७६ मंसिर २३ गते ७:०७ मा प्रकाशित

नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राजनीतिको संरक्षणमा हुने भ्रष्टाचारलाई छुट नदिईने बताउनुभएको छ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंमा गरेको कार्यक्रममा उहाँले राजनीतिक आवरणमा हुने भ्रष्टाचारमा आँखा नचिम्लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्नुभयो ।

ठुला र साना मछामा विभेद नभइ भ्रष्टाचारलाई निरुत्साहन र सदाचारलाई जीवन पद्धति बनाउनु पर्ने उहाँको भनाइ थियो । भ्रष्टाचारको अन्त्य नभएसम्म सरकारको समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा नहुने भन्दै भ्रष्टाचार नियन्त्रणमा सबै एक जुट हुनु पर्ने मन्त्री पोखरेलले बताउनुभयो । मन्त्री पोखरेलले भ्रष्टाचारबाट टाढै रहने र अरुलाई पनि भ्रष्टाचारबाट टाढै राख्ने संकल्प गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले भ्रष्टाचार नियन्त्रण गर्न नसकिएको भन्दै भ्रष्टाचारमुक्त मुलुक बनाउन सबै क्षेत्रको सहकार्य आवश्य रहेको बताउनुभयो । भ्रष्टाचार गर्ने जो कोहिलाई कानूनी दायरामा ल्याइने उनीहरुको भनाइ थियो ।

ट्रान्सपेन्सी इन्टरनेशनल नेपाल च्याप्टरका अध्यक्ष खेमराज रेग्मीले कानूनी शासन स्थापित नभएसम्म भ्रष्टाचार नियन्त्रण असम्भव हुने बताउनुभयो । उहाँले अघिल्ला बर्षभन्दा भ्रष्टाचारको दर बढ्दो क्रममा रहेको भन्दै नेपाल भ्रष्टाचार गर्ने ३१ औं मुलुकमा रहेको जानकारी दिनुभयो । यस बर्ष भ्रष्टाचार विरुद्धको सहकार्य सुशासनका लागि अपरिहार्य भन्ने नाराकासाथ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू