अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२२ | Colorodo: 16:37

न्यूजील्यान्डमा ज्वालामुखी विस्फोट, कम्तीमा पाँच जनाको मृत्यु

बिआरटीनेपाल २०७६ मंसिर २३ गते ७:०४ मा प्रकाशित

न्यूजील्यान्डमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । थुप्रै व्यक्ति सम्पर्कबिहीन भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । झन्डै २० जना मानिस घाइते भएका र घाइतेमध्ये केही गम्भीर अवस्थामा छन् । घाइतेहरूको शरीर पोलेको छ ।

देशको उत्तरपूर्वी भेगको ह्वकारी पनि भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको हो । न्यूजील्यान्डको क्रुज एसोसिएशनका अनुसार एउटा पर्यटक बोकेको डुङ्गा पनि प्रभावित भएको छ । उद्धारकार्यका लागि नजिकैको ह्वकाताने नगरमा उद्धारकर्मीहरू परिचालित गरिएको छ । विस्फोट भएको समयमा उक्त ह्वाईट आईल्यान्डमा दर्जनौँ मानिसहरू रहेको बताइएको छ । सन् २००१ यता त्यहाँ भएको यो पहिलो ज्वालामुखी विस्फोट हो ।

यसैबीच, त्यहाँका प्रधानमन्त्री जसिन्डा आर्डर्नले सो घटनालाई निकै ठुलो भन्नुभएको छ । उद्धार निकायले वरपरको क्षेत्र जोखिमपूर्ण भएको जनाएको छ । माछा मार्ने व्यवसायमा संलग्न एक स्थानीयवासीले विस्फोटपछि सो क्षेत्रमा च्याउजस्तो आकारमा विशाल धूँवाको मुस्लो देखिएको बताएका छन् । विस्फोट हुनुभन्दा केही क्षण अगाडि ह्वाईट आईलयान्डको क्रेटरको घेरा छेउछाउमा पर्यटकहरू घुमिरहेको देखिन्थ्यो । सक्रिय ज्वालामुखी रहेको भए पनि ह्वाईट आईल्यान्ड पर्यटकीय स्थल हो । त्यहाँ दैनिक पर्यटकीय भ्रमण कार्यक्रम एवं हवाई भ्रमण हुने गर्छन् ।

ज्वालामुखी क्षेत्रको प्रत्यक्ष भिडिओ फीडमा सो क्षेत्रमा पर्यटकहरूको समूह डुलिरहेको र एक्कासि विस्फोट भएपछि फीड रोकिएर अन्धकार भएको देखिन्छ । प्रहरीले विस्फोटको समयमा त्यस क्षेत्रमा झन्डै ५० जना रहेको अनुमान गरेको छ । ह्वाईट आईल्यान्डमा विगतमा पनि कैयौँ ज्वालामुखी विस्फोटका घटना भएका छन् । तर मानिसहरू सोही क्षेत्रमा रहेका बेला भने यसअघि विस्फोट भएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू