अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४६ | Colorodo: 09:01

मस्ट वाण्टेड गुन्डा नाइके वीरेन्द्र दाङमा पक्राउ, प्रहरीलाई सफलता

बिआरटीनेपाल २०७६ मंसिर २२ गते १४:५१ मा प्रकाशित

लमही, दाङ जिल्लामा प्रहरीको टाउको दुखाइ बनेका गुन्डा नाइके वीरेन्द्रकुमार चौधरी पक्राउ परेका छन् ।

दाङको देउखुरी उपत्यकामा गुण्डागर्दी गर्दै आएका चौधरीलाई इलाका प्रहरी कार्यालय गढवाले ८–९ दिन अगाडि पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गढवाका प्रमुख एवम् प्रहरी निरीक्षक भरतसिंह राठौरले ज्यान मार्ने उद्योगमा चौधरीलाई पक्राउ गरिएको जानकारी दिए ।

गुन्डा नाइके चौधरीले गत तिहारको बेला स्थानीय जगत् रावतलाई मजदुरी गरेको बिस हजार रुपियाँ माग्न गएका बेला गढवा गाउँपालिका वडा नम्बर ४ खड्कगपुरमा गम्भीर घाइते हुने गरी कुटपिट गरेका थिए ।

कुटपिट भएपछि रावतले इलाका प्रहरी कार्यालय गढवामा उजुरी दिएका थिए । उजुरी परेपछि गुन्डा नाइके चौधरी फरार थिए । चौधरी विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको निरीक्षक राठौरले बताए ।

गुन्डा नाइके चौधरीले स्थानीय तहमा गाउँपालिका, नगरपालिका, सरकारी कार्यालय, क्रसर उद्योग, ठेकेदार, व्यापारीहरूलाई धम्काएर अवैध असुली समेत गर्दै आएका छन् । चौधरीको अवैध हर्कतविरुद्ध प्रहरीमा थुप्रै उजुरी छन् ।

गुन्डा नाइके चौधरीलाई छुटाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केही स्थानीय नेताहरू लागेको स्रोतले जनाएको छ । प्रहरी प्रशासनलाई दबाब दिएर गुन्डा नाइके चौधरीलाई छुटाउन नेकपाका नेताहरू लागेको पीडितको भनाइ छ ।

आफ्नो अपराध कर्मलाई लुकाउन प्रदेश सभाको निर्वाचनका बेला गुन्डा नाइके चौधरी तत्कालीन माओवादी केन्द्रमा प्रवेश गरेका थिए । माओवादी केन्द्रले प्रदेश सभातर्फ समानुपातिकको उम्मेदवार समेत बनाएको थियो । तर, उनी प्रदेश सांसद हुन पाएनन् ।

गोली हानेको अभियोगमा गुन्डा नाइके चौधरी दाङमा झन्डै छ महिना पुर्पक्षका लागि जेलमा समेत बसी सकेका छन् । उनी विरुद्धको मुद्दा सर्वोच्च अदालतमा अहिले पनि चलिरहेको छ ।

दाङ जिल्लाको देउखुरी उपत्यकालाई आफ्नो अपराधको केन्द्र बनाउँदै आएका चौधरीबाट स्थानीय व्यापारीहरू त्रसित छन् । चौधरीका विरुद्ध उनीहरू बोल्न पनि सक्दैनन् ।

गुन्डा नाइके चौधरीले धम्की दिएर ठेक्कापट्टा लिने र मजदुरहरूलाई पैसा नदिएका थुप्रै घटना छन् । युवतीको मामिलामा पनि गुन्डा नाइके चौधरी कमजोर मानिन्छन् । महिला काण्डमा समेत उनी प्रहरीमा परिसकेका छन् । दैनिक नेपालबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू