अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१७ | Colorodo: 16:32

पर्यटन क्षेत्रमा अनुसन्धानको अभाव: मन्त्री भट्टराई

बिआरटीनेपाल २०७६ मंसिर २२ गते १०:४२ मा प्रकाशित

काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उचित अनुसन्धानको अभावका कारण पर्यटन क्षेत्रले सोचे जति प्रगति हासिल गर्न नसकेको बताउनुभएको छ ।

अनुसन्धानमूलक दस्ताबेजको अभावमा प्रभावकारी पर्यटकीय योजना निर्माण हुन नसकेको उल्लेख गर्दै उहाँले आगामी वर्ष सरकारले अनुसन्धानलाई जोड दिने जानकारी दिनुभयो ।

पर्यटन विकासको नयाँ गन्तव्य स्थलको खोजी गर्ने उद्देश्यले बारबरा फाउन्डेसनले आज काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा मन्त्री भट्टराईले भन्नुभयो, “अब पहिलो काम पर्यटन क्षेत्रकै खोज र अनुसन्धान गर्नुपर्ने छ, त्यही अनुसन्धानको दस्ताबेजका आधारमा नयाँ योजना बनाउनु जरुरी छ, यो काम आगामी वर्षदेखि सुरु हुन्छ ।”

उहाँले नेपाल भ्रमण वर्ष २०२० चल्दै गर्दा आगामी दशकलाई पर्यटन प्रवर्द्धनको दशकको घोषणा गरेर अनुसन्धानात्मक दस्ताबेज तयार पारी पर्यटन विकासका योजना निर्माण गर्ने र त्यही मुताबिक पूर्वाधार विकासमा लाग्ने सरकारी योजना रहेको बताउनुभयो ।

भ्रमण वर्षमा पर्यटक मात्रै भित्र्याउने उद्देश्य नरहेका प्रस्ट्याउँदै उहाँले पर्यटकको बसाइ लम्ब्याउने, खर्च बढाउने र रोजगारी सिर्जना गर्ने तथा आर्थिक समृद्धिमा टेवा पुर्‍याउनेतर्फ सरकारको ध्यान रहेको बताउनुभयो ।

आगामी १० वर्षमा पर्यटन क्षेत्रको कुल गाह्र्रस्थ उत्पादनमा तीनबाट १० प्रतिशत पु¥याउने सरकारको योजना रहेको जानकारी दिँदै उहाँले भ्रमण वर्षका क्रममा स्थापित पर्यटकीय गन्तव्य मात्रै नभई नयाँ पर्यटकीय क्षेत्रको विकास र पहिचान गर्न लागिएको उल्लेख गर्नुभयो ।

“पर्यटकहरू एकै ठाउँमा पटक पटक आउँदैन, उनीहरूको चाहना नयाँ नयाँ ठाउँ र त्यसैले हामीले नयाँ गन्तव्य सिर्जना गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

बुद्ध, रामायण, र शिव सर्किटको विषय छलफलको चरणमा रहेको उल्लेख गर्दै उहाँले यसले दक्षिण एसिया मात्रै नभई जोडिएका अन्य देशसँगसमेत सम्बन्ध विस्तारमा ठुलो फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय कनेक्टिभिटी अर्को महत्त्वपूर्ण कुरा रहेको बताउनुभयो । मन्त्री भट्टराईले सांस्कृतिक र ऐतिहासिक स्थललाई एक अर्कासँग जोडेर नयाँ सम्भावनाको खोजी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

लुम्बिनीसँग सम्बन्ध गाँसिएको देवदह, तिलौराकोटलगायत क्षेत्र जोडेर सरकारले ग्रेटर लुम्बिनीको परिकल्पनाअघि बढाएको जानकारी दिँदै उहाँले तराई क्षेत्रको सांस्कृतिक तथा धार्मिक क्षेत्रलाई पनि एकीकृत रूपमा विकास गर्न सके पर्यटकीय सम्भावना थपिने उल्लेख गर्नुभयो । –गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू