अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 06:41

व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण विरुद्ध विशाल जुलुस प्रदर्शन डिसेम्बर १५ मा हुने

विजय थापा २०७६ मंसिर २१ गते २२:५५ मा प्रकाशित

सहभागीहरूले अनिवार्य रूपमा जान्नु पर्ने महत्त्वपूर्ण कुराहरू

डिसी । नेपालका भूभागहरू कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालसालै प्रकाशित गरेको नक्सा भित्र भारतले पारेकोले डिसेम्बर १५ का दिन अमेरिकाका नेपालीहरू वासिङ्टन डिसीमा विरोध जुलुस प्रदर्शन गर्ने अन्तिम तयारीमा जुटेका छन् ।

विरोध जुलुस हुने कार्यक्रम स्थल व्हाइट हाउस अगाडिको सडक मर्मत सम्भारको काम चलिरहेको र उक्त दिन अन्य कार्यक्रमहरूलाई स्थान उपलब्ध गराई सकिएकोले डिसेम्बर १५ आइतबारका दिनको कार्यक्रम हुने सुनिश्चित भएको छ ।

यस अघि पनि सञ्चार माध्यमद्वारा डिसेम्बर १४ या १५ हुन सक्ने जानकारी गराएको हुनाले व्हाइट हाउस अगाडी रहेको लाफेएट पार्कको लागि डिसेम्बर १५ का लागि आधिकारिक अनुमति प्राप्त भएको छ । डिसेम्बर १५ को लागि अनुमति प्राप्त डिसेम्बर ६ का दिन टुङ्गो लागेको छ ।

अमेरिकी राष्ट्रपति भवन अगाडी विरोध जुलुस कार्यक्रमको आयोजना गर्न निकै कठिन काम हुने आयोजकले बताए । साथै आयोजकले पृष्ठभूमि समेत गम्भीरतापूर्वक जाँच गर्ने डिसी विरुद्ध प्रदर्शन सञ्चालक समितिको नेतृत्व लिई रहेका बानाका पूर्व अध्यक्ष कुलमणि आचार्यले बताए ।

यसै गरी डिसी क्षेत्र कै समाजसेवी तथा एनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले अब केवल ९ दिन मात्र बाँकी रहेकोले छिट्टै एक बौद्धिक तथा भौतिक भेलाको आयोजना हुने बताए । अधिकारीले यो सबैको साँझा कार्यक्रम भएकोले सबैको सहभागिता हुनु पर्ने कुरामा जोड दिएका छन् । उनले यो सबैको साँझा र सबै आयोजक भएको जनाए ।

विरोध जुलुस निकाल्नु पर्छ भनी कार्यक्रमको परिकल्पनाकार गर्ने समाजसेवी तथा एएनएका पूर्व अध्यक्ष रोजर अधिकारी छिटै डिसी आउने भएका छन् । अधिकारीले डिसेम्बर १५ को अनुमति पाइएकोले अब केवल कार्यक्रमलाई कसरी सफल बनाउन सकिन्छ भन्ने तर्फ मात्र सोच्नु पर्ने भएको बताए । उनले सबैलाई एक जुट हुन् आव्हान गरेका छन् ।

हामीले डिसेम्बर १४ मा हुने भने आव्हान गरिएता पनि अनुमति भने पाएका थिएनौ । र हाम्रो निरन्तर प्रयासको कारण मिति र समय समेतको टुङ्गो लागेकोले पूर्व दिइएको मितिको लागि क्षमा प्रार्थी छौ, अधिकारीले भने ।

हालसम्म डिसी विरोध प्रदर्शन समितिले ३ पटक बैठकको आयोजना गरी विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेका छन् भने आगामी आइतबार ८ का दिन पुन दूरसञ्चार प्रणाली (टेली कन्फेरेन्स कल) को माध्यमबाट बैठक गर्ने भएका छन् । सबैलाई उक्त हुने बैठकमा सहभागिता हुन् अनुरोध गरेको छ ।

डिसी विरुद्ध प्रदर्शन सञ्चालक समितिको नेतृत्व लिई रहेका कुलमणि आचार्यले डिसेम्बर १५ को लागि बिहान १० बजे देखि २ बजे सम्मको लागि कार्यक्रम गर्न अनुमति पाइएको बताए ।

उक्त विरोध जुलुसमा आउँदा तुलको आकार (ब्यानर को साइज ) ३x६ फिट मात्र बोकेर जान पाइने छ । यस्ता प्रचार प्रसारका सामाग्रीहरू आउँदा उक्त पार्कमा ९:३० मिनेट भित्र प्रवेश गर्नु पर्ने छ । तुललाई पनि सेक्युरिटी चेक भए पछि मात्र प्रयोग गर्न अनुमति पाइने छ ।

उक्त उद्यानमा आउँदा कुनै पनि चिज सुरक्षा जाँच भए पछि मात्र उक्त पार्कमा प्रवेश पाइने छ । कुनै पनि चिज झोलामा बोकेर र गह्रौँ चिज बोकी भुईँमा राख्न पाइने छैन ।

यदि कुनै झोला या कुनै वस्तु मैदान या भुईँमा राखेमा तुरुन्तै सुरक्षामा खटिएका अधिकारीहरूले बन्द गराउन सक्ने छन् । आचार्यले अनुमति दिए पछि यस्ता कुराहरूमा सावधान र सतर्कता अपनाउन आग्रह गरेको बताए ।

आचार्यले कुनै पनि ब्यानर ९:३० सम्म पुग्ने पर्ने, उक्त उद्यानमा मञ्च १० देखि ११ सम्म बनाउने र कार्यक्रम ११ बजे देखि सुरु भई १ बजे सम्म चल्ने जनाएका छन् । यसै समय बिच वक्ताहरूले भाषण गर्ने, देशभक्ति गीत या नाराहरू लगाउने छन् ।

सन् २०१५ मा भारतले अघोषित आर्थिक नाकाबन्दी गर्दा लाफेएट उद्यान (पार्क)को वरिपरि रहेको सडकमा नाराबाजी लगाउँदै वरिपरि परिक्रमा गरिएको थियो । यस पटक पनि यसरी नै परिक्रमा गरिनेछ ।

पार्कमा निर्माण गरिएको मञ्च देखि विरोध जुलुस सहित वासिङ्टन डिसी स्थित भारतीय राजदूतावाससँग अघि बढ्ने छ भने कार्यक्रम १:३० मा समाप्त हुने छ । स्मरण रहोस्, संयुक्त नेपाली मोर्चा जसलाई ‘नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू’ नामक नेपालीहरूको समूहले नेतृत्व गर्दैछन ।

डिसी विरोध प्रदर्शन आयोजना समितिले भारत, अमेरिका, बेलायत, चीन, संयुक्त राष्ट्र सङ्घ प्रधान कार्यालय, नेदरल्याण्डको अन्तर्राष्ट्रिय न्याय अदालत, सर्वेक्षण विभाग भारत, अमेरिकी विदेश मन्त्रालय, नेपाल ककस, सिनेट कार्यालय, नेपाली सञ्चार माध्यमलाई पत्राचार गर्ने छ ।

साथै यस विषयमा अमेरिकी मूलधारका सञ्चार माध्यम, नेपाली सञ्चार माध्यम, अमेरिकामा रहेको नेपाली पत्रकारहरूको संस्थाहरू ईञ्जा र नेजालाई समेत संलग्न गरिने र आमन्त्रण गरिने छ ।

प्रतिक्रिया